जनकपुरधाम। मधेश प्रदेशमा तीन दलको सरकारलाई नै निरन्तरता दिइने निर्णय भएको छ।
नेकपा एमाले, नेपाली कांग्रेस र नेकपाका संसदिय दलका नेताहरूकाे संयुक्त बैठकले तीन दलको सरकारलाई निरन्तरता दिने निर्णय गरेको हो।
बैठकले नेपाली कांग्रेसका संसदीय दलका नेता एवं मुख्यमन्त्री कृष्णप्रसाद यादव नेकपा एमालेका संसदीय दलका नेता सरोज कुमार यादव र नेकपाका संसदीय दलका नेता युवराज भट्टराईलाई निरन्तरता दिने निर्णय गरेको जानकारी दिइएको छ।
नेकपा संसदीय दलका नेता एवं अर्थमन्त्री युवराज भट्टराईले अन्य प्रदेशमा नेकपा एमालेसँगको सहकार्यलाई नेपाली कांग्रेसले तोडेपनि मधेश प्रदेशमा विशिष्टीकृत रुपमा सरकार निर्माण भएको कारणले यसलाई निरन्तरता दिने निर्णय भएको जानकारी दिए।
भट्टराईले भने- ‘मधेस प्रदेशमा तीन दलकै सरकारलाई निरन्तरता दिने हामीहरूको बैठकले निर्णय गरेको छ। हामी नेकपा एमालेसँगको सहकार्य तोड्दैनौं अगाडि बढ्छौं।मधेस प्रदेशमा नेकपा एमालेलाई सरकारबाट हटाए मधेस केन्द्रित दललाई सरकार टिकाउनका लागि बहुमत लिनुपर्ने अवस्था देखिएको छ।’
नेकपा एमालेका संसदीय दलका नेता सरोज कुमार यादवले तीन दल मिलेरै बजेट पारित गरेको र अब मिलेरै अगाडि बढ्ने बताए।
उनले अन्य प्रदेशमा कोसंग गठबन्धन बन्यो टुट्यो भन्दा पनि मधेस प्रदेशमा तीन दलबीचमा एकता गरेर अगाडि जाने निर्णय भएको बताए।
यादवले मधेस प्रदेशमा भने तीन दलकै सरकार बीचमा निरन्तरता दिने र प्रदेशको समृद्धि र विकासका लागि अगाडि बढ्ने निर्णय भएको जानकारी दिए।