काठमाडौँ
००:००:००
२८ असार २०८३, आईतवार

२३ असार २०८३
फाइल फोटो
अ+
अ-

काठमाडौँ। अविरल वर्षासँगै आएको पहिरोले जाजरकोट–डोल्पा सडक, रुकुम–घोराही शहीदमार्ग र भेरी करिडोर सडकखण्ड पूर्ण रूपमा बन्द भएका छन्।

वर्षाका कारण पहिरो आउँदा जाजरकोटा जिल्लाको नलगाढ नगरपालिका– ८ मलुवास्थित जाजरकोट–डोल्पा सडकखण्ड पूर्ण रूपमा बन्द भएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेले जानकारी दिए।

उनले २२ असारमा रोल्पाको माडी गाउँपालिका– ६ हार्निङमा पहिरो आउँदा रुकुम घोराही शहीदमार्ग बन्द भएको जानकारी दिए।

त्यसैगरी, १७ असारमा रुकुम–पश्चिम आठबिसकोट नगरपालिका– ६ रिजेगार्ड खोलामा आएको बाढीका कारण पूर्ण रूपमा अवरुद्ध भएको भेरी करिडोर हालसम्म सञ्चालनमा आएको छैन।

वर्षाका कारण अवरुद्ध भएका केही मुख्य राजमार्ग आंशिक तथा एकतर्फी रूपमा सञ्चालनमा आएका छन् भने केही सडक खुलाउने प्रयास भइरहेको केन्द्रीय प्रवक्ता काफ्लेले बताए।

पूर्ण रूपमा अवरुद्ध भएका राजमार्ग सञ्चालन नहुँदासम्म यात्रा नगर्न तथा आंशिक रूपमा सञ्चालनमा आएका सडकमा सावधानी अपनाएर मात्र यात्रा गर्न सर्वसाधारणलाई नेपाल प्रहरीले अनुरोध गरेको छ।