काठमाडौँ
००:००:००
९ असार २०८३, मंगलवार

सात सवाल

२१ चैत्र २०८२
तस्बिर स्रोत : भूपिनको फेसबुक
अ+
अ-

भूपिन कविता, निबन्ध र आख्यानमार्फत प्रकृति प्रेम, मानवीय संवेदना र सामाजिक समस्या उठान गर्ने सर्जक हुन्। उनका हजार वर्षको निद्रा, क्षतिग्रस्त पृथ्वी र मूल सडक, सुपलाको हवाईजहाज कविता कृतिहरू सार्वजनिक छन्। चौबीस रिल मध्यको उज्यालो निबन्धसंग्रह प्रकाशित गरेका भूपिन मैदारो उपन्यासका लेखक हुन्।

मानवेतर जगत्‌लाई केन्द्रमा राखी पर्यावरण संरक्षणको उद्देश्यसहित लेखिने पर्या-साहित्यमा समेत उनी सक्रिय छन्। पर्या-साहित्यबारे नेपालन्युजका प्रभाकर गौतमले उनीसँग गरेको संवाद :

पर्या-साहित्य भनेको के हो र नेपालमा यो कहिले सुरु भयो?

मानिसलाई मात्र केन्द्रमा राखेर लेखिएको साहित्यबाट माथि उठेर प्रकृतिलाई वा मानवेतर जगत्‌लाई केन्द्रमा राखेर साहित्य लेखिनुपर्छ भन्ने नवीन अवधारणा नै पर्यासाहित्य हो। पर्यावरण संरक्षण नै पर्यासाहित्यको मूल केन्द्र हो।

सन् १९६२ मा प्रकाशित रचेल कार्सनको साइलेन्ट स्प्रिङबाट सुरु भएको मानिने पर्यासाहित्यको प्रथम घोषणा नेपालमा २०५५ सालमा स्थापित संरक्षण कविता आन्दोलन (पोखरा)ले गरेको हो। मेरो अध्ययनले यही भन्छ। यद्यपि, पहिले लेखिएका स्वच्छन्दतावादी कवितामा पनि पर्यासाहित्यका कैयन् इलिमेन्ट्स अस्तित्वमा थिए।

प्रकृति नै पात्र हुने पर्या-साहित्यप्रति किन आकर्षित हुनुभयो?

बाल्यकालदेखि नै प्रकृतिप्रेमी थिएँ। शिक्षाको दर्शन पढ्दा रुसोको प्रकृतिवादबाट बढी नै प्रभावित भएँ। त्यही समयमा पोखरामा अग्रज सरुभक्त दाइ र उहाँले संयोजन गरेको संरक्षण कविता आन्दोलनको संस्थापक भएर कविता कर्म गर्ने अवसर मिल्यो। पृथ्वी अस्वस्थ हुँदै जानुमा मानिसको के-कति भूमिका छ? किन छ? कसरी छ? यस्ता जिज्ञासाहरूले मलाई यस विषयको स्वाध्ययनतिर डोर्‍याए।

अन्य साहित्यमा नअटाएका तर पर्या-साहित्यमा आउने मुख्य विषय के हुन्?

प्रकृति र मानव सम्बन्ध, पर्यावरण संरक्षण, प्रदूषण, जैविक विविधता, जलवायु परिवर्तन, दिगो विकास, पारिस्थितिक प्रणालीमा सन्तुलन, वातावरणीय चेतना, पर्या-नारीवाद आदि धेरै विषयवस्तुहरू यसमा अटाउँछन्।

अन्य कला-साहित्यले मानवलाई सर्वेसर्वा ठान्छ। मानव र मानवका सारा जायज-नाजायज ‘न्यारेटिभ्स’ लाई पृथ्वी सञ्चालनको हतियार ठान्छ। सारा पृथ्वी मानिसको उपभोगका लागि बनेको हो भनिठान्नु यसको खास चरित्र हो। जबकि, पर्यासाहित्यले ‘वसुधैव कुटुम्बकम्’ लाई पछ्याउँछ। मानिसलाई अरू जनावर जस्तो प्रकृतिको एक सन्तान स्वीकार गर्छ।

नेपालमा पर्या-साहित्यसम्बन्धी केकस्ता गतिविधि भएका छन्?

पछिल्लो समय यसतर्फ कवि/लेखक र समालोचकहरूको रुचि र चासो बढेको पाएर खुसी लाग्छ। हालसालै पर्यासाहित्यमा समर्पित लेखक विजय हितानको अध्यक्षतामा नेपाली पर्यासाहित्य प्रतिष्ठान गठन भएको छ। डा. गोविन्दराज भट्टराई र विजय हितानको अग्रसरतामा पर्यासाहित्यको सैद्धान्तिक समालोचनासहित किताबहरू प्रकाशन भएका छन्। निबन्ध प्रतियोगिता सम्पन्न भएको छ।

चितवनमा भरतपुर महानगरपालिकाले ऐतिहासिक पर्या-कविता प्रतियोगिता आयोजना गर्‍यो, जसको संयोजन गर्ने अवसर पाएर हर्ष लाग्छ। कवि/लेखक गीता त्रिपाठी पर्यासाहित्यमै विद्यावारिधि सम्पन्न गरेर यस क्षेत्रमा निरन्तर लागिरहनुभएको छ। राष्ट्रिय कविता प्रतियोगितामा पर्या-कविताहरू भिड्न थालेका छन्।

बागमती प्रदेश सरकारको आयोजनामा आगामी २७ र २८ चैतमा जिरीमा ऐतिहासिक ‘कन्जर्भेसन लिटरेचर फेस्टिभल’ हुँदै छ। अरू साहित्य सम्मेलनहरूमा पनि एकदुई सेसन पर्यासाहित्यको नाममा छुट्टिन थालेका छन्। पर्यासाहित्यमा उल्लेख्य सक्रियता बढिरहेको छ।

प्रकृति, पर्यावरण, जीवजन्तु र मान्छेबीचको असन्तुलनमा पर्या-साहित्यले के योगदान दिन सक्छ?

कलाको काम प्रभावकारी रूपमा मानिसको मनमस्तिष्कमा संवेदनाको विकास गर्नु हो। संवेदनाले लगावलाई बलियो बनाउँछ। विज्ञानका महत्त्वपूर्ण तर आममानिसले बुझ्न गाह्रा विषयलाई पनि साहित्यले रसपूर्वक बुझाउँछ।

 तस्बिर स्रोत : भूपिनको फेसबुक

पछिल्लो समय पर्या-प्रणालीमा देखिएको गडबडी, हरित गृह प्रभाव, भूमण्डलीय तापमान वृद्धि, मौसम परिवर्तन, प्रदूषण, प्रकृति-मानव सम्बन्ध आदिका कारण स्वर्गजस्तो पृथ्वी बिस्तारै नर्क बन्दै गएको छ। वातावरणीय न्याय र दिगो विकास नै समृद्धिको ‘लिटमस’ हो। यस वास्तविकतालाई बेवास्ता गर्नु हानिकारक छ। यावत् विषयमा असन्तुलनकै कारण वा हुने सम्भावनाका कारण पर्यासाहित्यको जरुरी हुन्छ। सन्तुलन भइरहे त वातावरणविज्ञ र लेखकका दु:ख घट्ने थिए।

तपाईंको लेखनमा यस्ता असन्तुलनलाई कसरी ल्याउनुभएको छ?

साहित्य वा कला सिर्जना हो, विज्ञान होइन। सिर्जनाले मानिसको मनमस्तिष्क र चेतनालाई संवेदित पारिदिन्छ। विज्ञान ‘हाइपोथेसिस’, प्रयोग र तथ्य-तथ्यांकमा खेलेर सत्य खोज्ने बाटो हो। विज्ञानलाई मानव संवेदना वा भावुकतासँग मतलब हुन्न। तर, सिर्जनाले विज्ञानको सहयोग लिन्छ। झन् पर्यासाहित्यलाई वातावरण विज्ञान जस्तो ठान्नेहरू पनि छन्। म यही अर्थबोधबाट साहित्य लेख्ने कोसिस गर्छु।

पर्या-साहित्यले हामी बाँच्ने संसार वा पृथ्वीको कस्तो परिकल्पना गर्छ?

त्यस्तो पृथ्वी जो मानिसले मात्रै भोग गर्ने नभई सबैको साझा होस्। सहअस्तित्वको सम्मान गर्ने होस्। भावी सन्ततिले पनि यहाँ बाँच्ने वातावरण पाऊन्। हरेक आयाममा पृथ्वी स्वस्थ रहोस्। ऋतुचक्रहरू नियमित होऊन्, हिमालहरू काला पत्थरहरूमा रूपान्तरित नहोऊन्। सन्तुलित र दिगो पृथ्वीका लागि मानिस सचेत बनून्।