काठमाडौँ
००:००:००
३० असार २०८३, मंगलवार

१८ असार २०८३
अ+
अ-

काठमाडौं । नेपाल राष्ट्र बैंकले वित्तीय ग्राहक सन्तुष्टि सर्वेक्षण गर्ने भएको छ । केन्द्रीय बैंकले देशैभरिका वित्तीय ग्राहकको सन्तुष्टि परिक्षण गर्न लागेको हो।

सर्वेक्षणमा ७७ वटै जिल्लामा सबै प्रकारका स्थानीय तह समेटी ‘र्यानडम स्याम्पलिङ’ विधिबाट वडा छनोट गरी जम्मा १० हजार ४ सय ५ वटा नमुना संकलन गर्ने केन्द्रीय बैंकले जनाएको छ।

यो सर्वेक्षणमार्फत वित्तीय सेवाको पहुँच, गुणस्तर, पारदर्शिता, गुनासो व्यवस्थापन, वित्तीय ग्राहक संरक्षण तथा समग्र वित्तीय सेवा लिएका ग्राहकको धारणा र अनुभव संकलन गरिने केन्द्रीय बैंकले जनाएको छ।

सर्वेक्षणबाट प्राप्त नतिजाले वित्तीय ग्राहक संरक्षण तथा वित्तीय सेवाका गुणस्तर अभिवृद्धिसम्बन्धी नीति, कार्यक्रम तथा नियामकीय व्यवस्थामा सुधार गर्न सहयोग पुर्‍याउने अपेक्षा केन्द्रीय बैंकको छ।

सर्वेक्षणमा सहभागिता स्वेच्छिक हुनेछ र सहभागीले आफूलाई असहज लागेका प्रश्नहरूको उत्तर दिनुपर्ने छैन । सर्वेक्षणमा संकलित विवरण तथा जानकारीहरू तथ्याङ्क ऐन, २०७९ अनुसार गोप्य राखिनेछ र केवल सामुहिक रुपमा तथ्याङ्कीय प्रयोजनको लागि मात्र प्रयोग गरिने केन्द्रीय बैंकले जनाएको छ।