काठमाडौँ। भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासी परिवारले राष्ट्रिय मानवअधिकार आयोगसँग गुहार मागेका छन्।
उनीहरूका तर्फबाट दलमर्दन कामी, प्रमिला राई, झवरलाल उराँव, कल्पना थापा, नीरकुमार मगर, रामकुमारी राई, कमला उराँव र गोपाल माझीलगायतको प्रतिनिधिमण्डलले राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर मगरलाई मंगलबार भेटेर आफ्ना गुनासा सुनाएको छ। अध्यक्ष मगरकै कार्यकक्षमा भएको भेटमा भूमिहीन परिवारले मानवअधिकार संरक्षणसम्बन्धी अपिलपत्र बुझायो।
त्यसअवसरमा आयोगका अन्य सदस्यहरू तथा सदस्य-सचिवसमेत सहभागी थिए। अपिलपत्र बुझिसकेपछि अध्यक्ष मगरले आयोगले पीडित परिवारहरूको विषयमा यसअघि पनि सरकारसमक्ष मानवअधिकार संरक्षणका लागि आवाज उठाउँदै आवश्यक पहल गर्दै आएको उल्लेख गरे। उनले प्राप्त अपिलपत्रका आधारमा थप अध्ययन गरी सम्बन्धित निकायलाई आवश्यक सुझाव र सिफारिस गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे।

प्रतिनिधिमण्डलले होल्डिङ सेन्टरमा रहेका भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासी परिवारको वास्तविक अवस्था, राहत वितरणमा देखिएको विभेद, सम्मानजनक बसोबासको अभाव तथा संविधानप्रदत्त आवास र मानवअधिकार संरक्षणका विषयमा आयोगको ध्यानाकर्षण गराएको संयोजक दलमर्दन कामीले जानकारी दिए।
उनका अनुसार प्रतिनिधिमण्डलले तत्कार स्थलगत अनुगमन, आवश्यक निर्देशन र भूस्वामित्वसहितको स्थायी पुनःस्थापनाका लागि पहल गरिदिन आग्रह गरेको छ।
