काठमाडौँ
००:००:००
५ श्रावण २०८३, मंगलवार

५ श्रावण २०८३
डोनाल्ड ट्रम्प/ फाइल फोटो
अ+
अ-

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडाबाट आयात हुने केही वस्तुमा ५० प्रतिशतसम्म भन्सार शुल्क लगाउने घोषणा गरेका छन्। बीबीसीका अनुसार नयाँ भन्सार दर आगामी ३० दिनभित्र लागू हुने अपेक्षा गरिएको छ।

ट्रम्पले अमेरिकी गाडी, दुग्धजन्य पदार्थ र मदिराप्रति क्यानडाले अपनाएको व्यापार नीतिलाई ‘असमान’ भन्दै त्यसको जवाफस्वरूप नयाँ शुल्क लागू गरिएको बताएका छन्। यस निर्णयसँगै दुई देशबीचको व्यापारिक सम्बन्ध थप तनावपूर्ण बन्ने संकेत देखिएको छ।

नयाँ व्यवस्थाअन्तर्गत वाइन, हक्की स्टिक, सिमेन्टलगायतका विभिन्न क्यानडाली उत्पादनमा ५० प्रतिशतसम्म भन्सार लाग्नेछ। यद्यपि ऊर्जा, पोटास, महत्वपूर्ण खनिज र माछाजस्ता रणनीतिक सामग्रीलाई भने शुल्कबाट छुट दिइएको छ।

क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले अमेरिकी कदमको विरोध गर्दै व्यापार वार्तालाई आगामी केही साताभित्र तीव्र बनाउने बताएका छन्। उनले सामाजिक सञ्जाल एक्समार्फत अमेरिकाको निर्णयलाई ‘एकपक्षीय व्यापारिक कदम’को संज्ञा दिएका छन्।

कार्नीले अमेरिका–क्यानडा–मेक्सिको (USMCA) व्यापार सम्झौताको भावनाविपरीत अमेरिकाले नयाँ भन्सार दरहरू लागू गरेको आरोप लगाएका छन्। उनका अनुसार यस्ता कदमले क्यानडाको सार्वभौमसत्तामाथि समेत चुनौती खडा गरेको छ।

यसअघि नै अमेरिकाले क्यानडाबाट आयात हुने स्टिल, आल्मुनियम र तामामा १५ देखि ५० प्रतिशतसम्म भन्सार लगाउँदै आएको छ। त्यस्तै, क्यानडाली सफ्टवुड काठमा ३५ प्रतिशत र अमेरिकाबाहिर उत्पादन भएका सवारीसाधनका पार्टपुर्जामा २५ प्रतिशत कर कायम छ।

जवाफी कदमस्वरूप क्यानडाले पनि अमेरिकी स्टिल, आल्मुनियम र केही सवारीसाधनसम्बन्धी वस्तुमा २५ प्रतिशत भन्सार शुल्क लागू गरिसकेको छ।

यसअघि ट्रम्पले क्यानडाबाट आएको डढेलोको धुँवा अमेरिकी सहरसम्म पुगेको विषयलाई लिएर पनि थप भन्सार लगाउने चेतावनी दिएका थिए। तर सोमबार हस्ताक्षर गरिएको कार्यकारी आदेशमा भने डढेलो वा धुँवासम्बन्धी विषय समावेश गरिएको छैन।