काठमाडौँ
००:००:००
५ श्रावण २०८३, मंगलवार

आवरण

राष्ट्रिय राजनीतिको दबाबपूर्ण समयमा बलियो प्रतिपक्ष भएर उभिनुपर्ने पार्टी महिनौँदेखि आन्तरिक समस्यामै रनभुल्ल 

५ श्रावण २०८३
नेपाली कांग्रेसका नेता शेखर कोइराला, सभापति गगनकुमार थापा र पूर्वसभापति शेरबहादुर देउवा।
अ+
अ-

६ साउन (भोलि) नेपाली कांग्रेसका संस्थापक नेता तथा प्रजातान्त्रिक समाजवादका प्रवर्तक बीपी कोइरालाको ४४औँ स्मृति दिवस हो। मेलमिलाप र पार्टी एकताका राजनीतिक संस्कृतिका पक्षधर बीपी सम्झिने दिनमै कांग्रेस सम्पूर्ण रूपमा एउटै मञ्चमा उभिनेछैन।

घोषित रूपमा कांग्रेस फुटेको छैन तर व्यवहारमा दुई चिरामा विभाजित छ। संस्थापन पक्षले ललितपुर सानेपामा औपचारिक कार्यक्रम ‘ग्रिन रन’ म्याराथन आयोजना गर्दै छ। भोलिपल्ट ७ साउनमा नेपाल प्रज्ञा-प्रतिष्ठानमा विचार गोष्ठी कार्यक्रम राखेको छ।

पूर्वसभापति शेरबहादुर देउवा समूहले छुट्टै कार्यक्रमसहित राष्ट्रिय भेला बोलाउने निचोडसाथ आफ्नो राजनीतिक उपस्थितिको सन्देश दिन खोजेको छ। दुवै पक्षले बीपीलाई आफ्नो वैचारिक प्रेरणा मानेका छन्। तर, बीपी सम्झिने मञ्च फरक फरक छन्।

यस दृश्यले २४ वर्षअघि २०५९ सालको कांग्रेस सम्झाइदिएको छ, जब गिरिजाप्रसाद कोइराला र शेरबहादुर देउवाले अलग अलग कांग्रेस चलाएका थिए। त्यो विभाजन असोज २०६४ सम्म कायम थियो। त्यतिबेला विभाजन औपचारिक थियो। अहिले नाम-झन्डा एउटै तर राजनीतिक यात्रा समानान्तर छ।

महामन्त्री गुरुराज घिमिरेका अनुसार कांग्रेस संस्थापन पक्षले पार्टी केन्द्रीय कार्यालय सानेपामा राखेको बीपी स्मृति दिवसको कार्यक्रम आधिकारिक हो। संस्थापन पक्षले सानेपामा बीपी सम्झिने तयारी गरिरहँदा देउवा समूह भने त्यसलाई स्मृति दिवसमा सीमित राख्न चाहेको छैन। उसले संस्थापनभन्दा एक कदम अगाडि बढेर स्मृति दिवसमै नेपाल प्रज्ञा-प्रतिष्ठानमा भेला गरी राजनीतिक सन्देश दिँदै छ। बागमती प्रदेश समितिको आयोजनामा हुने कार्यक्रममा राष्ट्रिय भेला घोषणा गर्दै देउवा समूहले बीपी स्मृतिलाई आफ्नै शक्ति प्रदर्शनसँग जोड्न खोजेको छ।

विशेष महाधिवेशनबाट कांग्रेस सभापतिमा निर्वाचित गगन थापा २ माघ २०८२ मा पार्टीको विवरण अद्यावधिक गर्न निर्वाचन आयोगमा निवेदन दिएर फर्किने क्रममा। तस्बिर : नेपाल फोटो लाइब्रेरी

त्यसको पूर्वतयारीस्वरूप ३ साउनमा काठमाडौँको चुनदेवीस्थित सम्पर्क कार्यालयमा बागमती प्रदेशस्तरीय भेला बोलाइएको थियो। त्यहाँ पूर्वमहामन्त्री प्रकाशमान सिंहको निर्देशन स्पष्ट थियो– बीपीलाई सम्झिने दिनलाई संगठनात्मक शक्ति प्रदर्शनको अवसरमा रूपान्तरण गर्नुपर्छ। उनले कार्यकर्तालाई भनेका थिए, ‘बीपी स्मृति दिवस मात्रै नभएर यो हाम्रो शक्ति कति छ देखाउने बेला हो, तपाईंहरू बढीभन्दा बढी सहभागिता जुटाउन लाग्नुहोस्।’

नेता सिंहका अनुसार कांग्रेस अहिले इतिहासकै गम्भीर आन्तरिक द्वन्द्वबाट गुज्रिरहेको छ। नियमित र विशेष महाधिवेशनको बहसले पार्टीभित्र समानान्तर ध्रुवीकरण जन्माएको छ। यही विवादका बीच हुने १५औँ महाधिवेशन निष्पक्ष हुनेमा आशंका छ। त्यसैले दुवै धारलाई समेट्ने एकता महाधिवेशनका निम्ति नेतृत्वलाई दबाब सिर्जना गर्नुपरेको सिंह बताउँछन्। “निर्वाचित सभापतिको हरेक समितिमा बहुमत हुन्छ तर विगतका सभापतिहरूले सर्वसम्मत र सर्वस्वीकार्य निर्णय गर्ने अभ्यास बसाल्नुभएको थियो,” उनी भन्छन्, “गगनजीले पनि त्यो राजनीतिक संस्कृतिलाई निरन्तरता दिनुपर्छ।”

महामन्त्री घिमिरे बीपी कुनै एक समूहको सम्पत्ति नभएको तर्क गर्छन्। उनका अनुसार बीपीलाई सम्झिने अधिकार सबै कांग्रेसजनलाई छ। “इतिहासका विभिन्न कालखण्डमा फरक विचार र धारणा राख्ने समूहले पनि बीपीलाई आदर्श मानेका छन्,” उनी भन्छन्, “कांग्रेसको आधिकारिक कार्यक्रम भने संस्थापन पक्षले आयोजना गरेको हो।”

कांग्रेसभित्र आज जति गुट छन्, ती सबैको साझा वैचारिक केन्द्र बीपी हुन्। सबैले आफूलाई बीपीको विचारको उत्तराधिकारी दाबी गर्छन्। तर, यस्तो दाबी गर्नेहरू बीपीका नक्कली अनुयायीहरू मात्र भएको विश्लेषक पुरञ्जन आचार्य बताउँछन्।

बीपीपुत्र शशांक कोइराला देउवा समूहसँग उभिएर आफ्ना पितालाई सम्झिरहेका छन्। मध्यमार्गी धारका शेखर कोइराला स्मृति दिवस मनाउन देउवा समूहमै मिसिँदै छन्। त्यसैले यसपालिको बीपी स्मृति दिवस श्रद्धाञ्जलीभन्दा बढी कांग्रेसभित्रको शक्ति सन्तुलन नाप्ने राजनीतिक मञ्चका रूपमा स्थापित हुने देखिन्छ।

विश्लेषकका अनुसार कांग्रेसभित्र आज जति गुट छन्, ती सबैको साझा वैचारिक केन्द्र बीपी हुन्। राजनीतिक मञ्च, नारा, नेतृत्वका आकांक्षा फरक छन्। सबैले आफूलाई बीपीको विचारको उत्तराधिकारी दाबी गर्छन्। तर, यस्तो दाबी गर्नेहरू बीपीका नक्कली अनुयायीहरू मात्र भएको विश्लेषक पुरञ्जन आचार्य बताउँछन्। भन्छन्, “अहिलेका कुनै पनि कांग्रेस बीपीका अनुयायी हैनन्, यिनीहरूले बीपीको मूर्ति पूजा गर्छन्। बीपीको फोटो बिकाउन स्मृति दिवसमा माल्यार्पण गर्छन्।” उनका अनुसार बीपीको विचार, त्याग, संघर्ष र उनले बनाउन खोजेको नेपालबारे चर्चा गर्ने कांग्रेस जमात छैन।

अर्का राजनीतिक विश्लेषक दीपक लोहनीका अनुसार बीपी कोइरालाको राजनीतिक दर्शन गरिब, असहाय र जीविकोपार्जनका लागि संघर्षरत नागरिकलाई केन्द्रमा राख्ने थियो। अहिलेको कांग्रेसमा त्यस विचारको सामान्य झल्कोसमेत देखिँदैन। “बीपीको नाम लिने धेरै छन् तर उहाँको सिद्धान्त र राजनीतिक संस्कृतिलाई व्यवहारमा उतार्ने नेतृत्व देखिँदैन,” लोहनी भन्छन्, “त्यस अर्थमा अहिलेका कांग्रेस नेताहरू बीपीका वास्तविक होइन, नाम मात्रका अनुयायी हुन्।”

ती बीपी-सुवर्णशमशेर, यी गगन

कांग्रेसलाई दुई स्पष्ट कित्तामा उभ्याउने मुख्य कारण दोस्रो विशेष महाधिवेशन बनेको छ। २७ पुस २०८२ मा गगन थापा नेतृत्वको समूहले विशेष महाधिवेशन सम्पन्न गरी आफ्नै नेतृत्वमा नयाँ केन्द्रीय कार्यसमिति गठन गर्‍यो। तर, नियमित १५औँ महाधिवेशनको पक्षमा रहेका नेता-कार्यकर्ता त्यस प्रक्रियामा सहभागी भएनन्। त्यसयता कांग्रेस औपचारिक रूपमा एउटै दल रहे पनि व्यवहारमा समानान्तर शक्तिकेन्द्रमा विभाजित छ।

विशेष महाधिवेशनबाट बनेको नेतृत्वले असहमत पक्षलाई समेट्नभन्दा आफ्नै संरचना सुदृढ गर्न प्राथमिकता दिएको आरोप लाग्दै आएको छ। नियमित महाधिवेशनको वकालत गर्ने समूहले पनि आफूलाई पार्टीको वैधानिक धार ठान्दै समानान्तर गतिविधि अघि बढाइरहेको छ। परिणामतः एउटै झन्डामुनि दुई फरक राजनीतिक लय विकास भएका छन्।

कांग्रेस इतिहासमा विशेष महाधिवेशन दुई पटक मात्रै भएका छन्। पहिलो विशेष महाधिवेशन १० जेठ २०१४ मा विराटनगरमा भएको थियो। त्यतिबेला र अहिलेको सन्दर्भ फरक छ। त्यसबेला राजा महेन्द्रले निर्वाचन गर्न आलटाल गरेको परिस्थितिमा सुवर्णशमशेर राणालाई हतियार बनाउँदै बीपीले दबाब छेडेका थिए। छैटौँ महाधिवेशन ९ देखि १३ माघ २०१२ मा वीरगन्जमा हुँदा कोइरालाले सुवर्णशमशेरलाई अघि सारेर सभापति बनाएका थिए।

बीपी कोइराला र सुवर्ण शमशेर।

तर, सुवर्णलाई सभापति बनाए पनि महेन्द्र चुनाव गराउन तयार भएनन्, गलेनन्। यसपछि सुवर्ण-बीपीले रणनीति बदले। सुवर्णले मातृकाप्रसाद कोइरालाको नेपाल प्रज्ञा पार्टीलाई कांग्रेसमा मिसाए। एकताबद्ध पार्टीको नेतृत्व बीपीले गर्नुपर्ने भन्दै सुवर्णले सभापति पदबाट राजीनामा दिए।

सुवर्णले आफू सभापति निर्वाचित भएको एक वर्षपछि १४ मंसिर २०१३ मा पुरानो कार्यसमिति र संसदीय बोर्ड भंग गरेका थिए। ३ पुस २०१३ मा शीर्ष नेताहरूलाई कार्यसमितिमा नराखी दोस्रो पुस्ताका नेताहरू समावेश गरेर केन्द्रीय कार्यसमिति गठन गरे। ८ चैत २०१३ मा जिल्ला सभापति र सचिवहरूको दुई दिने सम्मेलन गराए। अन्त्यमा सुवर्णले विराटनगरमा विशेष महाधिवेशन गर्ने प्रस्ताव पारित गरे। यसपछि १० जेठ २०१४ मा विशेष महाधिवेशन विराटनगरमा सुरु भएको थियो। उक्त विशेष महाधिवेशनबाट बीपी कोइराला सभापति भए।

यसपछि कांग्रेसले चुनाव गराउन आलटाल गर्ने तत्कालीन राजा महेन्द्रको रणनीतिविरुद्ध दुई महिना लामो अवज्ञा आन्दोलन छेड्यो। जसमा अन्य दलहरू पनि सहभागी भएपछि महेन्द्रले संसदीय चुनावको घोषणा गरे। ७ फागुन २०१५ बाट सुरु भएको ४५ दिन लामो निर्वाचनबाट नेपाली कांग्रेसले दुईतिहाइ बहुमत ल्याएको थियो।

जनमतले चाबुक दिएपछि थापाले प्राविधिक रूपमा हार स्विकारे तर नैतिकताको कसीमा आफूलाई उभ्याउन सकेनन्। पार्टी नेतृत्वबाट राजीनामा दिएको घोषणा गरे। केन्द्रीय समितिले अनुमोदन गरेन भन्दै घुमाउरो शैलीमा सभापतिको कुर्सीमै फर्किए।

लेखक एवम् कांग्रेससम्बन्धी अध्येता जगत नेपाल बीपी-सुवर्णशमशेरको पालाको र अहिलेको कांग्रेसको तुलनै गर्न नसकिने बताउँछन्। भन्छन्, “त्यतिबेला प्रजातन्त्र र नैतिकताको कुरा थियो। अहिले शक्ति र स्वार्थको लडाइँ छ, जुँगाको लडाइँ छ।” नेपालका अनुसार जेन-जी विद्रोहपछिको भूराजनीतिले पनि पार्टीहरूको आन्तरिक जीवन बिथोलेको छ। “पहिले पनि नेपालका राजनीतिक दलबारे अन्तर्राष्ट्रिय शक्तिहरूले चासो राखे पनि अहिले जस्तो थिएन। अहिले भारतीय-अमेरिकीहरूको चासो बढी छ,” उनी भन्छन्।

अहिले संस्थापन र इतर कांग्रेस केका लागि काम गरिरहेका छन् भन्ने विषय नै अन्योल रहेको उनी बताउँछन्। “बूढाहरूले के गर्ने, युवाहरूको भनिएको कांग्रेस प्रोपागान्डा र प्रचारबाजीमा छ, अहिलेको कांग्रेस मनी र मसलको छ,” उनी भन्छन्, “अन्तत: जे-जसरी सञ्चालन भए पनि कांग्रेसमा रहेका समूहसँग बीपी देखाउने बाहेक राजनीतिक पुँजी छैन, बीपी जत्तिको कांग्रेसमा अरू कोही भएन, त्यसैले सबैले सम्झिन्छन् ।”

२३ र २४ भदौमा नेपालमा जेन-जी विद्रोह भयो। विद्रोहपछि पुरानो पार्टी नेतृत्व असफल भएको भन्दै पार्टी महामन्त्री रहेका गगन थापाले विशेष महाधिवेशनको हस्ताक्षर अभियान चलाए। एक समूहलाई लिएर उनले विशेष महाधिवेशन सम्पन्न गराए। विशेष महाधिवेशनलाई निर्वाचन आयोगले मान्यता दियो।

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा सम्बोधन गर्न २८ असोज २०८२ मा सानेपास्थित मुख्यालय पुगेका तत्कालीन सभापति शेरबहादुर देउवा र उनकी श्रीमती आरजु राणा। तस्बिर : नेपालन्युज

विशेषबाट निर्वाचित नयाँ कांग्रेस तात्तातै २१ फागुनको प्रतिनिधिसभा निर्वाचनमा होमियो। थापाले आफ्नै हस्ताक्षरमा नयाँ-पुराना सबै नेतालाई टिकट बाँडे। तर, थापा नेतृत्वको कांग्रेसले पुरानो कांग्रेसले अघिल्लो पटक ल्याएको जनमतको आधा पनि जनमत ल्याएन। विशेष महाधिवेशनबाट निर्वाचित सभापतिसहित पार्टीका कुनै पदाधिकारीले चुनाव जितेनन्।

देउवा कांग्रेसले २०७९ सालमा ८९ सिट ल्याएको थियो। २०८२ सालमा गगन कांग्रेस ३८ सिटमा समेटियो। यति नराम्रोसँग चुनाव हार्नुको दोषी थापा रहेको आरोप देउवा समूहले लगाउँदै आएको छ। नेता भीमसेनदास प्रधान भन्छन्, “जित्नेहरूलाई पनि गगनजीले टिकट दिनुभएन। उहाँहरू एक जना पदाधिकारीले पनि चुनाव जित्नुभएन। काठमाडौँ-तराई दुवै ध्वस्त भयो।” थापाले चुनाव जितिरहेका निवर्तमान सभापति शेरबहादुर देउवा, गणेशमान सिंहपुत्र प्रकाशमान, बीपीपुत्र शशांक कोइरालालाई टिकट दिएका थिएनन्।

जनमतले चाबुक दिएपछि थापाले प्राविधिक रूपमा हार स्विकारे तर नैतिकताको कसीमा आफूलाई उभ्याउन सकेनन्। पार्टी नेतृत्वबाट राजीनामा दिएको घोषणा गरे। केन्द्रीय समितिले अनुमोदन गरेन भन्दै घुमाउरो शैलीमा सभापतिको कुर्सीमै फर्किए। पार्टीको हारपछि गम्भीर समीक्षा, पार्टी एकतातर्फ उनले चालेका कदम प्रभावकारी बन्न सकेका छैनन्। उनी १५औँ नियमित महाधिवेशनबाट आफ्नो नेतृत्व कसरी स्थापित गराउने सोचमा सीमित छन्।

१५ मंसिर २०८२ मा बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठक। तस्बिर : नेपाल फोटो लाइब्रेरी

महामन्त्री घिमिरे १५औँ नियमित महाधिवेशनमा यही नेतृत्वको निरन्तरताका लागि चुनौती सामना गर्न पछाडि नहट्ने बताउँछन्। “चुनौतीका बीचबाट आएको नेतृत्व हो। चुनौती सामना गर्न पछि हट्दैन। चुनौतीको बीचमा नेतृत्व विकास हुने कुरा परिपक्व कुरा पनि हो। कुनै हिचकिचाहट छैन।”

विश्लेषक आचार्यका भनाइमा विशेष महाधिवेशन पक्षधरले बीपीलाई सम्झिँदैनन्। बीपीको इतिहास अहिलेको कांग्रेसका युवाहरूलाई थाहै छैन। “कुन परिवेशमा बीपीले के गरे भन्ने अहिलेका युवा कांग्रेसलाई थाहै छैन। हामी नै हो नि भन्ने भावना पालेको युवाहरूमा देखिन्छ,” आचार्य भन्छन्।

राष्ट्रिय राजनीतिमा प्रभावहीन

विशेष महाधिवेशन सम्पन्न भएको केही महिनामै नेपाली कांग्रेसको सम्पूर्ण ध्यान १५औँ नियमित महाधिवेशनतर्फ केन्द्रित भएको छ। अहिले पार्टीभित्रको सबैभन्दा ठूलो अजेन्डा क्रियाशील सदस्यता अद्यावधिक, नवीकरण र वितरण बनेको छ तर यही प्रक्रियामै विवाद कायमै छ।

१५औँ महाधिवेशन असोजभित्र गर्ने तयारी कांग्रेसको छ। त्यसैको तयारीस्वरूप कांग्रेस आफ्नो सदस्यता अद्यावधिक, नयाँ वितरण र नवीकरणमा केन्द्रित भएको छ। २ जेठबाट प्रारम्भ गरिएको सदस्यता भने ३ साउनसम्म सम्पन्न भएको छ। ३ साउनको समयसीमा चार पटक म्याद थप्दै निर्धारण गरिएको थियो।

यो समय बितिसकेपछि पनि सदस्यता अद्यावधिक, वितवरण र नवीकरणको स्थिति के छ कांग्रेसले यथार्थ विवरण सार्वजनिक गर्न सकेको छैन। कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलाल भन्छन्, “अद्यावधिकको काम केन्द्रबाटै भइरहेको छ, क्रियाशील सदस्यता नवीकरण र नयाँ वितरणको काम जिल्ला जिल्लामा भइरहेको छ। ६ भदौमा बीपी स्मृति दिवसको कार्यक्रम समापन भएपछि विवरण सार्वजनिक गर्छौं।”

१८ पुस २०८२ को नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्का र महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा। तस्बिर : नेपाल फोटो लाइब्रेरी

संस्थापनले ६ साउनको समय भने पनि सदस्यता अद्यावधिकको मुख्य विवाद नै टुंगो लागेको छैन। देउवा-कोइराला दुवै समूह अद्यावधिकमा सहभागी छैनन्। सहभागी नभएका समूहसँग कुराकानी गर्ने भनिए पनि क्रमश: ढिलाइ हुँदा इतर पक्ष नयाँ पार्टी गठनकै प्रक्रिया थाल्ने निष्कर्षमा पुगिसकेको छ। एकताको अन्तिम प्रयास भन्दै देउवा समूहले ३ साउनमा पाँचबुँदे प्रस्ताव सार्वजनिक गरेको छ।

पाँच बुँदामध्ये पहिलोमा १४औँ महाधिवेशन कार्यसमितिका पदाधिकारी, सदस्यहरूलाई विशेष महाधिवेशनको कार्यसमितिसँगै मिलाएर केन्द्रीय कार्यसमितिलाई पूर्णता दिनुपर्ने प्रस्ताव छ। दोस्रो बुँदामा सभापति गगन थापाको बहुमत रहने गरी कार्यसम्पादन समिति निर्माण, तेस्रो बुँदामा पुनर्गठित केन्द्रीय कार्यसमितिको पहिलो बैठकले १५औँ महाधिवेशनको कार्यतालिका सार्वजनिक गर्नुपर्ने प्रस्ताव छ।

अर्थतन्त्रको सुस्तता, सुकुम्बासी समस्या, युवाको आत्मदाह प्रकरण, सरकारका विवादास्पद क्रियाकलापलगायत राष्ट्रिय अजेन्डामा कांग्रेस प्रभावकारी प्रतिपक्षको भूमिका निर्वाह गर्न असफल देखिएको छ।

यस्तै, वर्तमान संस्थापन पक्षको बहुमत रहने गरी महाधिवेशनसँग सम्बन्धित विभिन्न समिति बनाउनुपर्ने चौथो प्रस्ताव छ। पाँचौँ बुँदामा महाधिवेशनका लागि पार्टीको महत्त्वपूर्ण आधार क्रियाशील सदस्यता भएकाले पार्टीभित्र विवाद हुनुपहिले नै थापा संयोजक रहेको समितिले टुंग्याएका सबै क्रियाशील सदस्य स्वत: १५औँ महाधिवेशनमा सहभागी हुन पाउने व्यवस्था गर्नुपर्ने उल्लेख छ। त्यस्ता सदस्यको डिजिटल इन्ट्री गर्दै जाने र डिजिटल इन्ट्रीलाई पुन: नवीकरण भनी महाधिवेशनमा भाग लिन नपाउने विषयसँग जोड्न नहुने देउवा समूहको प्रस्ताव छ। नेता मीनबहादुर विश्वकर्मा भन्छन्, “हामी अन्तिम समयसम्म एकताकै प्रयासमा छौँ, एकताका लागि केही दिन र लिन दुवै तयार छौँ। त्यसो नभए नयाँ पार्टी गठन अन्तिम विकल्प हो।”

यी पाँचमध्ये पहिलो बुँदा नै संस्थापन पक्षले अस्वीकार गरेको छ। महामन्त्री घिमिरे पार्टीको विधानले पहिलो बुँदाको प्रस्ताव अस्वीकार गर्ने र उक्त बुँदा कार्यान्वयन गर्न विधान संशोधन गर्नुपर्ने बताउँछन्। “विधान संशोधन गर्न कि महासमिति बैठक कि महाधिवेशन नै बोलाउनुपर्छ। पाँच बुँदामध्ये अन्य बुँदामा छलफल गर्न सकिन्छ,” उनी भन्छन्।

ललितपुरको सानेपामा अवस्थित नेपाली कांग्रेसको पार्टी मुख्यालय।

उनका अनुसार नेतृत्वले इतर समूहको कुरा नसुन्ने दृष्टिकोण राखेको छैन। विभिन्न चरण र तहमा संवाद भएको तर  ठोस निष्कर्ष निस्किन नसकेको  घिमिरे बताउँछन्। “हामी प्रयासरत छौँ,” उनी भन्छन्। महामन्त्री घिमिरे निवर्तमान उपसभापति पूर्णबहादुर खड्कासहितका वरिष्ठ नेताहरूलाई भेटेर कुरा गरेको बताउँछन्। “वार्ताको घोषणा गर्नलाई अर्को दल होइन। एउटै पार्टी हो, वार्ता समिति गठन गर्नुपर्दैन। पार्टी परिवारका सदस्यहरूको बीचको कुरा हो। पार्टी मिल्छ, मलाई आत्मविश्वास छ,” घिमिरे भन्छन्।

इतिहासमा एउटै नाम भए पनि २०१४ सालको विशेष महाधिवेशनले पार्टीलाई बाह्य चुनौतीसँग जुध्न एकताबद्ध बनाएको थियो। २०८२ सालको विशेष महाधिवेशनले कांग्रेसभित्रै नयाँ ध्रुवीकरण र समानान्तर नेतृत्वको अवस्था सिर्जना गरेको छ। “संगठित रूप लिइसकेको छैन, भावनात्मक रूपमा कांग्रेस विभाजित छ। प्राविधिक रूपले विभाजित छैन। तर, त्यस पक्षमा लम्किरहेको छ,” विश्लेषक आचार्य भन्छन्, “यो एक दुई वर्षदेखि सुरु भएको प्रक्रिया हो। नेपालमा ठूलो कांग्रेसको जिम्मेवारी थेग्न सक्ने नेतृत्व भएन। नदीले पानी थेग्न नसकेपछि भँगालो फुटेर निस्किन्छ।”

कांग्रेस आन्तरिक शक्ति संघर्षमै अल्झिँदा राष्ट्रिय मुद्दामा उसको उपस्थिति क्रमशः कमजोर बन्दै गएको छ। विशेष महाधिवेशनबाट उकालो लागेका थापाको प्रभाव अहिले ओरालो लागेको छ। विपक्षमा रहँदा संसद् र सडक दुवैमा प्रखर देखिने सभापति थापा स्वयं प्रतिनिधिसभाबाहिर छन्। अर्थतन्त्रको सुस्तता, सुकुम्बासी समस्या, युवाको आत्मदाह प्रकरण, सरकारका विवादास्पद क्रियाकलापलगायत राष्ट्रिय अजेन्डामा कांग्रेस प्रभावकारी प्रतिपक्षको भूमिका निर्वाह गर्न असफल देखिएको छ। विश्लेषक आचार्य आज देशका प्राथमिकता र राष्ट्रिय अजेन्डा के हुन्, भोलि संगठनमा आउनेलाई ताजगी दिने नैतिकता कांग्रेस नेतृत्वमा नभएको टिप्पणी गर्छन्। “यो राजनीतिक पार्टीभन्दा कानुनी पार्टी धेर भयो,” उनी भन्छन्।