वीरगन्ज। प्रहरीले लागुऔषधसहित दुई जनालाई नियन्त्रणमा लिएको छ।
पर्साको वीरगन्ज महानगरपालिका १६‚ रजतजयन्ती चोकस्थित जय नेपाल होटेलमा लागुऔषध बिक्री-वितरण भइरहेको सूचनाको आधारमा प्रहरीले उनीहरूलाई आइतबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता चक्रबहादुर मल्लले जानकारी दिए।
जिल्ला प्रहरी कार्यालय मातहत प्रहरी चौकी इनर्वा र लागुऔषध नियन्त्रण ब्युरो पर्साबाट खटिएको संयुक्त प्रहरी टोलीले उक्त होटेलमा तलासी गर्दा लागुऔषध फेला परेको प्रवक्ता मल्लले बताए। औषधि बिक्री-वितरण कार्यमा संलग्न चितवनस्थित रत्ननगर नगरपालिका ६ का ५२ वर्षीय उत्तमकुमार पाठक र वीरगन्ज महानगरपालिका २ का ३५ वर्षीय ओसिम ठाकुरलाई लागुऔषधसहित नियन्त्रणमा लिई थप अनुसन्धान कार्य अघि बढाइएको प्रहरीले जनाएको छ।