४४औँ बीपी स्मृति दिवस
बीपी कोइरालालाई सम्झने र सम्मान गर्ने हो भने कांग्रेसका नेताहरूले पदभन्दा ठूलो राष्ट्र हो भन्ने मनन गर्नुपर्छ र हातेमालो गरेर अगाडि बढ्नुपर्छ।
बीपी कोइराला २०२५ सालमा जेलबाट छुटेपछि विराटनगर आउने हुनुभयो। उहाँलाई स्वागत गर्न हामी धरानबाट दुई ट्रक विद्यार्थीहरू विमानस्थल पुग्यौँ। उहाँसँग मेरो पहिलो भेट त्यहीँ भएको थियो। धरानमा फ्रेन्ड्स क्लब भन्ने संस्था थियो हाम्रो। त्यसका अध्यक्ष केदारनाथ श्रेष्ठले बीपीलाई धरानमा निम्त्याउनुभयो।
धरानको रत्नरोडमा नगेन्द्रप्रसाद रिजालको घर थियो। विष्णुकुटी भनेर चिनिने त्यही घरमा बीपी बास बस्नुभयो। हामी त्यहाँ ‘डेलिगेसन’ गयौँ। उहाँले हामीलाई सम्बोधन गर्नुभयो। हालखबर सुनाउनुभयो। बीपीलाई भेट्न कांग्रेसका नेता-कार्यकर्ताहरू लाइन लागेका थिए। बीपीकी आमा दिव्या कोइराला, नोना आमाहरू पनि आउनुभएको थियो।
जेलबाट बीपी छुटेपछिको पहिलो आमसभा धरानमै भयो। १ फागुन २०२५ मा धरानको पब्लिक हाइस्कुलमा बीपीले भाषण गर्नुभयो। बीपीले संक्रान्तिको दिन परिवर्तनको द्योतक भएको बताउनुभएको थियो।
त्यसपछि उहाँ उपचारका लागि काठमाडौँ जानुभयो। पछि दिल्ली जानुभयो। उपचार गराएर २०२७ सालमा मुम्बईबाट फर्कंदा उहाँलाई भव्य स्वागतको तयारी भयो, जोगबनीको रेलवे स्टेसनमा। त्यसबेला पनि धरानबाट हामी दुई वटा ट्रकमा भरिएर गएका थियौँ। पूर्वाञ्चलका सबै क्षेत्रबाट कांग्रेसीहरू भेला भएका थिए। बीपीले विराटनगरको हड्ताली हाटमा भाषण गर्नुभयो। त्यसपछि उहाँलाई खुला जिपमा राखेर अनि हामी चाहिँ हिँडेर ‘बीपी जिन्दावाद, प्रजातन्त्र अमर रहोस्’ नारा लगाउँदै दुईतीन किलोमिटर टाढाको विराटनगर सहिद मैदानसम्म पुग्यौँ। त्यहाँ भव्य आमसभा भयो। यसरी बीपीसँग भेट हुने क्रम बढ्दै गयो।
नेपालमा प्रजातन्त्र त आयो। बीपीले देखेको सपना त पूरा भयो, तर बीपीले भनेको राष्ट्रियताप्रतिको खतरा अहिले पनि विद्यमान छ।
१६ पुस २०३३ मा बीपी आठ वर्ष लामो भारत निर्वासन अन्त्य गरी राष्ट्रिय मेलमिलाप नीति लिएर नेपाल फर्कनुभयो। उहाँसँगै गणेशमान सिंह, शैलजा आचार्य, रामबाबु प्रसाईं, नीलाम्बर पन्थी, खुमबहादुर खड्का पनि जहाजमा आउनुभयो। उहाँ नेपाल आउने भएपछि नेपाली कांग्रेसले ‘बीपीको आह्वान’ भनेर देशवासीको नाममा अपिल छरेको थियो। पम्प्लेटमा राष्ट्रियता खतरामा छ भनेर लेखिएको थियो। त्यो अपिल धरानमा चाहिँ मसहित फ्रेन्ड्स क्लबका साथीहरूले बाँड्यौँ।
मेलमिलापको नीति लिएर नेपाल आउनुभएको बीपी पक्राउ पर्नुभयो। २०३४ सालमा सात वटा मुद्दा लाग्यो। उहाँ सुन्दरीजलमा बन्दी अवस्थामै हुनुहुन्थ्यो। जेलमा उहाँको अवस्था नाजुक बन्दै गएको भनेर डा. मिरेन्द्रराज पाण्डेले जाहेर गरेपछि दरबारले उपचारका लागि विदेश जान अनुमति दियो। त्यसपछि उहाँ अमेरिका जानुभयो। अमेरिकाबाट नेपाल फर्कने क्रममा भारतको पटनामा ठूलो सम्मेलन गर्नुभयो।
त्यस सम्मेलनमा सहभागी हुन धरानबाट साथीहरूसँग म पनि गएको थिएँ। हामीले पटनामा बीपीलाई स्वागत गर्यौँ। यो सन् १९७७ को कुरा हो। त्यही सम्मेलनमा बीपीले कृष्णप्रसाद भट्टराईलाई कार्यवाहक अध्यक्ष तोक्नुभयो। त्यसको तीन दिनपछि बीपी काठमाडौँ जानुहुने भयो। हामी पटनाबाट धरान फर्कियौँ र बीपीलाई स्वागत गर्न काठमाडौँ पुग्यौँ। काठमाडौँ विमानस्थलमा भिड थियो। चारैतिर प्रहरीको पहरा थियो। त्यतिबेला सीसी क्यामेरा थिएन तर प्रहरीहरूले त्यहाँ जाने हामी सबैको अनुहार देखिने गरी भिडिओ खिचेर राखे।

बीपी कोइरालासँग लेखक आचार्य (बायाँ)। तस्बिर सौजन्य : आचार्य
बहुदलीय व्यवस्था रोज्ने कि सुधारिएको पञ्चायती व्यवस्था भनेर २०३६ सालमा जनमतसंग्रह घोषणा भयो। त्यसको १० दिनअघि नै विद्यार्थी आन्दोलन भड्काएको भनेर धरानको छाताचोकबाट इन्द्रबहादुर थापा, मलगायतलाई पक्राउ गरेर विराटनगर जेलमा राखिएको थियो। जनमतसंग्रह घोषणा हुने अघिल्लो दिन हामी छुट्यौँ।
त्यसबेला बीपीले राजालाई भनेरै जनमतसंग्रह घोषणा गर्न लगाए भन्ने अड्कल सबैले काटे। जनमतसंग्रह हुने भएपछि बीपीले त्यसलाई उपयोग गर्नुपर्छ भन्ने नीति लिनुभयो। त्यसपछि बीपी देशव्यापी भ्रमणमा जानुभयो। वामपन्थी नेता मनमोहन अधिकारीले हामी बहुदलवादीको नेता भएर तपाईंले लड्नुपर्छ भनेर बीपीसामु प्रस्ताव राख्नुभयो। तर, बीपीले हामी बहुदलको माग गर्दै छौँ, सबै नेताले आआफ्नो मोर्चाबाट लड्नुपर्छ भन्नुभयो। त्यसपछि सबैले आफ्नो आफ्नो ढंगबाट प्रचार गरे।
राष्ट्रिय मेलमिलाप नीति
बीपीले प्रजातन्त्रका लागि लड्ने क्रममा आठ वर्ष निर्वासित जीवन बिताउनुभयो। त्यसबेला नेपालमा विमान अपहरण काण्ड भयो, सुनसरीको हरिपुर काण्ड भयो। उहाँविरुद्ध मुद्दा थिए। यस्तो अवस्थामा नेपाल जाऊँ कि नजाऊँ भनेर बिहारको पूर्णियामा भेला गर्नुभयो। त्यसबेला गणेशमान सिंहले ‘नेपाल नजानू, पक्रिन्छ’ भन्नुभएको थियो। तर, बीपीले ‘राष्ट्रियता खतरामा छ, त्यसैले कुनै हालतमा नेपाल जानुपर्छ’ भन्नुभयो।
राष्ट्रियताको सवालमा राजासँगै हुने तर प्रजातन्त्रको सवालमा राजासँग घुँडा नटेक्ने भनेर राष्ट्रिय मेलमिलाप नीति लिएर उहाँ नेपाल फर्किनुभयो। त्यसै क्रममा उहाँले राष्ट्रियताको विषयमा राजा र मेरो घाँटी जोडिएको छ भन्नुभएको थियो। जनमतसंग्रहको बेला राष्ट्रियताको प्रतीक राजा र प्रजातन्त्रको प्रतीक बीपी कोइराला भनेर प्रचार भयो।
बीपीले राष्ट्रिय मेलमिलाप नीति भनेर राजासँग मिल्ने मात्र कुरा गर्नुभएको थिएन। नेपालका अन्य राजनीतिक दलसँग पनि राष्ट्रियताको सवालमा मिल्ने उहाँको नीति थियो। कम्युनिस्टहरूसँग पनि मिलेरै जानुभयो।
कांग्रेसले अब आपसमा झगडा गरेर होइन, बीपीको विचार बुझेर सुध्रिनु आवश्यक छ। पदभन्दा ठूलो राष्ट्र हो भन्ने मनन गरेर अघि बढ्नुपर्छ।
बीपीले राष्ट्रियता खतरामा छ भनेर किन भन्नुभएको थियो भने, त्यस बेला भारतमा ‘इमर्जेन्सी’ लागु भयो। समाजवादी नेताहरूलाई धरपकड गरियो। भारतीय नेताहरू नेपाल आएको बेला पक्राउ परेका थिए। यसको असर नेपालमा पर्ने अनुमान गरेर उहाँले त्यसो भन्नुभएको थियो।
नेपालमा प्रजातन्त्र त आयो। बीपीले देखेको सपना त पूरा भयो, तर बीपीले भनेको राष्ट्रियताप्रतिको खतरा अहिले पनि विद्यमान छ। अहिले त घोषित रूपमै राष्ट्रियतामा खतरा आएको छ। जस्तो, काठमाडौँमा गत वर्षको जेन-जी आन्दोलनका क्रममा खुलमखुला रूपमै ‘टीओबी’ भनेर देखियो। पछि प्रधानमन्त्रीलाई तिब्बती धर्मगुरु दलाई लामाले बधाई पनि दिए।
त्यस्तै, एमसीसी, बीआरआईका कुरामा विवाद छन्। नेपाल चीनसँग नजिक हुन खोजे भारत तर्सिन्छ। यस्तो अवस्थामा बीपीले भनेको राष्ट्रिय मेलमिलाप नीति झनै सान्दर्भिक बनेको छ। यस अवस्थामा नेपाली कांग्रेसका नेताहरूले बीपीको राष्ट्रिय मेलमिलाप नीतिको खुब प्रचार गर्नुपर्ने हो तर आपसमै लडाइँ गरेर बसेका छन्। यो बेला त कांग्रेस एकजुट भएर सडकमा आउनुपर्छ। यो यो कारणले राष्ट्रियता खतरामा छ है भनेर जनतालाई बुझाउनुपर्छ। यसमा कांग्रेस पछि परेको छ।
बीपी आज भएका भए…
अहिले बीपी हुनुभएको भए राष्ट्रिय शक्तिलाई एक गरेर पहिले देश बचाउने अभियानमा लाग्नुहुन्थ्यो। नेपालको मात्र होइन, दक्षिण एसियाको राजनीतिमा उहाँको प्रभाव रहन्थ्यो। भारतीय जनता पार्टी (भाजपा)का नेता अटल बिहारी बाजपेयीले पनि बीपीलाई मानेका हुन्। त्यसबेलाका प्रधानमन्त्री चन्द्रशेखरले पनि बीपीलाई उत्तिकै मानेका थिए। त्यसकारण अहिले यहाँको राजनीतिक परिदृश्य नै अर्कै हुन्थ्यो।
बीपीका मित्रसमेत रहेका भारतीय लेखक तथा पत्रकार भोला चटर्जीले एकपटक बीपीलाई भेटेर सोधेछन्, ‘तपाईंले देशका लागि आफ्नो जीवनको यत्रो समय काम गर्नुभयो, आखिरी दिनमा नेपाली जनताले तपाईंलाई कसरी सम्झिने?’
अहिलेको सरकारले विपक्षी दलहरूलाई बोलाएर राष्ट्रियताको विषयमा बहस गर्नुपर्ने हो। तर, राष्ट्रियताको कुरा नगरेर संविधान संशोधनको काममा लागिरहेको छ। राष्ट्रियताको सवालमा सबै दललाई एकजुट बनाउनुपर्नेमा सरकारले दलहरूलाई खेलाउने काम गरिरहेको छ। दलहरूले पनि एकजुट भएर काम गर्न सकेका छैनन्। कांग्रेस त आफ्नै झगडामा रुमलिएको छ। अहिले कांग्रेसले यसरी रुमलिने अवस्था होइन। किनभने, कांग्रेसमा पदभन्दा ठूलो त्याग हो। राजाले दिएको प्रधानमन्त्री पद गणेशमानले लिनुभएन। अहिलेका कांग्रेसले त्यो कुरा बुझ्न सकेका छैनन्।
बीपीका मित्रसमेत रहेका भारतीय लेखक तथा पत्रकार भोला चटर्जीले एकपटक बीपीलाई भेटेर सोधेछन्, ‘तपाईंले देशका लागि आफ्नो जीवनको यत्रो समय काम गर्नुभयो, आखिरी दिनमा नेपाली जनताले तपाईंलाई कसरी सम्झिने?’
बीपीले भन्नुभयो, ‘मलाई नेपाली जनताले सम्झने हो भने मेरो नाममा कुनै स्मृति भवनहरू, मेरो नाममा कुनै स्मारकहरू केही पनि नराख्नू। मलाई सम्झने हो भने वृक्षरोपण गर्नु।’ यो कुरा चटर्जीको पुस्तक प्यालेस, पिपल एन्ड पोलिटिक्समा पनि उल्लेख छ।
कांग्रेसले अब आपसमा झगडा गरेर होइन, बीपीको विचार बुझेर सुध्रिनु आवश्यक छ। पदभन्दा ठूलो राष्ट्र हो भन्ने मनन गरेर अघि बढ्नुपर्छ। ठूला नेता भन्नेहरूले विशेष महाधिवेशनलाई मान्यता दिएर काम गर्नुपर्छ। सबै मिलेर कांग्रेसको नाममा काम गर्नुपर्छ। त्यसरी मात्र बीपी र उनको विचारप्रतिको साँचो सम्मान हुनेछ।
(पूर्वटाइम्स साप्ताहिकका सम्पादक तथा लेखक आचार्यसँग गोपाल दाहालले गरेको कुराकानीमा आधारित।)