काठमाडौँ। नेपाली कांग्रेसका नेता गोपालमान श्रेष्ठको निधन भएको छ।
ललितपुरको जावलाखेलमा रहेको हेलिअस अस्पतालमा श्रेष्ठको निधन भएको कांग्रेस प्रवक्ता देवराज चालिसेले जानकारी दिए।
अस्पतालले पनि केही समयअघि मात्र मृत्यु भएको घोषणा गरेको हो।
८३ वर्षीय श्रेष्ठ केही दिनयता उक्त अस्पतालमा उपचाररत थिए। पूर्वकार्यवाहक सभापतिसमेत रहेका श्रेष्ठलाई नेपाली कांग्रेसले ७ साउनमा वरिष्ठ नेताका रूपमा मनोनित गरेको थियो। श्रेष्ठ २७ पुस २०८२ मा भएको विशेष महाधिवेशनमा सहभागी थिए।
उनी प्याङक्रियाजको क्यान्सरबाट पीडित थिए। गत वर्ष श्रेष्ठको दिल्लीस्थित एपोलो अस्पतालमा उपचार भएको थियो।
श्रेष्ठको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि बुधबार (भोलि) बिहान सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालय राखिने भएको छ। त्यसपछि शवयात्रासहित पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने जनाइएको छ।