गोरखा । गृहमन्त्री सुधन गुरुङले जिल्ला प्रशासन कार्यालय गोरखाबाट प्रवाह हुने सेवा छिटो, पारदर्शी र सेवाग्राहीमैत्री बनाउन कर्मचारीलाई निर्देशन दिएका छन्।
शुक्रबार गोरखा पुगेका गृहमन्त्री गुरुङले जिल्ला प्रशासन कार्यालयका कर्मचारीलाई निर्देशन दिँदै नागरिकता प्रदान गर्ने प्रक्रिया १५ मिनेटभित्र सम्पन्न गर्नुपर्ने बताए। उनले सेवाग्राहीसँग एक रुपैयाँ घुस लिएको जानकारी पाए पनि कडा कारबाही गरिने चेतावनी दिए।
गृहमन्त्री नियुक्त भएपछि गुरुङ पहिलो पटक गृहजिल्ला गोरखा पुगेका हुन्। सो अवसरमा आयोजित कार्यक्रममा प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठले जिल्लाको समग्र शान्ति–सुरक्षा अवस्था, सेवा प्रवाह तथा प्रशासनसँग सम्बन्धित विभिन्न विषयमा गृहमन्त्रीलाई जानकारी गराएका थिए।
कार्यक्रममा जिल्लास्थित सुरक्षा निकायका प्रमुख तथा जिल्ला प्रशासन कार्यालयका कर्मचारीहरूको सहभागिता रहेको थियो।