काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल तयारी पोसाक उद्योग संघका पदाधिकारीहरूसँग आज छलफल गर्ने भएका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहान ११ः३० बजे सुरु हुने उक्त भेटमा संघका अध्यक्ष पशुपतिदेव पाण्डे, प्रथम उपाध्यक्ष वसन्तराज अधिकारी, महासचिव भीमकुमारी गिरी, प्रमुख कार्यकारी अधिकृत सुयश खनाल तथा प्राविधिक सल्लाहकार प्रकाशकुमार झा सहभागी हुँदै छन् ।
त्यस अवसरमा तयारी पोसाक उद्योगको वर्तमान अवस्था, भोगिरहेका समस्या, उत्पादन तथा निर्यात प्रवर्द्धन, रोजगारी सृजना र उद्योग क्षेत्रको विकासका विषयमा केन्द्रित भई छलफल हुने प्रधानमन्त्री शाहका प्रेस तथा अनुसन्धानविज्ञ दीपा दाहालले जानकारी दिए।
प्रधानमन्त्री शाहले पछिल्ला दिनमा उद्योगी–व्यवसायी तथा सरोकारवाला निकायसँग निरन्तर संवाद गर्दै आएका छन्। त्यस अवसरमा उनीहरूले आफूहरूले भोगिरहेका समस्या, समाधानका उपाय तथा नीतिगत सुधारका विषयमा सुझाव प्रस्तुत गरेका छन्।
छलफलपछि प्रधानमन्त्री शाहले निजी क्षेत्रले उठाएका कतिपय विषयवस्तु र समस्या समाधानका लागि तत्काल पहल गर्न सम्बन्धित निकायलाई आवश्यक निर्देशन दिँदै आएका छन्।