काठमाडौँ
००:००:००
१२ श्रावण २०८३, मंगलवार

१२ श्रावण २०८३
अ+
अ-

सुनसरी। जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लाका अति संवेदनशील मानिएका क्षेत्रहरूमा अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको छ।

प्रमुख जिल्ला अधिकारी ईश्वरी प्रसाद अर्यालद्वारा हस्ताक्षरित सूचना अनुसार आज दिउँसो ३:३० बजेदेखि लागू हुने गरी अर्को सूचना जारी नभएसम्मका लागि कर्फ्यू लगाइएको हो।

स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम सुनसरी जिल्लाभित्र पर्ने महेन्द्र राजमार्गका तोकिएका चार किल्ला तथा इनरुवा बजार क्षेत्रको सिमानाभित्र कर्फ्यू आदेश जारी गरिएको प्रशासनले जनाएको छ।

सूचनाअनुसार पूर्वमा पकली चोक, पश्चिममा कोसी ब्यारेजको पुल र उत्तर र दक्षिणमा महेन्द्र राजमार्गदेखि २०० मिटरसम्मको क्षेत्रमा कर्फ्यू लागू हुनेछ।

कर्फ्यू जारी गरिएको अवधिभर तोकिएका क्षेत्रमा कसैले पनि आवतजावत गर्न पाउने छैनन्। साथै, कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक वा घेराउ गर्न पूर्ण रूपमा प्रतिबन्ध लगाइएको जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ।

प्रशासनले सर्वसाधारण सबैलाई यो आदेशको पूर्ण पालना गर्न र शान्ति सुरक्षा कायम राख्न सहयोग गर्न अपिल गरेको छ।