काठमाडौँ
००:००:००
२८ असार २०८३, आईतवार

२७ असार २०८३
अ+
अ-

काठमाडौ । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री तथा राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले आगामी एक वर्षसम्म सामाजिक सञ्जाल र सञ्चारमाध्यमलाई अन्तर्वार्ता नदिने घोषणा गरेका छन्। उनले अत्यन्तै महत्वपूर्ण सार्वजनिक सरोकारका विषयबाहेक कुनै पनि अन्तर्वार्ता नदिने बताएका हुन्।

केही दिनअघि ट्राफिक नियम उल्लंघन गर्ने सवारी चालकलाई कडा जरिवाना गर्नुपर्ने सम्बन्धमा दिएको अभिव्यक्ति विवादमा परेपछि पुनले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै यस्तो निर्णय सुनाएका हुन्।

फेसबुकमा उनले लेखेका छन्, “आजदेखि मैले कुनै पनि ठूला–साना युट्युबरसहित सोसल मिडिया र पत्रकार कसैलाई पनि अति महत्वपूर्ण सार्वजनिक महत्वका विषयबाहेक एक वर्षसम्म एक शब्द पनि अन्तर्वार्ता दिने छैन।”

ट्राफिक जरिवानासम्बन्धी अभिव्यक्तिबारे स्पष्टीकरण दिँदै पुनले आफूले दिएको भनाइ फिर्ता लिँदै माफीसमेत मागेका छन्। उनले लेखेका छन्, “केही दिनअघि सामाजिक सञ्जालका पत्रकारहरूलाई अन्तर्वार्ता दिने क्रममा गुड्ने सवारी साधन र ट्राफिक नियम उल्लंघनको प्रसंगमा ५० हजार रुपैयाँ जरिवाना गर्नुपर्छ भनी बोलेको कुरा फिर्ता लिँदै माफी मागेको छु। त्यसबाट कसैलाई अज्ञानवश चोट पुगेको भए क्षमा चाहन्छु।”

पुनका अनुसार, अन्तर्वार्ताका क्रममा आफूलाई सो विषयमा पर्याप्त जानकारी नभए पनि पत्रकारहरूले पटक–पटक प्रश्न गरेपछि छलफल अघि बढेको थियो। उनले ५० हजार रुपैयाँ जरिवानाको प्रसंग आफूले नभई अन्तर्वार्ताकारहरूले नै उठाएको दाबी गरेका छन्।

उनले ट्राफिक नियम उल्लंघन गर्नेहरूलाई आवश्यक कानुनी कारबाही र जरिवाना हुनुपर्ने आफ्नो मूल धारणा रहेको उल्लेख गर्दै नियम उल्लंघन र अपराधप्रति कडाइ नगरे समाजमा अनुशासन कायम गर्न कठिन हुने बताएका छन्।