काठमाडौँ
००:००:००
५ श्रावण २०८३, मंगलवार

४ श्रावण २०८३
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादव।
अ+
अ-

काठमाडौँ। विशेष आर्थिक क्षेत्र (सेज) भित्र सञ्चालनमा रहेका उद्योगीहरूलाई भाडाको बक्यौता तिर्न ताकेता गरिएको छ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी यादवको निर्देशनपछि वर्षौंदेखि उठ्न बाँकी भाडा असुली प्रक्रिया तीव्र बनाइएको हो। सरकारले बक्यौता रहेका उद्योगहरूलाई एक साताभित्र सबै भाडा बुझाउन निर्देशन दिएको छ। तोकिएको समयभित्र भाडा नतिरे सम्बन्धित उद्योगको बिजुली र खानेपानी सेवा काटिने चेतावनीसमेत दिइएको छ।

सेज प्राधिकरणले विभिन्न विशेष आर्थिक क्षेत्रभित्र सञ्चालनमा रहेका उद्योगहरूको भाडा, सेवा शुल्क तथा अन्य रकमको विवरण सार्वजनिक गर्दै तत्काल बक्यौता असुली गर्न निर्देशन जारी गरेको हो। मन्त्री यादवले पनि सरकारी सम्पत्ति प्रयोग गरेर वर्षौंदेखि भाडा नतिर्ने उद्योगलाई अब कुनै पनि बहानामा छुट नदिन निर्देशन दिएकी छन्।

प्राधिकरणले तयार गरेको बक्यौता विवरणअनुसार केही उद्योगले नियमित रूपमा भाडा तिरे पनि धेरैले लामो समयदेखि भाडा तिरेका छैनन्। कतिपय उद्योगले आंशिक रकम बुझाएका छन्। कतिपयले सम्झौताअनुसारको भाडासमेत तिरेका छैनन्।

प्राप्त विवरणअनुसार पहिलो सूचीमा रहेका उद्योगहरूको उठ्न बाँकी बक्यौता एक करोड ७७ लाख ६८ हजार ४३८ रुपैयाँ छ। त्यस्तै दोस्रो सूचीमा रहेका उद्योगहरूको बाँकी बक्यौता १६ लाख ९४ हजार ७८६ रुपैयाँ छ। दुवै जोड्दा कुल बक्यौता करिब एक करोड ९४ लाख ६३ हजार रुपैयाँ पुगेको छ।

त्यसैगरी प्राधिकरणले पहिलो सूचीअनुसार ६ करोड १४ लाख ५८ हजार २५९ रुपैयाँ र दोस्रो सूचीअनुसार नौ करोड ९५ लाख ९२ हजार ४९२ रुपैयाँ असुल गरिएको छ। दुवैमा गरी १६ करोड रुपैयाँभन्दा बढी असुल भइसकेको छ।

सेज व्यवस्थापनका अनुसार सम्बन्धित उद्योगहरूलाई पटक-पटक लिखित तथा मौखिक रूपमा भाडा तिर्न आग्रह गरिए पनि अपेक्षित रूपमा रकम नउठेपछि कानुनी प्रक्रिया अघि बढाइएको हो। अन्तिम सूचना जारी गरिएकाले तोकिएको सात दिनभित्र बक्यौता नतिर्ने उद्योगमाथि सेवा बन्द गर्ने, सम्झौता कार्यान्वयन गर्ने तथा आवश्यक परे थप कानुनी कारबाहीसमेत गरिने तयारी गरिएको छ।

सेज प्राधिकरणले अबदेखि नियमित अनुगमनलाई थप प्रभावकारी बनाउने, नयाँ बक्यौता सिर्जना हुन नदिने र पुराना सबै बक्यौता असुलीलाई अभियानकै रूपमा अघि बढाउने जनाएको छ। सरकारले पनि उद्योगहरूलाई तोकिएको समयभित्र बक्यौता चुक्ता गरी थप कारबाहीबाट बच्न आग्रह गरेको छ।