रसुवा। बाढीले क्षतिग्रस्त भएपछि भन्सार महशुल नतिरिएका ११ वटा विद्युतीय सवारी रसुवा टिमुरे भन्सारमा बेवारिसे बनेका छन्।
२०८२ असार २४ मा ल्हेन्दे खोलामा आएको बाढीमा पुरिएका ८ करोड ८६ लाख ९० हजार रुपैयाँ बराबरका सवारी एक वर्षदेखि टिमुरेमै बेवारिसे छोडिएका हुन्।
क्षतिग्रस्त गाडी बिक्री नहुने भएपछि आयातकर्ता सिजी मोटर्सले यी सवारी लैजान चासो दिएको छैन। एक्सपेङ जी–६ ब्राण्डका १० वटा गाडीको बजार मूल्य ८ करोड ४९ लाख ९० हजार रुपैयाँ पर्छ।
आयातकर्ताले बजार मूल्यको करिब ४० प्रतिशत अर्थात् ३ करोड ३९ लाख रुपैयाँ भन्सार महशुल तिर्नुपर्ने रसुवा भन्सार कार्यालयका नायब सुब्बा चण्डीराज गेलालले बताए। ३७ लाख रुपैयाँ बराबरको एउटा इभी भ्यान पनि बेवारिसे छ।
उनकाअनुसार बीमा दाबी गर्नुपर्ने भएकाले बाढीको समयमा गाडी जस्तो अवस्थामा थिए त्यस्तै छोडिएको छ।आयातकर्ताले सरकारलाई लिलामीको अधिकार नदिएकाले आफूहरुले पनि व्यवस्थापन गर्न नसकेको गेलालले सुनाए। ‘आयातकर्ताले सरकारलाई प्राकृतिक प्रकोपले गर्दा यस्तो भएको भनेर पत्र लेखेपछि हामीले मेकानिकल इन्जिनियर ल्याएर मूल्यांकन गर्छौं। त्यसपछि लिलामीको प्रक्रियामा जान्छौँ। तर, त्यस्तो केही भएको छैन,’ उनले भने।
बाढीले कुल ७० करोड ५१ लख ६९ हजार रुपैयाँ बराबरको आयातित सवारी र मालवस्तुमा क्षति पुर्याएको थियो। ५६ वटा विद्युतीय र पेट्रोलियम सवारी बाढीमा बगेका थिए। ती गाडीको अनुमानित मूल्य ४७ करोड १२ लाख ८२ हजार रुपैयाँ छ। यसमा सबैभन्दा धेरै सीजी मोटर्सको ३३ करोड ३ लाख ६२ हजार रुपैयाँ बराबरका ४० वटा गाडी छन्। यसमध्ये २४ करोड ५३ लाख ७२ हजार रुपैयाँ बराबरको ३० वटा गाडी छन्।
८ करोड ४९ लाख ९० हजार मूल्य बराबरका १० वटा गाडी बाढीले पूर्ण रुपमा ध्वस्त भएका थिए। यस्तै स्काइवेल मोटर्सको ६ करोड ९९ लाख २० हजार रुपैयाँ बराबरको ८ वटा, स्पार्क प्रा.लिले आयात गरेको ४ करोड ४८ लाख रुपैयाँ बराबरको ५ वटा ट्रक र इभरग्रीन इनर्जी एण्ड इन्भेष्टमेन्ट प्रा.लिले आयोजना गरेको २ करोड २५ लाख रुपैयाँ बराबरको ३ वटा ट्रक बेपत्ता भएका थिए। यसबाहेक ३७ लाख मूल्य बराबरको विद्युतीय भ्यान क्षतिग्रस्त भेटिएको थियो। स्काइवेलबाहेक अरु सबै ब्राण्डका गाडीको बीमा थियो।
बाढीमा २८ करोड ६२ लाख २३ हजार रुपैयाँ बराबरको मालवाहक सवारी बगाएको थियो। त्यसमध्ये २४ करोड ४७ लाख ९० हजार रुपैयाँ बराबरको मालवस्तु र ४ करोड १९ लाख ३३ हजार रुपैयाँ बराबरको गाडीमा क्षति पुगेको थियो।
तस्बिरहरु : प्रकाशचन्द्र तिमिल्सेना/नेपाल फोटो लाइब्रेरी