काठमाडौँ। राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव चितवनमा पनि मनाइएको छ।
१५ असारका दिन कतै सामूहिक रोपाइँ गरिएको छ भने कहीँ मेसिनबाट रोपाइँ गरिएको छ।
धान दिवसलाई विशेष बनाउन हिले दौड‚ डोरी तानातान र हिलोसमेत खेलिएको छ।
मानो रोपेर मुरी उब्जाउने दिनका रूपमा १५ असारलाई लिने गरिन्छ। चितवनमा हालसम्म पाँच प्रतिशत मात्र रोपाइँ भएको कृषि ज्ञान केन्द्रले जनाएको छ। पानीले बिउ बिग्रिएपछि रोपाइँ ढिलो भएको चितवन फूलबारीका किसान चन्द्रप्रसाद अधिकारीले बताए।
नेपालमा ४१ हजार ३१ हजार कृषक घरधुरीमध्ये २७ लाख ६५ हजार धान खेतीमा आबद्ध छन्।

कृषिलाई आधुनिकीकरण गर्दै लैजाने लक्ष्य सरकारको भए पनि किसानसँग पर्याप्त कृषि उपकरण नहुँदा मानिसकै भरमा रोपाइँ गर्नुपर्ने अवस्था छ। पछिल्लो समय चितवनमा भने मेसिनबाट धान रोप्ने चलन बढ्दै गएको छ।
चितवनमा १३ वटा मात्र धान रोप्ने मेसिन रहेको राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमको ‘कार्यक्रम कार्यन्वयन एकाइ चितवन’ले जनाएको छ।