काठमाडौँ ।अविरल वर्षा, पहिरो र बाढीको जोखिमका कारण देशका विभिन्न भागका प्रमुख राजमार्ग तथा सडकखण्ड प्रभावित भएका छन्।
नेपाल प्रहरीले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार काभ्रेपलाञ्चोक र सिन्धुली जोड्ने बिपी राजमार्गको खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी खण्डमा सम्भावित बाढीको जोखिमलाई दृष्टिगत गर्दै अर्को सूचना नभएसम्म बेलुका ६ः०० बजेदेखि बिहान ४ः०० बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ।
मकवानपुरको कान्तिलोकपथमा पनि वर्षाका कारण अर्को सूचना जारी नभएसम्म बेलुका ५ः०० बजेदेखि बिहान ५ः०० बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ।
इलाम नगरपालिका–९ राजदुवालीस्थित मेची राजमार्गमा वर्षाका कारण सडक हिलाम्मे भएपछि उक्त सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ।
सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ जिरोकिलो र गाउँपालिका–२ कोदारीस्थित अरनिको राजमार्गमा पहिरोले सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।
बागलुङको जैमिनी नगरपालिका–८ बेलबगरस्थित कालीगण्डकी करिडोर पनि पहिरोले पूर्ण रूपमा अवरुद्ध भएको छ। पाँचथरको मिक्लाजुङ गाउँपालिका–४ कोप्चेस्थित राँके–रवि–भेडेटार सडक पनि अवरुद्ध भएको छ। गोरखाको धार्चे गाउँपालिका–७ लिदिङस्थित आरुघाट–माछिखोला सडक पनि अवरुद्ध भएको छ।
यसैगरी, ललितपुरको बागमती गाउँपालिका–३ पाङ्दुरस्थित कान्तिलोकपथमा आज बिहान सुक्खा पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ।