फोटो कथा

घरको तिर्सना मेटाउन बर्खा याममा प्रायः चितवनका फाँटहरूतिर साइकलमा डुलिहिँड्छु।

२ श्रावण २०८३
रोपाईं गर्दै महिलाहरू। तस्बिर : निशा श्रेष्ठ
अ+
अ-

बर्खा लागेपछि मन एकतमास भइदिन्छ। बर्सात, फाँट, गाउँ सबै एकैपटक मनमा गुँडुल्किन्छ। सम्झनाहरू फाँटभरि छरिन्छन्। चितवनमा बस्न थालेपछि कहिलेकाहीँ मात्र असारमा घर (पर्वत) पुग्ने मौका जुर्छ। त्यसैले घरको तिर्सना मेटाउन बर्खा याममा प्रायः यतैका सहजै पुग्न सकिने फाँटतिर साइकल लिएर डुलिहिँड्छु।

अघिल्लो शनिबार बिहानै साइकल निकालेर फाँटहरू चियाउँदै डुल्न थालेँ। कतै मकै भाँच्दै, कतै छेउकुना सम्याउँदै, कतै आली लगाउँदै, रोपाइँ गर्दै किसानहरू काममा मग्न थिए। माथि आकाशमा बादल धुम्म थियो।

यहाँको मुख्य बजार क्षेत्रमा हरेक दिनजसो नयाँ घरहरू ठडिँदा खेतीयोग्य जमिन घट्दो छ। घर ठडिन बाँकी जमिनमा भने खेतीपाती भइरहेको छ। मुख्य सडकदेखि छेलिएर भरतपुरका ७ को फाँटतिर आँखा फिजाउँछु। मेरो भेट शम्भु तामाङ दाइसँग हुन्छ, जो धादिङको नौबिसे पाटीपुरबाट भरतपुर आएका रहेछन्। २०७२ सालको विनाशकारी भूकम्पले उनको घरसँगै गाउँको खानेपानीको मूलसमेत सुकाइदियो।

भन्छन्, “भुइँचालोपछि पानीको मूल नै चिरफार भएर भित्र हरायो, त्यसपछि बाँच्ने आधार खोज्दै यता आएको हुँ।” अचेल जीविकोपार्जनका लागि उनी १५ कट्ठा जग्गामा अधियाँ खेती गर्दै छन्। आधा उब्जनी जग्गाधनीलाई बुझाउनुपर्छ।

शम्भु दाइ भर्खरै मकै थन्काइभ्याएर धान रोप्ने तारताम्य मिलाउँदै छन्। भन्छन्, “बेलामा पानी पर्दैन, आकाशतिर हेर्नुपर्छ। कहिले नहर आउला भन्यो, फेरि सुक्छ।” पछिल्लो हप्ता भने भरतपुरमा राम्रै वर्षा भयो। उनको गुनासो केही हदसम्म सम्बोधन पनि भयो होला।

किसानको समस्या एउटै मात्र कहाँ हुन्छ र? १५ कट्ठा जमिनमा उनको पूरै अस्तित्व अडेको छ। अघिल्लो पटक मकै लगाएका थिए, पाकेपछि मिलमा बेचे तर उचित मूल्य नपाएर उनी दिक्क थिए।

“हामीले मकै बेच्दा प्रतिकिलो ३० रुपैयाँ मात्रै पाउँछौँ। किन्न जाँदा महँगो, बेच्न जाँदा सस्तो,” उनी भन्छन्। रासायनिक मल लिन जाँदा अनुदानको मल ५–६ किलोभन्दा बढी नपाइने समस्या पनि ज्युँका त्युँ।

त्यही बखत सीता राना दिदी खेतको छेउकुनाको झार उखेल्दै थिइन्। उनलाई औषधि फ्याक्ट्रीमा दिउँसो काममा जानुअघि बिहानै खेतको काम भ्याउने हतारो थियो। जागिर र अन्नको भरथेग गर्न खेतीपातीबीचको सन्तुलनमै उनको दिनचर्या बितिरहेको छ।

अलि पर दुई जना दाइहरू कस्सिएर आली लगाउँदै थिए। सर्लाही–सप्तरीका उनीहरू खेतीको मौसममा ज्यालामजदुरी गर्न यहाँ आउँदा रहेछन्।

त्योभन्दा पर तामाङ दिदीबहिनीहरू मकै थन्काउने चटारोमा थिए। आफ्नै लवजमा गफ गर्दै काममा व्यस्त। मकैको काम सकिएलगत्तै फेरि धान रोप्ने भन्दै थिए।

फोटो खिच्छु है तपाईंहरूको भन्दा उनीहरू जिस्कए, “लौ भाइरल भइने भो!”

मनैमन भने, तपाईंहरू त अन्नदाता हो, यस्तो मिहिनेत गर्नुभएछ, तपाईंहरूको फोटो नखिचेर कसको खिच्ने त?

एकैछिनको भलाकुसारीपछि गाइनेकिरासँग रगमगिएँ म। सानो छँदा बर्खा लाग्नासाथ हामी गाइनेकिरा खोज्दै फाँटभरि दौडिन्थ्यौँ। समातियो भने पुछारमा धागो बाँधेर उडाउँथ्यौँ र त्यो किरासँगै हामी पनि उडे जस्तो महसुस गर्थ्यौं। अहिले ग्लानि हुन्छ, त्यो सानो किराका लागि त्यो क्षण कति पीडादायी थियो होला! बाल्यकालको त्यो निर्दोष रमाइलोपनमा यस्तो कुरा कहिल्यै मनमा आएको थिएन। आज वर्षौंपछि त्यही किरालाई क्यामेरामा देखेर म ‘नोस्टाल्जिया’ मा फर्किएँ।


यो सम्झना अब नोस्टाल्जियामा मात्र सीमित छैन। केही पहिले समाचारमा पढेको थिएँ, गाइनेकिराको संख्या घट्दै जाँदा त्यसको प्रत्यक्ष असर कृषि उत्पादनमा नै देखिन थालेको छ। गाइनेकिराको मुख्य आहारा पतेरो र गवारो जस्ता किरा हुन्, जसले धान, मकै र गहुँलाई हानि पुर्‍याउँछन्। गाइनेकिरा घट्दै जाँदा यी हानिकारक किराको संख्या बढ्दै गई बालीको उत्पादनमा असर पर्न थालेको रहेछ। हामी बाल्यकालमा पुछारमा धागो बाँधेर उडाउँदै हिँडेको त्यही सानो किरा यी फाँटका मौन रक्षक रहेछन्।

अर्को दिन, बिहानै साइकल गुडाउँदै भरतपुर-८ गौरीगन्ज आसपासमै एकहुल दिदीहरूलाई साइकलमा कुदेको देखेँ। हत्तपत्त पछ्याउन थालेँ। उहाँहरू रोपाहार हुनुहुन्थ्यो, घन्टाको हिसाबले ज्याला लिने समूह।

खेतसम्म पुगेर केही तस्बिर लिएँ। फर्किने बेला पानीका थोपाहरूले मेरो अनुहारमा स्पर्श गर्न थाले। तनसँगै मन पनि आनन्दित भयो। संगीतलाई साथी बनाई पाइडल घुमाउँदै आफ्नै थलो फर्किने क्रममा कानमा पीयूष मिश्रको गीत गुन्जिइरहेको थियो,

ओ रे मनवा संगम है,
बारिश की बूंदों का बंधन है…