बातचित

हामीसँग बालसाहित्य र बालगीतको ठूलो भण्डार त छ तर त्यसलाई प्रत्येक बालपाठकको हात हातमा पुर्‍याउन अझै ठूलो कसरत गर्न बाँकी छ।

९ श्रावण २०८३
लेखक रामबाबु सुवेदी। सबै तस्बिर : लेखक सुवेदीको फेसबुकबाट
अ+
अ-

बालसाहित्य र बालगीतमा गाउँले जीवन र परिवेशलाई निरन्तर अभिव्यक्त गर्दै आएका रामबाबु सुवेदी नेपाली साहित्यका सुपरिचित स्रष्टा हुन्। ‘मेरो गाउँ ज्यामिरे, जमुनीको छोरो म’ जस्तो पुस्तौँदेखि गुन्जिइरहेको लोकप्रिय बालगीतका स्रष्टा सुवेदी उमेरले आठ दशक पार गरिसक्दा समेत नयाँ नयाँ सिर्जनामा सक्रिय छन्। उनी अझै नयाँ गीतको रेकर्डिङ, भिडियो सम्पादन र सार्वजनिकीकरणमा व्यस्त छन्।

गत महिना मात्र सुवेदीका केही नयाँ गीत सार्वजनिक भए, जसमध्ये एउटाले विश्वकपको प्रसंग समेटेको थियो। जीवनभर नेपाली विषयका शिक्षक रहेका सुवेदीले यस अन्तर्वार्तामा राजपरिवारका सदस्यलाई समेत पढाएको रोचक अनुभव सुनाएका छन्। प्रस्तुत छ, बालसाहित्यकार सुवेदीसँग गिरिश सुवेदीले गरेको बातचित :

तपाईंलाई बालसाहित्य सिर्जनामा कस्ता विषयवस्तुले बढी आकर्षित गर्छन्? 

म प्रायजसो गाउँका लोकगीत, लोकभाका र लोकसंस्कृतिबाट गहिरोसँग प्रभावित छु। गाउँघरमा बोलिने जनभाषा, गाउँले थेगो, र विशेषगरी गाउँका बालबालिकाले बोल्ने मौलिक शब्दलाई म एकप्रकारले टपक्क टिप्छु र तिनलाई आफ्ना रचनामार्फत अभिव्यक्ति दिने गर्छु।

शिक्षकका रूपमा लामो समय काम गर्दा तपाईंले बालमनोविज्ञानलाई कसरी नियाल्नुभयो?

मैले बूढानीलकण्ठ स्कुलमा लामो समय शिक्षकका रूपमा बिताएँ। त्यस क्रममा बच्चाहरूको मनोविज्ञानलाई नजिकबाट बुझ्ने प्रयास गरेँ। बालकले कस्तो शब्द, कस्तो भाव, कस्तो संगीत वा गीत मन पराउँछ भन्ने कुरा बुझ्नु नै बालमनोविज्ञान हो। पृष्ठभूमिअनुसार बालबालिकाहरूको मनोविज्ञान फरक फरक हुन्छ। पहाडमा पढ्ने विद्यार्थीको मनोविज्ञानमा त्यहाँको भूगोलको प्रभाव हुन्छ। तराईमा बस्ने बालबालिकाको मनोविज्ञान त्यहीँको भूगोलअनुसार फरक पाइन्छ। गरिबी वा अभावबाट आएका बालबालिकाको र सम्पन्न परिवारबाट आएकाहरूको मनोविज्ञान पनि फरक हुन्छ। उदाहरणका लागि, तत्कालीन राजपरिवारमा हुर्किएका पूर्वयुवराज दीपेन्द्रको बाल्यावस्थाको मनोविज्ञान बेग्लै हुन्थ्यो भने साधारण परिवारबाट आएकाहरूको बेग्लै। म यिनै बालमनोविज्ञानका विविध पाटालाई बुझेर बालसाहित्य र बालगीत लेख्ने प्रयत्न गर्छु।

लेखक रामबाबु सुवेदी।

तपाईंका कृतिहरू कुन उमेर समूहका बालबालिकाका निम्ति बढी उपयोगी छन्?

म अहिले कक्षा १ भन्दा तलका पूर्वप्राथमिक तहका साना बच्चाहरूका लागि पनि लेख्ने प्रयत्न गरिरहेको छु। उनीहरूलाई क, ख, ग वा १, २, ३, ४ कसरी रमाइलोसँग सिकाउने भन्नेमा मेरो ध्यान छ। जस्तै, मेरो एउटा गीत छ– ‘आइतबार बिहानै घामसित उठेँ म’। यो गीत पूर्वप्राथमिक कक्षाका साना बच्चाका लागि धेरै प्रयोग गरिन्छ। यसमा सुन्दर लय छ, जुन लयसँगै बच्चाहरूले गाउँदागाउँदै हप्ताका सात बारका नाम सजिलै जान्दछन्।

अहिलेसम्म मेरा गीतहरू समेटिएका सयभन्दा बढी भिडियो बाहिर आइसकेका छन्। ती भिडियोको प्रयोग र प्रतिक्रिया हेर्दा मेरा रचनाले विशेषगरी ३-४ कक्षादेखि माथि ७-८ कक्षासम्मका बालबालिकालाई बढी आकर्षित गरेको पाएको छु। ९-१० वा ११-१२ कक्षाका अलि ठूला विद्यार्थीले अचेल बालगीत कमै पढ्ने वा सुन्ने गर्छन्। एकदमै साना नानीहरूका लागि लेख्न म अझै प्रयत्नशील छु, तर यो बीचको उमेर समूहका लागि लेखिएका गीतहरू जति प्रिय छन्, त्यति सफलता एकदमै सानाका लागि पाउन अझै बाँकी छ।

कस्ता कस्ता विद्यार्थीलाई पढाउने अवसर पाउनुभयो?

जीवनको लगभग ३५-३६ वर्ष शिक्षण पेसामै बिताएँ। पोखरा कास्कीको हंसपुरस्थित आफ्नै गाउँको रामकोट स्कुलबाट पढाउन सुरु गरेँ। त्यसपछि लमजुङमा पढाएँ, फर्पिङ बोर्डिङ स्कुलमा २०३० देखि २०३६ सालसम्म अध्यापन गरेँ। त्यसपछि २०३६ सालदेखि बूढानीलकण्ठ स्कुलमा निरन्तर २८ वर्ष पढाएँ। यसबीचमा मैले दुई वर्ष बेलायतको इटन कलेजमा गएर तत्कालीन राजकुमारहरू दीपेन्द्र र निराजनलाई नेपाली भाषा पढाउने अवसरसमेत पाएँ।

अक्सर मानिसहरू वा शिक्षकहरू के ठान्नुहुन्छ भने, हामीले बच्चालाई पढाइरहेका छौँ। तर, वास्तवमा त्यसो होइन, हामीले पनि उनीहरूबाट धेरै कुरा सिकिरहेका हुन्छौँ।

‘आफूसित आफै दंग’ गीतको सफलतापछि आयोजना भएको कार्यक्रममा लेखक सुवेदी (दायाँ)।

मैले बूढानीलकण्ठ स्कुलमा पढाउँदा एउटा प्रयोग गरेको थिएँ– आफूले लेखेका १० वटा बालगीत कक्षा ५ का तीनवटै सेक्सनका विद्यार्थीहरूमाझ सुनाएँ र उनीहरूलाई ती गीत मूल्यांकन गरेर नम्बर दिन लगाएँ। उनीहरूले सबैभन्दा बढी नम्बर दिएको गीत थियो– ‘मेरो गाउँ ज्यामिरे जमुनीको छोरो म’। यो गीत नेपालका बालबालिकामाझ निकै चर्चित छ। त्यस्तै, ‘आइतबार बिहानै घामसित उठेँ म’ जस्ता गीत पनि उनीहरूकै रोजाइका कारण बजारमा लोकप्रिय छन्।

उत्कृष्ट शैक्षिक वातावरण भएको बूढानीलकण्ठ र इटन कलेज जस्ता संस्थामा पढाउँदा मैले बालमनोविज्ञानलाई कसरी समात्ने र कसरी सिकाउने भन्ने कुरा अझै प्रस्टसँग सिक्ने मौका पाएँ।

तपाईंका बालगीत युट्युबमा निकै लोकप्रिय छन्। कस्ता प्रतिक्रिया पाइरहनुभएको छ?

युट्युबमा मेरा गीतका १०० वटाभन्दा बढी भिडियो छन्। तीमध्ये कतिपयमा असाधारण ‘भ्युज’ छ। जस्तै, आइतबार बिहानै गीतले त एक अर्बभन्दा बढी भ्युज नाघिसकेको छ।

यस माध्यमबाट मलाई डिजिटल संसारमा धेरै आमाहरूले प्रतिक्रिया पठाउनुहुन्छ। मेरो अनुभवमा, मेसेन्जर वा अन्य माध्यममा बुबाहरूभन्दा आमाहरूले बच्चाहरूको तर्फबाट बढी चासो र माया देखाउनुहुन्छ। यो गीत साह्रै राम्रो लाग्यो भन्दै सन्देश पठाउनुहुन्छ।

लेखक सुवेदी।

कतिपय आमाले त मेरो छोरी ५ कक्षामा पढ्छे, तपाईंलाई भेट्न खोज्दै छे, म कहिले आऊँ भनी सोध्नुहुन्छ, र भेट्न पनि आउनुहुन्छ। म पनि ती साना नानीलाई आफूले लेखेका पुस्तक उपहार दिन्छु। बच्चाहरूको अनुहारमा त्यो खुसी देख्दा असाध्यै आनन्द लाग्छ। गीतले बालबालिकामा कस्तो सकारात्मक प्रभाव पारेको छ भन्ने कुरा यी आमाहरूका प्रतिक्रियाबाटै प्रस्ट हुन्छ। यो क्रम र नयाँ भिडियो बनाउने मेरो यात्रा अझै पनि निरन्तर चलिरहेको छ। 

तपाईंका केही कृति अंग्रेजी र अन्य भाषामा पनि अनुवाद भएका छन्। नेपाली बालबालिकाले विदेशी बालसाहित्य बुझ्न र त्यसमा आनन्द लिन कत्तिको जरुरी छ? 

मेरा केही पुस्तक अंग्रेजीमा र केही हिब्रु भाषामा पनि अनुवाद भएका छन्। पूर्वराष्ट्रपति अरब क्षेत्रको भ्रमणमा जाँदा त्यहाँ बालसाहित्यका पुस्तक पठाउने प्रतिबद्धता जनाउनुभएको रहेछ। सोहीअनुरूप हामीले मेरा तीनचार वटा नेपाली बालपुस्तक हिब्रु भाषामा अनुवाद गरेर पठाएका थियौँ। आफ्नो साहित्यलाई विश्वमञ्चमा पुर्‍याउने यो राम्रो अवसर थियो।

जहाँसम्म नेपाली परिवेशको बालसाहित्यको कुरा छ, नेपालमा जब ‘रुम टु रिड’ संस्था आयो, त्यसले नेपाली बालसाहित्यको ढाँचा र मुद्रणमा आमूल परिवर्तन ल्यायो। बालबालिकाका पुस्तकहरू गुणस्तरीय कागजमा, सुन्दर रंगीन चित्र र राम्रो ढाँचामा आउनुपर्छ भन्ने संस्कृति यसैले स्थापित गर्‍यो।

लेखक सुवेदी।

अहिले प्रकाशकहरूले निकै राम्रा पुस्तकहरू छापिरहनुभएको छ र नेपालमा बालसाहित्यको अभाव पनि छैन। तर, समस्या कहाँ छ भने, ती पुस्तकको उचित प्रयोग र पहुँच अझै हुन सकेको छैन।

नेपालमा बालसाहित्यमा अझै पर्याप्त काम हुन नसकेको टिप्पणी सुनिन्छ। यसमा तपाईंको धारणा के हो?

हाम्रा बच्चालाई जबसम्म आफ्नै देश, कला, संस्कृति, भाषा, रहनसहन र आमाबुबाको परिवेशबारे सिकाइँदैन, उनीहरूको जग बलियो हुँदैन। बालबालिकालाई सिकाउने सबभन्दा प्रभावकारी माध्यम भनेको गीत र संगीत हो, जसले उनीहरूको मनलाई सिधै छुन्छ।

विडम्बना, यस्ता महत्त्वपूर्ण बालसाहित्य र बालगीतहरू नेपालका हुम्ला र जुम्ला जस्ता विकट जिल्ला, पहाडी भेग र मधेसका भित्री गल्लीहरूमा अझै पुग्न सकेका छैनन्। पोखरा, विराटनगर वा काठमाडौँ जस्ता सुगम ठाउँमा त केही पहुँच छ तर दूरदराजका बालबालिका यसबाट अझै वञ्चित छन्।

हाम्रो शिक्षा प्रणाली र अभिभावकहरूमा अझै पनि पाठ्यपुस्तक पढेपछि पुग्यो भन्ने संकुचित सोच छ। विद्यालयहरूमा राम्रा पुस्तकालय छैनन्, न त दूरदराजमा पुस्तक नै पुग्छन्। पाठ्यपुस्तक घोकेर मात्र बालबालिकाको मानसिक र शारीरिक विकास पूर्ण हुन सक्दैन। हामीसँग बालसाहित्य र बालगीतको ठूलो भण्डार त छ तर त्यसलाई प्रत्येक बालपाठकको हात हातमा पुर्‍याउन अझै ठूलो कसरत गर्न बाँकी छ।