राजनीति
देउवा समूहको रणनीति : साउनभर एकताको प्रतीक्षा, त्यसपछि नयाँ पार्टी गठन
नेपाली कांग्रेसको देउवा समूह नयाँ पार्टी गठनको विकल्पमा केन्द्रित भएको छ। संस्थापन पक्षसँगको संवाद निष्कर्षमा पुग्न नसकेपछि समूहले ‘नयाँ कांग्रेस’ को अवधारणामा गृहकार्य थालेको हो।
यद्यपि, समूहले पार्टी एकतालाई पहिलो प्राथमिकतामा राखेको बताएको छ। साउनभरि वार्ताको ढोका खुला राख्ने र त्यसपछि मात्र नयाँ पार्टी गठनबारे अन्तिम निर्णय लिने समूहको रणनीति छ।
वार्तालाई पहिलो र नयाँ पार्टी गठनलाई दोस्रो प्राथमिकतामा राखिएको नेता मीन विश्वकर्मा बताउँछन्।
“विशेष महाधिवेशनमा सहभागी नभएका नेताहरूले सम्पर्क कार्यालय स्थापना गर्नुभएको छ। त्यहाँ नियमित रूपमा छलफल भइरहेको छ,” विश्वकर्मा भन्छन्, “सकेसम्म पार्टी एकता गर्छौं। कुनै उपाय नलागे नयाँ पार्टी गठन गर्छौं।” देउवा समूहले २२ असारमा चुनदेवीमा सम्पर्क कार्यालय स्थापना गरेपछि भएका छलफलमा साउनभर संस्थापन पक्षको प्रतिक्रिया पर्खिने समझदारी बनेको नेताहरू बताउँछन्।
कार्यालयमा निवर्तमान उपसभापति पूर्णबहादुर खड्का तथा नेताहरू कृष्णप्रसाद सिटौला, विमलेन्द्र निधि, प्रकाशमान सिंह र शशांक कोइरालालगायत नियमित छलफल गरिरहेका छन्।
“अहिलेसम्मका बैठकको पहिलो प्राथमिकता पार्टी एकता नै हो,” विश्वकर्मा भन्छन्, “एकताका लागि हदैसम्म लचक हुने, पहल गर्ने तथा केही स्वीकार वा त्याग गर्नुपरे त्यसका लागि पनि तयार हुने रणनीति बनेको छ।”
इतर समूहका नेताहरूका अनुसार अहिलेसम्म सानेपास्थित पार्टी नेतृत्वले औपचारिक र ठोस संवाद गरेको छैन। उपसभापति विश्वप्रकाश शर्मा र महामन्त्री गुरुराज घिमिरेले नेताहरूसँग छलफल गरे पनि त्यसबाट प्रगति नभएको उनीहरूको भनाइ छ। “सानेपाले वार्तामा भएका कुरालाई वास्ता गरेको छैन,” विश्वकर्मा भन्छन्, “साउनभरि पर्खिन्छौँ। त्यसपछि पनि वास्ता भएन भने नयाँ पार्टी गठनको विकल्प रहँदैन।”
संस्थापन पक्षका नेताहरू वार्ता गरेपछि सम्पर्कविहीन हुने गरेको गुनासो इतर पक्षको छ। शर्मा र घिमिरे छलफलपछि सहमति भएको भन्दै फर्किए पनि त्यसपछि सम्पर्कमा नआएको उनीहरूको दाबी छ।
तत्काल भने समूह ६ साउनको बीपी स्मृति दिवस र राष्ट्रिय भेलाको तयारीमा केन्द्रित रहेको पूर्वउपसभापति विमलेन्द्र निधि बताउँछन्। भन्छन्, “प्रज्ञा प्रतिष्ठानमा बीपी स्मृति दिवस मनाउँदै छौँ। त्यहीँबाट राष्ट्रिय भेलाको मिति घोषणा गर्छौं। त्यसपछि अरू विषय अघि बढ्छन्।”
चुनदेवी कार्यालयलाई विशेष महाधिवेशनमा सहभागी नभएका तर नियमित महाधिवेशनको पक्षमा रहेका नेताहरूको सम्पर्क कार्यालय भनिएको छ। पूर्वमहामन्त्री शशांक कोइराला त्यहाँ नियमित रूपमा उपस्थित हुने नेतामध्ये एक हुन्। उनले सुरुदेखि नै विशेष महाधिवेशनको विरोध गर्दै नियमित महाधिवेशनको पक्ष लिएका थिए। “उहाँ पार्टी एकताका लागि जस्तोसुकै भूमिका खेल्न र जिम्मेवारी लिन तयार हुनुहुन्छ,” विश्वकर्मा भन्छन्।
संस्थापन पक्षका नेताहरू वार्ता गरेपछि सम्पर्कविहीन हुने गरेको गुनासो इतर पक्षको छ। शर्मा र घिमिरे छलफलपछि सहमति भएको भन्दै फर्किए पनि त्यसपछि सम्पर्कमा नआएको उनीहरूको दाबी छ।
“राजनीति फुटबलको इन्जुरी समय जस्तै हो। अन्तिम समयमा पनि गोल हुन सक्छ,” विश्वकर्मा भन्छन्, “एक प्रतिशत सम्भावना रहँदासम्म आशा गर्न सकिन्छ। हामी आशावादी छौँ तर अहिलेसम्मको प्रगति भरोसालाग्दो छैन। संस्थापन पक्षका नेताहरू सबै कुरा मिल्यो भन्नुहुन्छ, त्यसपछि सम्पर्कविहीन हुनुहुन्छ। उहाँहरूले नखोज्ने अनि हामीले मात्रै एकता कति खोज्ने?”
विशेष महाधिवेशनपछि बढेको दूरी
नेपाली कांग्रेसको विशेष महाधिवेशन २७ पुसमा भएको थियो। गगन थापा समूहले आयोजना गरेको विशेष महाधिवेशनले तत्कालीन सभापति शेरबहादुर देउवा नेतृत्वको केन्द्रीय समिति भंग गरेको थियो।
त्यसपछि कांग्रेसको आधिकारिकतासम्बन्धी विवाद निर्वाचन आयोग हुँदै सर्वोच्च अदालतसम्म पुगेको थियो। आयोग र अदालत दुवैले विशेष महाधिवेशनलाई मान्यता दिएका थिए।
देउवा समूहले विशेष महाधिवेशनको वैधानिकता स्वीकार गरे पनि विभाजित पार्टीलाई एक ठाउँमा ल्याउन संस्थापन पक्षले पहल गर्नुपर्ने माग गर्दै आएको छ। देउवा र मध्यमार्गी नेता शेखर कोइराला समूह दुवैले पार्टी एकतालाई प्राथमिक मुद्दा बनाएका छन्।
देउवा-कोइराला समूहले भने सदस्यता अद्यावधिकलाई अनिवार्य सर्त बनाउन नहुने र १४औँ महाधिवेशनपछि भएको नवीकरणलाई नै मान्यता दिनुपर्ने अडान राखिरहेको छ।
विशेष महाधिवेशन र १४औँ महाधिवेशनबाट निर्वाचित समितिहरू समायोजन गर्नुपर्ने तथा अनुशासन, निर्वाचन, क्रियाशील सदस्यता र छानबिन समितिमा सबै पक्षलाई समेट्नुपर्ने इतर समूहको माग छ।
यसैबीच, संस्थापन पक्षले एकताबिनै १५औँ महाधिवेशनको प्रक्रिया अघि बढाएको भन्दै दुवै समूह असन्तुष्ट छन्। एकताको पक्ष लिँदै आएका कोइरालाले अहिलेसम्म ठोस निर्णय सार्वजनिक नगरे पनि देउवा समूहसँग छलफल बढाएका छन्।
देउवा समूह भने छुट्टै भेला, सम्पर्क कार्यालय सञ्चालन र नयाँ पार्टी गठनको सम्भावनाबारे छलफल गर्दै एक कदम अघि बढेको छ।
असोजमा १५औँ नियमित महाधिवेशन गर्ने तयारीस्वरूप संस्थापन पक्षले २ जेठदेखि नयाँ सदस्यता, नवीकरण र विवरण अद्यावधिकको काम थालेको थियो। चार पटक समय थपेर केन्द्रीय कार्यालयले सदस्यता अद्यावधिकको अन्तिम समयसीमा ३ साउनसम्म पुर्याएको छ। साथै, सम्बन्धित नेताहरूलाई कार्यालयमै उपस्थित भएर विवरण बुझाउन परिपत्र गरिएको छ। तर, देउवा र कोइराला समूहका अधिकांश नेता अद्यावधिक प्रक्रियामा सहभागी भएका छैनन्। समयसीमा सकिएपछि पनि केन्द्रीय समिति बैठकबाट निर्णय गरी महाधिवेशनको एक वा दुई महिनाअघिसम्म अद्यावधिकको अवसर दिने संस्थापन पक्षको तयारी छ।
“कांग्रेसको सदस्यता अद्यावधिकमा कोही छुटेको छ भने उसलाई १५औँ नियमित महाधिवेशनमा सहभागी हुन नदिने भन्ने हुँदैन,” महामन्त्री प्रदीप पौडेल भन्छन्, “केन्द्रीय समितिले मौका दिन्छ। महाधिवेशनको एक वा दुई महिनाअघि त्यस्तो निर्णय हुन सक्छ।”
देउवा समूहका अधिकतर नेता कांग्रेसको मूल राजनीतिक बिरासत आफूसँग रहेको दाबी गर्दै ‘सक्कली कांग्रेस’ को पहिचानसहित नयाँ पार्टी बनाउनुपर्ने धारणा राख्न थालेका छन्।
देउवा-कोइराला समूहले भने सदस्यता अद्यावधिकलाई अनिवार्य सर्त बनाउन नहुने र १४औँ महाधिवेशनपछि भएको नवीकरणलाई नै मान्यता दिनुपर्ने अडान राखिरहेको छ।
विशेष महाधिवेशन र १४औँ महाधिवेशनबाट निर्वाचित समितिहरू समायोजन गर्नुपर्ने तथा अनुशासन, निर्वाचन, क्रियाशील सदस्यता र छानबिन समितिमा सबै पक्षलाई समेट्नुपर्ने इतर समूहको माग छ।
कोइरालाले समायोजन गर्दा दुवै समिति जस्ताको तस्तै समेट्नुपर्ने प्रस्ताव गरेका थिए। त्यसो गर्न नसके कसैलाई पनि समायोजन नगरी १५औँ नियमित महाधिवेशनका लागि राजनीतिक संयन्त्र बनाउनुपर्ने उनको प्रस्ताव थियो।
विवादित विषय राजनीतिक संयन्त्रले टुंग्याउँदा निष्पक्ष महाधिवेशन हुने कोइरालाको तर्क थियो। संस्थापन पक्षले भने उक्त प्रस्ताव स्वीकार गरेको छैन।
‘सक्कली कांग्रेस’ बनाउन शेखरसँग संवाद
देउवा समूहका अधिकतर नेता कांग्रेसको मूल राजनीतिक बिरासत आफूसँग रहेको दाबी गर्दै ‘सक्कली कांग्रेस’ को पहिचानसहित नयाँ पार्टी बनाउनुपर्ने धारणा राख्न थालेका छन्। बीपी कोइरालाको राजनीतिक बिरासतलाई निरन्तरता दिने गरी ‘नयाँ कांग्रेस’ निर्माण गर्नुपर्ने मत समूहभित्र बलियो बन्दै गएको छ। कांग्रेस निर्माणको इतिहासमा लामो समय बिताएका नेताहरू नियमित महाधिवेशनको पक्षमा रहेकाले उक्त पंक्तिलाई बेवास्ता गरेर अघि बढे नयाँ कांग्रेस गठन हुने विश्वकर्माको चेतावनी छ। “त्यस्तो परिस्थिति आयो भने नेपाली कांग्रेसकै राजनीतिक आधारमा नयाँ पार्टी बनाउने हो,” उनी भन्छन्, “नयाँ पार्टी कांग्रेसको बिरासतलाई निरन्तरता दिने सक्कली कांग्रेस हामी हौँ भन्ने भावसहित गठन हुन्छ।”
नयाँ पार्टी गठन गर्नुपर्ने अवस्था आए नेतृत्व कसले गर्ने भन्ने विषयमा पनि समूहभित्र अनौपचारिक छलफल सुरु भएको छ। बीपी कोइरालाको राजनीतिक बिरासत र कोइराला परिवारको प्रतिनिधित्वका कारण शशांक कोइरालालाई सम्भावित विकल्पका रूपमा हेरिएको छ।
विमलेन्द्र निधि र प्रकाशमान सिंहको नाम पनि सम्भावित नेतृत्वका रूपमा चर्चामा छ। नेतृत्व, पार्टीको नाम वा चुनावचिह्नबारे औपचारिक छलफल भने सुरु नभएको विश्वकर्मा बताउँछन्। “अहिलेसम्म ती विषयमा औपचारिक छलफल वा निर्णय भएको छैन,” उनी भन्छन्, “वैकल्पिक बाटोमा जानुपर्ने अवस्था आएकाले सम्भावित नेतृत्वबारे अनौपचारिक चर्चा भएको हुन सक्छ।”
देउवा समूहले मध्यमार्गी नेता शेखर कोइरालासँग पनि वैकल्पिक राजनीतिक बाटोबारे संवाद थालेको छ। नेता प्रकाशशरण महत शनिबार विराटनगर पुगेर कोइरालासँग भेट गरेका थिए। पार्टी एकताको सम्भावना कमजोर भए त्यसपछिको राजनीतिक बाटो के हुने भन्ने विषयमा कोइरालासँग छलफल भएको महतले बताए। “अहिले ६ साउनको कार्यक्रमको तयारीमा छौँ,” महत भन्छन्, “शेखरजी काठमाडौँ आएपछि थप परामर्श हुन्छ।”
नयाँ राजनीतिक विकल्पबारे देउवा समूहसँग भएको छलफलका विषयमा कोइरालाले भने धारणा सार्वजनिक गरेका छैनन्। “उहाँ दुईतीन दिनमा काठमाडौँ आउने कुरा छ,” कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलिया भन्छन्, “तर, नयाँ पार्टी गठनको छलफलमा रहेको विषयमा सचिवालयलाई जानकारी छैन।”