सात सवाल
‘जातको प्रश्न’, ‘कास्ट कन्भर्सेसन’ जस्ता टेलिभिजन कार्यक्रम निर्माण तथा निर्देशन गरेकी शान्ता नेपालीका डकुमेन्ट्री अन्तर्राष्ट्रिय फेस्टिभलमा छानिएका छन्। जलवायु परिवर्तनले आदिवासी समुदायमा पारेको असरका सम्बन्धमा उनले बनाएको ‘क्लाइम्बिङ टेम्पेरेचर’ डकुमेन्ट्री क्यानडाको ‘बान्फ माउन्टेन फिल्म फेस्टिभल– २०२२’ मा छनोट भएको थियो।
पत्रिका, रेडियो र टेलिभिजन हुँदै फिल्म क्षेत्रमा आइपुगेकी शान्ता महिला, दलित तथा सीमान्तीकृत समुदायका कथा संसारलाई सुनाउन चाहन्छिन्। ‘शान्ता फाउन्डेसन’ खोलेर सीमान्तीकृत समुदायका फिल्ममेकरलाई सहयोग गरिरहेकी शान्ताले महिलालाई प्रोत्साहन गर्न ‘वुमन इन फिल्म नेपाल’ सञ्चालन गरिरहेकी छन्। उनै फिल्ममेकर शान्तासँग नेपालन्युजका गोपाल दाहालले गरेको संवाद :
एकपछि अर्को डकुमेन्ट्री फिल्म आइरहेका छन्। पछिल्लो समय केमा व्यस्त हुनुहुन्छ?
अहिले आफ्नै प्रोडक्सन हाउस फाउन्डेसनको काम गरिरहेकी छु। त्यसबाहेक आफ्नै दुई वटा डकुमेन्ट्रीका काम भइरहेका छन्। ‘ह्वाट द ल्यान्ड रिमेम्बर्स’ डकुमेन्ट्री भर्खर सकियो, यसको पोस्टर सार्वजनिक गरेका छौँ। यो थारू समुदायको खाना र प्रकृतिसँग सम्बन्धित विषयमा केन्द्रित छ।
महिला, दलित र सीमान्तीकृतका विषय उठाइरहनुभएको छ। तपाईंको विचारमा फिल्म के हो?
मेरा लागि फिल्म आफ्नो कुरा भन्ने माध्यम हो। फिल्मबाट आफ्नो कुरा सजिलोसँग भन्न सक्छु जस्तो लाग्छ। आफ्नो वरिपरि जे देख्छु, जे भोग्छु त्यही कुरा फिल्ममा भन्ने हो। अझै भित्र गएर कथा भन्नुपर्दा सीमान्तीकृत समुदायका विषय आउँछन्; दलित र महिलाका कुरा आउँछन्।
कतिले मलाई दलित फिल्ममेकर, इन्डिजिनियस फिल्ममेकर, महिला फिल्ममेकर आदि भनेर चिनेको पाएकी छु, त्यस्तो होइन। वास्तवमा एउटा फिल्ममेकरका हिसाबले आफूलाई सहज लाग्ने फिल्म बनाउँछु।
यस वर्ष महिला निर्देशकका केही फिल्म प्रदर्शन भए, के यस क्षेत्रमा महिला सहभागिता बढेको हो?
पछिल्लो समय फिल्मको लेखन, निर्देशन र निर्माण क्षेत्रमा महिलाको सहभागिता बढेको छ। त्यसबाहेक प्राविधिक क्षेत्रमा पनि महिलाको सहभागिता बढेको देखिन्छ। अहिले डिजिटल स्पेसमा हाम्रो पहुँच छ; फिल्म स्कुल र कलेजसमेत खुलेका छन्। कलेजै नगए पनि इन्टरनेटमा हेरेर सिक्न सजिलो भएको छ। त्यस हिसाबले पनि महिला फिल्ममेकरको संख्या बढेको हो।
फिल्ममा महिलाका विषय कतिको उठान भएका छन्?
विषय आउन त आइरहेका छन्, तर त्यो कथा कसले भनिरहेका छन् भन्नेले अर्थ राख्छ।
महिलाका कुरा महिलाले नै मात्र भन्नुपर्छ भन्ने होइन, तर न्यारेटिभ कसरी विकास भइरहेछ भन्ने महत्त्वपूर्ण हो। पछिल्लो समयका फिल्म महिलाकेन्द्रित नै हुन्छन्, तर त्यसलाई कसरी लिने र कसले भन्ने भन्नेमा फरक छ।

महिलाका कथा कसरी भनिएका छन् त?
धेरैजसो पुरुषले नै महिलाका कथा भनिरहेका छन्। पुरुषले भन्नु हुँदैन भन्ने होइन, तर मैले भोगेको कुरा र अर्काले देखेको कुरामा मैले नै राम्रोसँग भन्न सक्छु होला नि!
त्यही कथा अरूले पनि भन्न सक्छन्, तर जसले कथा भनेको छ ऊ उक्त कथा भन्ने उपयुक्त पात्र हो कि होइन भन्ने सवाल प्रमुख हो। त्यस कथालाई कसले न्याय गर्न सक्छ, त्यो कथा अरूले भन्दा सम्बन्धित पात्रलाई कसरी सहभागी गराइन्छ भन्ने महत्त्वपूर्ण हुन्छ।
फिल्ममा महिलाको विषय उठानमा पहिले र अहिले के परिवर्तन आएको छ?
धेरै फरक छैन। महिलाका कथा पहिला पनि पुरुषले भनिरहेका थिए, अहिले पनि पुरुष नै बढी छन्। पहिले पुरुषले महिलाको कथालाई जुन रूपमा देख्थे, अहिले त्यसमा केही परिवर्तन आएको छ। न्यारेटिभलाई डिजाइन गर्ने तरिकामा खासै फरक छैन। केही मात्रामा सेन्सेटिभ फिल्ममेकर आउनुभएको छ। जस्तो– नवीन सुब्बा दाइ, दीपक रौनियार दाइहरूकै फिल्म हेर्दा पहिले र अहिले धेरै फरक देखिन्छ। उहाँहरू आफूलाई पनि अपडेट गर्ने क्रममा हुनुहुन्छ, तर कथामै पूरै परिवर्तन गर्ने काम भएको छैन। महिला, दलित र सीमान्तीकृतका धेरै कथा आएका छैनन्।
कस्तो कथा आउनुपर्छ र आउन बाँकी छ?
दलितका कथा अरू कसैले भनिरहेको छ, महिलाका कथा अरू कसैले भनिरहेको छ। जसको कथा हो उसलाई नै भन्न प्राथमिकता दिनुपर्ने हो, तर अहिले अरूले कथा भनिरहेका छन्। आदिवासी समुदायका कथा पछिल्लो समय उनीहरूबाटै बल्लबल्ल आइरहेका छन्। त्यसबाहेक सबैले अरूका कथा भनिरहेका छन्। त्यसरी वास्तविक कथा आउँदैन।
मैले यसो भन्दा कतिले तिम्रो कथा तिमीले मात्र भन्नुपर्ने, अरूले भन्न नपाउनु भनेर भनिसकेका छन्। र्याडिकल भयौ पनि भन्छन्, तर र्याडिकल बन्न खोजेको होइन। आर्ट हो भन्दैमा अरूको न्याय गर्न नसकिने कथा भन्न मिल्दैन।
हामीकहाँ यति धेरै विविधता छ, त्यसभित्रका कैयौँ कथा आउन बाँकी छ। जब उनीहरू आफैँ कथा भन्न सक्षम हुन्छन् अनि मात्र धेरै कथा बाहिर आउँछन्। यही कुरा रियलाइज्ड गरेर हामी काम गरिरहेका छौँ।