काठमाडौँ। गोरखाको चुमनुब्री गाउँपालिका ४, प्रोक छाकगाउँकी २९ वर्षीया पेमा खाण्डो लामाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ।
सुत्केरीपछिको स्वास्थ्य अवस्था सिकिस्त बनेपछि हेलिकोप्टरमार्फत उनलाई उद्धार गरी काठमाडौँ ल्याइएको हो।
गर्भावस्थाको २८औँ सातामै शिशु जन्मिएपछि जटिल स्वास्थ्य समस्या देखिएपछि दुर्गम क्षेत्रमा आवश्यक विशेषज्ञ स्वास्थ्य सेवा तत्काल उपलब्ध हुन नसकेकाले महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत सञ्चालित राष्ट्रपति महिला उत्थान कार्यक्रममार्फत उनको हवाई उद्धार गरिएको हो।
मन्त्रालयको समन्वयमा हेलिकोप्टरमार्फत उद्धार गरिएकी लामालाई थप उपचारका लागि काठमाडौँस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल थापाथलीमा भर्ना गरिएको छ।
दुर्गम क्षेत्रमा जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाको जीवनरक्षा तथा सुरक्षित मातृत्व सुनिश्चित गर्न मन्त्रालयले राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत निःशुल्क हवाई उद्धार सेवा सञ्चालन गर्दै आएको छ।