दाङ। लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०८३\८४ का लागि प्रस्तुत गरेको बजेटमाथि सैद्धान्तिक छलफल गर्न आज आइतबार प्रदेश सभाको बैठक बस्दैछ।
प्रदेश सभाको बैठक दिउँसो १ बजे बस्ने तय भएको प्रदेश सभा सचिवालयले जनाएको छ।
सरकारले प्रस्तुत गरेको राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि प्रदेश सभा सदस्यहरूले असन्तुष्टि जनाएपछि यसअघि बैठक नियमित रूपमा सञ्चालन हुन सकेको थिएन।
बजेटको वितरण, योजना छनोट तथा स्रोत बाँडफाँटप्रति सत्तापक्षकै केही सांसदले असन्तुष्टि व्यक्त गरेपछि बजेटमाथिको छलफल प्रभावित बनेको थियो।
विभिन्न चरणको आन्तरिक छलफल र सहमतिपछि आजको बैठकमा बजेटमाथिको सैद्धान्तिक छलफल अघि बढाउन थालिएको हो।
प्रदेश सभा सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीअनुसार बैठकमा प्रदेश सभा सदस्यहरूले राजश्व र व्ययको वार्षिक अनुमानमाथि सैद्धान्तिक छलफलमा भाग लिनेछन्।
छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले दिने कार्यसूची रहेको छ। त्यसपछि आर्थिक मामिला तथा योजना मन्त्री कार्कीले विनियोजन विधेयक सभामा पेश गर्नेछन्।
यसैगरी सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले ‘थारु समुदायका प्रथाजनित परम्परा सम्बन्धी विधेयक’लाई विषयगत समितिमा पठाउने प्रस्ताव सभामा पेश गर्ने कार्यसूची पनि तय गरिएको छ।