२ श्रावण २०८३
कुलमान घिसिङ।
अ+
अ-

काठमाडौँ। उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले वर्तमान सरकारले जनतालाई विश्वासिलो आधार दिलाउन नसक्दा निराशा बढ्दै गएको बताएका छन्।

पार्टीको खाँडादेवी-काठमाडौं सम्पर्क मञ्चले काठमाडौँमा शनिबार आयोजना गरेको कार्यक्रममा अध्यक्ष घिसिङले आमनागरिक मात्रै नभई उद्योग व्यवसायमा समेत सरकारले विश्वासिलो आधार दिलाउन नसक्दा निराशा बढ्दै गएको बताएका हुन्।

निराशाकै कारण व्यापारी र केही युवाले आत्मदाह गर्नुपर्ने परिस्थिति बनेको भन्दै उनले पूर्ण रूपमा नभए पनि केही हदसम्म सरकार जिम्मेवार रहेको टिप्पणी गरे। दुईतिहाइनजिकको सरकारले जनताको आशा र भरोसालाई झन् निराशामा बदल्ने काम गरे नेपाल फेरि अर्को द्वन्द्वतिर जाने सम्भावना रहने उनले बताए। उनले आफूहरूको चाहना सरकार पाँच वर्ष टिकोस् भन्ने रहे पनि अहिलेसम्मको काम हेर्दा पाँच वर्ष टिक्ने संकेत नदेखिएको तर्क गरे।

अध्यक्ष घिसिङले आफ्नो पार्टी कुनै स्टन्ट गरेर वा एउटा क्षणिक सोचमा अगाडि बढ्ने पार्टी नभएको भन्दै देशमा उत्पन्न हुने जस्तोसुकै चुनौती सामना गर्न पनि तयार रहेको बताए। अध्यक्ष घिसिङले यसअघि कुनै पार्टीसँग चाहिँ एकीकरण गरेर ठूलो गल्ती भएकाले अब कुनै पार्टीमा गएर उज्यालो नेपालको अस्तित्वलाई मेटाउने काम कुनै पनि हालतमा नहुने स्पष्ट पारे।

उनले वर्षाको मौसमपछि देशव्यापी रूपमा तीन महिनाको कार्यक्रम घोषणा गर्ने जानकारी दिए। हरेक गाउँपालिकामा पुगेर जनताको समस्या बुझ्ने काम आफूहरूले गर्ने उनको भनाइ छ। उनले अबको स्थानीय निकायको चुनाव र प्रदेशको चुनावमा उज्यालो नेपाल पार्टीले नै जित्ने र त्यसपछिको संघको चुनावमा उज्यालो नेपालबाहेक जनताले अरू कुनै पार्टी नरोज्ने दाबी गरे।