विराटनगर। जिल्ला प्रशासन कार्यालय सुनसरीमा बसेको सर्वदलीय बैठकले सबैलाई सामाजिक सद्भाव कायम राख्न आह्वान गर्ने निर्णय गरेको छ।
प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेको अध्यक्षतामा सोमबार बसेको बैठकमा देवानगन्ज गाउँपालिका ३‚ कप्तानगन्जमा भएको घटनाका सम्बन्धमा प्रभावित क्षेत्रमा शान्ति सुरक्षा कायम गर्न सबैले आआफ्नो तहबाट प्रभावकारी प्रयास गर्ने निर्णय भएको सहायक प्रमुख जिल्ला अधिकारी पोषण लामिछानेले जानकारी दिए।
अहिले देवानगन्ज, घुस्की, कप्तानगन्ज, भुटहा र हरिनगरा बजार क्षेत्रमा स्थानीय प्रशासनले बिहान ७ बजेदेखि निषेधज्ञा जारी गरेको छ।
सहायक प्रमुख जिल्ला अधिकारी लामिछानेले घटना प्रभावित क्षेत्रमा कुनै पनि अप्रिय घटना हुन नदिन प्रशासनले आवश्यक सुरक्षा समयन्त्र परिचालन गरेको र हाल त्यहाँको जनजीवन सामान्य बन्दै गएको बताए।
कप्तानगन्जमा गएराति दुई समूहबीचको विवाद सिर्जनापछि भएको झडपको घटनामा गोली लागेर घाइते भएका २४ वर्षीय ओमप्रकाश मेहताको उपचारको क्रममा निधन भएको थियो।
बैठकमा जिल्लास्थितका प्रमुख राजनीतिक दलका प्रतिनिधि, सुरक्षा निकायका प्रमुख तथा सरोकारवालाको सहभागिता थियो।
यो पनि…
कप्तानगन्ज घटना : शान्तिपूर्ण वार्ताबाटै समाधान खोज्न आयोगको अपिल