बातचित
तन्त्रमा हुने मद्य, मांस, मदिरा, मैथुन आदि प्रक्रियाहरू ब्राह्मणवादमा स्वीकृत थिएनन्। त्यसैले तान्त्रिक योगिनीका मन्दिरहरूको प्रयोग घट्दै गयो र बिस्तारै यी विस्मृतिमा गए।
भारतको ओडिसाकी अद्याशा दास इन्डियन इन्स्टिच्युट अफ ट्राभल एन्ड टुरिज्ममा अध्यापन गर्छिन्। सम्पदामा रुचि राख्ने दासले सम्पदालाई पर्यटनसँग जोडेर स्थानीय र समुदायका लागि आयआर्जनको बाटो खोज्ने काममा पनि सक्रिय छिन्। ओडिसाको हीरापुरमा रहेको योगिनी मन्दिरमा अनुसन्धान गरेर दासले आफ्नो पहिलो पुस्तक द चौँसट्ठी योगिनीज् अफ हिरापुर : फ्रम तन्त्र टु टुरिज्म प्रकाशन गरेकी थिइन्। यसै क्रममा दासले नेपालमा रहेका योगिनी मन्दिरहरूको समेत अध्ययन र अनुसन्धान गरेर आफ्नो पछिल्लो पुस्तक योगिनीज् अफ नेपाल : अ जर्नी थ्रु सेक्रेड ल्यान्डस्केप्स पनि प्रकाशन गरेकी छिन्। गत जेठमा कलिंग साहित्य महोत्सवका क्रममा काठमाडौँ आएको अवसरमा दाससँग सेवा भट्टराईले गरेको बातचित :
योगिनी भनेको के हो?
योगिनीको अवधारणा भनेको दिव्य स्त्रीतत्त्व (divine feminine) हो। योगिनीलाई शक्तिको रूप भन्दा हुन्छ। योगिनीका धेरै पक्ष छन्।
योगिनीको विकासक्रम हेर्ने हो भने हामी गाउँ जानुपर्ने हुन्छ। योगिनी के हुन् भन्नेबारे थुप्रै किसिमका अनुमान छन्। तीमध्ये एउटाले सतीदेवीका अंगहरू खसेको ठाउँमा शक्तिपीठहरू उत्पन्न भए र दुर्गा माताका अनुचरहरू योगिनी हुन् भन्छ। श्मशानघाटमा जो माताले पूजन पाउँछन् ती पनि योगिनी हुन् भनिन्छ। यस्ता धेरै बुझाइ छन् योगिनीका बारेमा। एउटा एकदम रोचक र वास्तविकताको नजिक रहेको बुझाइ के हो भने, ओडिसामा हरेक गाउँमा ग्रामदेवी हुन्छन्। उनीहरूले गाउँलाई सुरक्षा दिन्छन्। यी ग्रामदेवीको प्रतिष्ठा बढाउन उनीहरूलाई योगिनीको समूहमा ल्याइयो।
एउटा मन्दिरमा चौँसट्ठी योगिनी हुन्छन्। यसबारे पनि धेरै रोचक बुझाइ छन्। जस्तै कि, चौँसट्ठी योगिनी भनेका चौँसट्ठी कला हुन्।
योगिनीबारे मैले ओडिसाबाट अनुसन्धान सुरु गरेकी थिएँ। भारतमा योगिनीका १३ वटा स्थान अथवा पीठ छन्, र तीमध्ये ओडिसामा दुई वटा छन्। ती सबै स्थान अहिले युनेस्कोका प्रस्तावित सूचीमा परेका छन्। धर्मसंस्कृतिसँगै म सम्पदा र पर्यटन क्षेत्रमा पनि सक्रिय छु। त्यसैले यी मन्दिरबाट स्थानीय समुदायलाई कसरी आयआर्जन हुन सक्छ भन्ने विषयमा पनि काम गर्छु। मेरो पहिलो पुस्तक पनि यसैका बारेमा थियो– योगिनीज् अफ हिरापुर : फ्रम तन्त्र टु टुरिज्म।
तन्त्रमा योगिनीको कस्तो स्थान छ?
तन्त्रबारे भारतमा गलत बुझाइ छ। तन्त्र भनेको आन्तरिक चेतना हो। तन्त्रको सही उपयोग गरेमा अन्यत्र स्वतन्त्रता खोज्न जानै पर्दैन। वज्रयानसँगै भारतमा यस्ता योगिनीका तान्त्रिक मन्दिरहरू बने जसलाई राजसंस्थाले संरक्षण गर्दथे। भारतमा यी तान्त्रिक मन्दिरमा योगिनीका मूर्तिहरू हेर्यो भने उनीहरूको एकदम रोचक ‘आइकनोग्राफी’ अर्थात् प्रतिमाशास्त्र देखिन्छ। महिलाको शरीरमा जनावरको टाउको हुन्छ। यो मिश्रित छविले के देखाउँछ भने, हामीभित्र नकारात्मक भाव पनि छ, आक्रामकता पनि छ, दृढता पनि छ, र त्यति हुँदाहुँदै पनि हामी कोमल छौँ। आजका महिलाका लागि यो एउटा बलियो सन्देश छ कि छैटौँ-सातौँ शताब्दीमा पनि समाजमा यस्ता सशक्त महिला थिए, जबकि हामी अहिले पनि महिला सशक्तीकरणका लागि संघर्ष गरिरहेका छौँ।

लेखक अद्याशा दास। तस्बिर : सेवा भट्टराई
त्यसपछि ब्राह्मणवादको उदय हुँदै जाँदा तन्त्रको ठीक उल्टो देखिए ब्राह्मणवादका सिद्धान्तहरू। तन्त्रमा हुने मद्य, मांस, मदिरा, मैथुन आदि प्रक्रियाहरू ब्राह्मणवादमा स्वीकृत थिएनन्। त्यसैले यी तान्त्रिक योगिनीका मन्दिरहरूको प्रयोग घट्दै गयो र बिस्तारै यी विस्मृतिमा गए।
तन्त्रले महिलालाई सशक्त स्थान दिएको र त्यो ब्राह्मणवादसँगै कमजोर भएर गएको कुरा गर्नुभएको छ। भनेपछि तन्त्र र ब्राह्मणवादले महिलालाई दिने स्थान कत्तिको फरक छ?
ब्राह्मणवादमा पनि देवीहरू छन् र यी देवीहरू हरेक कुरामा ‘पर्फेक्ट’ अथवा सर्वोत्तम छन्। तर, यसको दायरा साँघुरो छ। तन्त्रमा हेर्ने हो भने यी महिला बढी स्वतन्त्र छन्। भारतमा यी तान्त्रिक मन्दिर हेर्ने हो भने प्रायजसोमा मूर्ति हुँदैन, संग्रहालय लगिएको छ। र, स्थानीयवासीले यी मन्दिरलाई हिन्दु मन्दिर बनाएका छन्। एक योगिनीलाई प्रमुख देवी मानिन्छ, उनलाई सारी वा त्यस्तै वस्त्र लगाएर समाजमा स्वीकार्य बनाइन्छ। तर, हुन चाहिँ तिनी योगिनी नै हुन्।
योगिनीसम्बन्धी अनुसन्धानमा तपाईंले पर्यटनलाई पनि जोड्नुभएको छ। पर्यटनमा योगिनीको कस्तो स्थान छ?
अहिले एकल पर्यटनको प्रवृत्ति बढिरहेको छ। महिलाहरू आफ्नै स्थान खोजिरहेका छन्। यसको मतलब परिवारसँग समस्या छ भन्ने होइन। तर, उनीहरू आफैँ आफ्नो पहिचान बनाउन चाहन्छन्, आफ्नो अर्थ आफैँ खोज्न र बुझ्न चाहन्छन्। यो अवधारणा लिएर आजकाल धेरै पर्यटक योगिनी मन्दिरमा आइरहेका छन्। यस मन्दिरमा तपाईं के पाउनुहुन्छ भनेर सोध्यो भने उनीहरू भन्छन्, पहिचान, बुझाइ, शान्ति। उमेर समूह हेर्ने हो भने धेरै युवा पनि यसरी आइरहेका छन्।
नेपालमा पनि तपाईंले साँखु, फर्पिङ, वज्रयोगिनी, गुह्येश्वरी, बिजेश्वरी आदि ठाउँमा गएर यस विषयमा अनुसन्धान गर्नुभएको छ। नेपालको अनुसन्धानबाट तपाईंले के पाउनुभयो?
काठमाडौँमा भएका योगिनीसम्बन्धी सबै मन्दिरमा पुगेकी छु। मैले के पाएँ भने, यी मन्दिरका संरचना या सम्बन्धित रीतिरिवाज फरक हुन सक्छन्, तर आधारभूत भाव एउटै छ, यहाँ र ओडिसाका योगिनी मन्दिरमा। वज्रयान बुद्धिज्ममा जो डाकिनीहरू हुन्छन्, हिन्दु तन्त्रका योगिनी र यी डाकिनीहरू एउटै अवधारणाका विभिन्न रूप हुन्।
योगिनीहरू मूर्तिका रूपमा धेरै भेटिन्छन्, मन्दिरमा पाइन्छन्। डाकिनीहरू अवसीमिय हुन्छन्, भौतिकभन्दा पनि बढी आध्यात्मिक स्थानमा पाइन्छन्। तर, पनि योगिनी र डाकिनीका स्तोत्रहरू पनि उस्तै उस्तै हुन्छन्। आधारभूत भाव एउटै हो, दैवी स्त्रीतत्त्व।

हामी अलग अलग देशका भए पनि हाम्रो संस्कृति उस्तै उस्तै छ भन्न खोज्नुभएको हो?
हो। म कति धेरै देश गएँ, कम्बोडिया पनि गएँ। त्यहाँका देवीहरू पनि योगिनीसँग मेल खान्छन्। हामीले नाम अलग अलग दिए पनि कुरा एउटै हो। अन्ततः यी महिला हुन्।
ओडिसाका योगिनी मन्दिरमा आजका महिला पनि आफ्नो पहिचान खोजिरहेका छन् भन्ने रोचक कुरा गर्नुभएको थियो तपाईंले। के नेपालमा पनि त्यस्तै पाउनुभयो?
नेपालमा यस्ता मन्दिरमा पर्यटक कम पाएँ मैले। उदाहरणका लागि पाटनमा धेरै पर्यटक भेटिन्छन्, तर बिजेश्वरी, फर्पिङ वा साँखुमा त्यति भेटिँदैनन्। साँखुमा थोरै पर्यटक भए पनि मैले उनीहरूसँग कुरा गरेँ। उनीहरूले भने– यहाँ एकदम एकान्तको भावना आउँछ। तन्त्रमा एउटा शून्यको अवधारणा हुन्छ, मोक्ष प्राप्त गर्न हामी शून्यमा पुग्नुपर्छ भनिन्छ। यस्ता खाली, एकान्त ठाउँहरूमा नै हामीले यस्तो भावना पाउन सक्छौँ।
विशेषगरी कोभिडपछि थुप्रै मानिस मूलधारको पर्यटन गर्न चाहँदैनन्, जुन भिडभाडपूर्ण हुन्छन्। मानिसहरू कम प्रसिद्ध ठाउँहरू खोजिरहेका छन्। यी ठाउँहरू त्यस्तो पर्यटनका लागि सुहाउँछन्। मैले किताब लेखेपछि मान्छेहरू आउँछन् भन्ने लागेको थिएन तर ओडिसाका योगिनी मन्दिर हेर्न मान्छेहरू आइरहेका छन्।
सदियौँअघि बनेका योगिनीका मूर्तिहरू सशक्त देखिन्छन् भनेर तपाईंले भन्नुभयो। यसको कारण के हो?
उदाहरणका लागि डाकिनीका मूर्ति वा चित्र हेर्यो भने उनीहरू आकाशमा उडिरहेका हुन्छन्। थांका चित्रकलामा पनि यस्ता चित्र पाइन्छन्। कतिपय योगिनीहरूले तरबार समाउँछन्, कति श्मशानमा वा शवमाथि उभिएका हुन्छन्, र यी छविमा शक्ति देखिन्छ। हिन्दु देवगणमा अक्सर पुरुष देवताहरू प्रमुख देखिन्छन् भने उनीहरूका पत्नी वा सहचरीका रूपमा देवीहरू देखिन्छन्। तर, योगिनी समूहमा स्वतन्त्र नारीहरू भेटिन्छन्, यहाँ पुरुष देवता छैनन्। जस्तै गणेश छैनन्, विनायकी छन्। ब्रह्मा छैनन्, ब्रह्मायणी छन्, आदि। महिला सहचरी कसरी यहाँ केन्द्रीय बनेका छन् भन्ने रोचक कुरा हो।

लेखक अद्याशा दास। तस्बिर : अद्याशा दासको फेसबुक
म एउटा योगिनी मूर्तिको उल्लेख गर्न चाहन्छु यहाँ। हीरापुरको चौँसट्ठी योगिनी मन्दिरमा एक जना योगिनी छिन्, सरस्वती। सरस्वतीको एउटा परम्परागत छवि छ; शान्त, सुन्दर, वीणा बजाउने। तर, यहाँ सरस्वती अर्धनारीश्वर छिन्। आधा शरीर पुरुषको छ जसले आफ्नो जुँगा घुमाइरहेको हुन्छ, र अर्को आधा महिलाको छ जसले वीणा बजाइरहेको छ। यसको अर्थ हो, हामीभित्र पुरुषतत्त्व र स्त्रीतत्त्वको अद्भुत मिश्रण छ। यी दुवैलाई एकसाथ लिएर अघि बढ्यौँ भने हामी जे पनि गर्न सक्छौँ, पुरुष र महिलाबीच कुनै विभाजन हुँदैन।
यस्तो सशक्तीकरण पाउन आजका महिला के गर्न सक्छन्?
यसको आधारभूत भावना के हो भने, हामीले आफूभित्रको प्रतिभालाई चिन्नुपर्छ र आफ्ना भूमिकाहरूलाई बुझ्नुपर्छ। किनकि, समाजले धेरै भूमिका दिन्छ र धेरैजसो महिलाको समस्या भनेको यी भूमिकाको अधिक भार हो। छैटौँ र सातौँ शताब्दीमा यस्ता महिला थिए जो आजका महिला जस्तै पुरुषको संसारमा बाँचिरहेका थिए। तर, पनि उनीहरू उत्कृष्ट थिए, यी मन्दिरहरू उनीहरूप्रति नै समर्पित छन्। यो कुरा एउटा प्रेरणाको स्रोत हुन सक्छ जस्तो मलाई लाग्छ। यी योगिनीले महिलाहरूलाई आफूभित्रको प्रतिभा जागृत गराउने सन्देश दिन्छन्। हामीभित्र दुवै कुरा छन्– कोमलता र आक्रामकता। यो अद्भुत सम्मिश्रण हो र यसलाई लिएर हामी अघि बढ्न सक्छौँ।