वाशिङटन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी सेनाले अन्तर्राष्ट्रिय जल क्षेत्रमा लागुऔषध लिएर आएको भेनेजुएलाको डुंगा ध्वस्त पारेको दाबी गरेका छन्।
यस आक्रमणमा कम्तीमा तीन जनाको मृत्यु भएको उनले जानकारी दिएका छन्। ट्रम्पले यो कदम ‘हिंस्रक लागुऔषध तस्करी गिरोह’विरुद्ध गरिएको बताएका छन्। तर डुंगामा लागुऔषध रहेको प्रमाण अहिलेसम्म सार्वजनिक गरिएको छैन।
उनले ट्रुथ सोसलमा करिब ३० सेकेन्ड लामो भिडिओ पोस्ट गरेका छन्, जसमा डुंगा विस्फोट भएर आगोमा जलिरहेको देखिन्छ।यसअघि भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोले अमेरिकाको आक्रमणको कडा जवाफ दिने चेतावनी दिएका थिए। उनले अमेरिकी विदेशमन्त्री मार्को रुबियोलाई ‘मृत्यु र युद्धका मालिक’को उपमा दिएका थिए।
दक्षिणी क्यारिबियनमा अमेरिकी युद्धपोतको तैनाथीपछि दुई देशबीच बढ्दो तनावका बीच आएको यो घटना, यसै अभियानका क्रममा गरिएको अर्को आक्रमणमा ११ जनाको मृत्यु भएको रिपोर्टसँग पनि जोडिएको छ।