काठमाडौँ
००:००:००
६ श्रावण २०८३, बुधबार

राजनीति

संस्थापनसँग सहमतिको सम्भावना कम हुँदै गएको संकेतस्वरूप देउवा-शेखर समूहले बोलायो २९ साउनमा राष्ट्रिय भेला

६ श्रावण २०८३
६ साउनमा नेपाल प्रज्ञा–प्रतिष्ठानमा आयोजित कांग्रेस इतर पक्षको भेला। तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी
अ+
अ-

नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता शेखर कोइराला पक्षले २९ साउनमा राष्ट्रिय भेला बोलाउने भएको छ। सभापति गगन थापा नेतृत्वको संस्थापन पक्षसँग सहमतिको सम्भावना क्षीण भएको निष्कर्ष निकाल्दै दुवै समूहले राष्ट्रिय भेलामार्फत नयाँ राजनीतिक कार्यदिशा तय गर्ने तयारी गरेका हुन्। नेताहरूका अनुसार भेलाले अलग पार्टी गठनसम्मको बाटो खोल्न सक्छ।

बीपी कोइरालाको ४४औँ स्मृति दिवसका अवसरमा बुधबार नेपाल प्रज्ञा-प्रतिष्ठानमा आयोजित सभाबाट पूर्वमहामन्त्री प्रकाशमान सिंहले राष्ट्रिय भेलाको घोषणा गरेका हुन्। “२९ साउनमा राष्ट्रिय भेला बोलाइएको जानकारी गराउँछौँ,” उनी भन्छन्, “भेलाको कार्यतालिका पछि सार्वजनिक गरिनेछ।”

उनका अनुसार भेलामा महाधिवेशन प्रतिनिधि, जिल्ला, क्षेत्र, प्रदेशसभा क्षेत्र र वडा तहका सभापतिलाई बोलाइनेछ।

प्रकाशमान सिंह।

देउवा समूहले आयोजना गरेको कार्यक्रममा कोइराला समूह पनि सहभागी भएको थियो। मञ्चमै रहेका शेखर कोइरालाले नयाँ पार्टी गठनबारे भने स्पष्ट धारणा राखेनन्। पूर्वउपसभापति विमलेन्द्र निधिले भने राष्ट्रिय भेलाले समूहको नयाँ कार्यदिशा तय गर्ने बताए।

“अब सहमतिको सम्भावना निकै कम छ,” उनले भने, “हामीले पठाएको पाँचबुँदे प्रस्ताव एकताको आधार बन्नुपर्थ्यो, तर त्यो सम्भावना टर्दै गएको छ।”

एउटै दिन, दुई कार्यक्रम

कांग्रेस संस्थापन पक्षले बीपी स्मृति दिवस पार्टी केन्द्रीय कार्यालय सानेपामा मनायो। पार्टीले ‘ग्रिन रन’ आयोजना गर्‍यो भने देउवा-कोइराला समूहले प्रज्ञा प्रतिष्ठानमा छुट्टै कार्यक्रम गरेको हो। संस्थापक नेताको स्मृति दिवससमेत अलग अलग मनाइँदा पार्टीभित्रको विभाजन थप स्पष्ट देखिएको छ।

कांग्रेस सभापति गगन थापा। तस्बिर : थापाको सचिवालय

निवर्तमान उपसभापति पूर्णबहादुर खड्का सभापति थापा सहमतिका लागि तयार नभएको आरोप लगाउँछन्।

“१४औँ महाधिवेशनबाट निर्वाचित समिति समायोजन गरौँ भन्ने हाम्रो प्रस्ताव थियो। पछि विशेष महाधिवेशनबाट निर्वाचित समितिभित्र सकेसम्म सबैलाई समेटौँ भन्यौँ तर सभापतिले मान्नुभएन।” पार्टी एकताका लागि अझै पहल हुनुपर्ने उल्लेख गर्दै उनी भन्छन्, “हामी अझै पनि जोड्नुस् भन्छौँ। जोडिएन भने निष्क्रिय बस्दैनौँ।”

सदस्यता अद्यावधिक बन्द

राष्ट्रिय भेलाको घोषणा भएकै दिन कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक प्रक्रिया बन्द गरेको छ।

पार्टीले सुरुमा ३ साउनसम्म समय दिएको थियो। पछि समयसीमा ६ साउनसम्म थपिएको थियो।

कांग्रेसका पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्का।

कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलाल बुधबारदेखि अद्यावधिक रोकिएको बताउँछन्।

“अब अद्यावधिक हुँदैन,” उनी भन्छन्, “यसमा थप निर्णय गर्नुपरे केन्द्रीय समितिले गर्छ।”

कांग्रेसले २ जेठदेखि क्रियाशील सदस्यता अद्यावधिक, नवीकरण र वितरण सुरु गरेको थियो। असोजभित्र १५औँ महाधिवेशन गर्ने तयारीअनुसार प्रक्रिया चार पटकसम्म लम्ब्याइएको थियो।

तर, देउवा-कोइराला समूह प्रक्रियामा सहभागी भएन।

विशेष महाधिवेशनबाट संशोधित विधानअनुसार कम्तीमा एक पटक सदस्यता अद्यावधिक अनिवार्य छ। अद्यावधिक नगर्ने व्यक्तिको सदस्यता कायम नहुने व्यवस्था छ। त्यसअनुसार अद्यावधिकमा सहभागी नभएका नेता-कार्यकर्ताको सदस्यताबारे प्रश्न उठेको छ।

६ साउनसम्म अद्यावधिक भएका सदस्यको विवरण बिहीबार सार्वजनिक गरिने दुलाल बताउँछन्। “राष्ट्रिय सभागृहमा विचार गोष्ठी छ,” उनी भन्छन्, “त्यहीँ वा कार्यक्रमपछि विवरण सार्वजनिक गर्छौं।”

यद्यपि, संस्थापन पक्षले अद्यावधिक प्रक्रियामा आउन चाहनेका लागि कुनै राजनीतिक निकास खोज्दै १५औँ महाधिवेशनको प्रक्रिया अघि बढाउने रणनीति बनाएको छ।

देउवा-कोइराला पक्षले विशेष महाधिवेशन र १४औँ महाधिवेशनबाट निर्वाचित संरचनाबीच समायोजन हुनुपर्ने माग राख्दै आएको छ। उसले अन्य समितिमा पनि आफ्नो प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने र १५औँ महाधिवेशन निष्पक्ष बनाउन राजनीतिक संयन्त्र गठन गर्नुपर्ने माग गरेको छ। तर, संस्थापन पक्षले ती माग पूरा गर्न नसकिने संकेत दिएको नेताहरू बताउँछन्।

बीपीका छोरा र भतिजा एउटै मञ्चमा

बीपी स्मृति दिवसकै अवसरमा राष्ट्रिय भेला बोलाएर नयाँ पार्टी गठनको संकल्प गर्दा संस्थापक बीपीका कान्छा छोरा शशांक र भतिजा शेखर कोइराला सभागृहमै थिए। शशांक १४औँ महाधिवेशनदेखि देउवा समूहसँग नजिक छन्। आफूलाई मध्यमार्गी बताउँदै आएका शेखर पनि यसपटक देउवा समूहको कार्यक्रममा सहभागी भए। प्रकाशमान सिंहले राष्ट्रिय भेलाको मिति घोषणा गर्दा दुवै जना मञ्चमै थिए।

शेखर कोइराला र शशांक कोइराला।

शेखरले नयाँ पार्टी गठनबारे नबोली उनले बीपीको राष्ट्रिय मेलमिलापको नीति स्मरण गर्दै अहिले बृहत्तर एकताको आवश्यकता रहेको बताए। “२०३३ सालमा बीपी भारत निर्वासनबाट फर्किंदा नेपालको राष्ट्रियता जुन अवस्थामा थियो, अहिले त्यसको सयौँ गुणा खराब अवस्था छ,” उनले भने, “राष्ट्रियता र लोकतन्त्र बचाउन सबै राजनीतिक शक्तिसँग मिलेर काम गर्नुपर्छ।”

कांग्रेस कमजोर हुँदा राष्ट्रियता र लोकतन्त्र पनि कमजोर हुने उनले दाबी गरे। “देश अराजकतातिर गएको छ, निरंकुशता र हुकुमी शासन बढेको छ,” उनी भने। पार्टीभित्र पनि निरंकुशता बढेको आरोप लगाउँदै विभाजन भए त्यसको जिम्मेवारी सभापति थापाले लिनुपर्ने उनले बताए। कार्यक्रममा शशांकले आफू रहुन्जेल पार्टीमा बीपीको विचार मर्न नदिने बताए।

वैचारिक बहस सुरु

कार्यक्रममा शेखर कोइराला, पूर्णबहादुर खड्का र विमलेन्द्र निधिले सभापति थापाको वैचारिक दिशाबारे पनि प्रश्न उठाएका छन्।

विशेष महाधिवेशनमा थापाले नयाँ कांग्रेसको आगामी सिद्धान्त ‘सामाजिक लोकतन्त्र’ हुने बताएका थिए। संस्थापनइतर नेताहरूले भने कांग्रेसको मूल विचार ‘प्रजातान्त्रिक समाजवाद’ नै भएको तर्क गरे।

“यसलाई नेपाली कांग्रेस २.० भनिएको छ,” शेखरले भने, “हामीले अँगालेको सिद्धान्त बीपीले प्रतिपादन गरेको प्रजातान्त्रिक समाजवाद हो। उहाँले सामाजिक लोकतन्त्र भन्नुभएको छ। के उहाँले प्रजातान्त्रिक समाजवाद थाती राख्नुभएको हो?”

तस्बिर : खिलानाथ ढकाल

थापाले छाडे पनि आफूहरूले प्रजातान्त्रिक समाजवाद नछाड्ने उनले बताए। खड्काको पनि नेतृत्व बीपीको सिद्धान्तबाट टाढिएको आरोप छ। “देश अहिले २०३३ सालको भन्दा सयौँ गुणा कमजोर छ,” उनले भने, “यस्तो बेला बीपीको मेलमिलाप नीति झन् आवश्यक छ। संवाद, सहमति र एकताबाट मात्र राष्ट्रियता बचाउन सकिन्छ।” विशेष महाधिवेशनबाट बनेको शक्ति मात्र पर्याप्त नहुने उल्लेख गर्दै उनले ठूलो पार्टी पंक्तिलाई बाहिर राखेर सभापति थापा सफल नहुने बताए।

निधिले प्रजातान्त्रिक समाजवादबाट सामाजिक लोकतन्त्रतर्फ जानु अग्रगमन नभई पश्चगमन भएको दाबी गरे। “कांग्रेसले प्रजातान्त्रिक समाजवाद ग्रहण गरेको छ,” उनले भने, “गगनजीले सामाजिक लोकतन्त्र भन्नुभएको छ, जुन अग्रगमन होइन।”

कार्यक्रममा कृष्णप्रसाद सिटौला, विजयकुमार गच्छदार, प्रकाशशरण महत, एनपी साउद, भीमसेनदास प्रधान, रमेश लेखक, मोहनबहादुर बस्नेत र मीनबहादुर विकलगायत नेता सहभागी थिए। पार्टी एकताको पहल सभापति थापाले गर्नुपर्ने अधिकतर वक्ताको मत थियो।

नेता खड्का र सिटौलाले अब युवालाई नेतृत्वमा अघि सार्ने बताए। “भेला बस्छ र कार्यदिशा तय गर्छ। गगनजी साहसी बन्नुस्, तर कपटी नबन्नुस्। एक्लै हिँड्दा ठक्कर खानुहोला, उठाउने अन्तिममा हामी नै हौँ,” विगतमा आफूले अघि सारेका केही युवा बाटो बिराएको उल्लेख गर्दै सिटौलाले भने “अब पनि युवालाई नै अघि बढाउने हो, तर बाटो बिराउनेलाई होइन।”