काठमाडौँ
००:००:००
६ श्रावण २०८३, बुधबार

लेखन कला

भाषा बर्खाको भेल जस्तो तर्नै नसकिने कठिन र चढ्नै नसकिने अक्करे भिर जस्तो हुनुभएन। भाषालाई तपाईंले औँलाले बल नचाए जसरी नचाउन सक्नुपर्छ।

५ बैशाख २०८३
अ+
अ-

जून त घरको एउटै आँगनमा झरेको थियो, खै किन किन कोठा सबै उज्यालो हुनै सकेन।

मेरो पछिल्लो उपन्यास इजोरियाको यो ‘वानलाइनर’ धेरै पाठकले मन पराउनुुभयो, केहीले मेरै सामाजिक सञ्जालको इनबक्समा पनि पठाउनुभयो ।

सिनेमाको होस् वा आख्यानको, आफूलाई मन परेका संवाद मानिसले पछिसम्म सम्झिरहन्छ। त्यसैले लेख्ने क्रममा म संवादलाई विशेष प्राथमिकतामा राख्छु।

लेखकका रूपमा मात्रै होइन, पाठकका रूपमा पनि मलाई लाग्छ– संवादले कथालाई रोचक, आकर्षक र पठनीय बनाउँछ।

यसले कथालाई चुस्त बनाउने मात्रै होइन, पात्रहरूको चरित्र चित्रण पनि गर्छ। के बोल्छ, कति बोल्छ, कसरी बोल्छ भन्ने कुराले पात्रको व्यक्तित्व निर्माण हुन्छ। त्यसैले संवाद भनेको पात्रको प्रतिबिम्ब नै हो।

आख्यानमा एकोहोरो कथावाचन मात्र हुँदा गह्रुँगो हुन्छ, झिँजो र पट्यारलाग्दो हुन सक्छ। यस्तो बेला संवादले पाठकलाई राहत दिन्छ।

कथा कस्तो हो, के विषयमा लेखिएको हो भन्नेले पनि संवाद निर्धारण हुन्छ। कतिपय कथामा संवादको खासै आवश्यकता रहन्न।

पात्रले अब के बोल्ला भनेर सहजै अनुमानै गर्न नसकिने संवाद मलाई मन पर्छ। त्यसैले दैनिक जीवनमा बोलिरहने खालका भन्दा फरक, काव्यिक र पहेलीमा भनिएका संवाद मलाई ठिक लाग्छन्।

एउटा वा दुइटा मात्र पात्र राखेर सिर्जेका कथामा संवादभन्दा पनि आत्मालाप हाबी भइरहेको हुन सक्छ। कतिपय अवस्थामा पात्रका हाउभाउ र क्रियाकलापले नै कथालाई अगाडि बढाउनुपर्छ, न कि संवादले।

लेखनका क्रममा संवाद कति राख्ने, कहाँ राख्ने, कस्तो राख्ने भन्नेमा म विशेष चासो राख्छु। संवाद लेख्ने क्रममा रमाइलो पनि लाग्छ। सिनेमाको स्क्रिप्ट लेख्दा संवादको महत्त्व अझ धेरै हुन्छ।

पात्रले अब के बोल्ला भनेर सहजै अनुमानै गर्न नसकिने संवाद मलाई मन पर्छ। त्यसैले दैनिक जीवनमा बोलिरहने खालका भन्दा फरक, काव्यिक र पहेलीमा भनिएका संवाद मलाई ठिक लाग्छन्।

आख्यान लेख्नुअघि चाहिँ संवादबारे धेरै सोच्दिनँ, विशेष तयारी पनि गर्दिनँ। पुनर्लेखन गर्ने क्रममा चाहिँ कथाकै प्रवाहमा संवाद आओस् भन्ने कुरामा ध्यान दिन्छु। त्यसो गर्दा पात्रको भूगोल, उनीहरू बाँचेको कालखण्ड र मनोविज्ञानका आधारमा संवाद आफैँ बन्दै जान्छन्।

तपाईंको भाषामा मिठास छ भने संवाद पनि मीठो हुने हो। लेखनमा नै दम छैन भने त्यसबाट संवाद पनि अछुतो रहन सक्तैन।

जस्तै, लेखनमा तराईलाई उतार्ने हो भने अनुसन्धानका क्रममै पात्र र परिवेशबारे एकखालको मनस्थिति बनिसकेको हुन्छ। सय वर्षअघिको कथा लेख्ने हो भने त्यही बेलाको परिवेश र पात्रको धेरथोर ज्ञान पहिल्यै लिनुपर्छ। पात्र कस्तो संकट वा मनस्थितिबाट गुज्रिरहेको छ भन्ने कुरा लेखनअघि नै मनन गर्नुपर्ने हुन्छ।

संवाद निर्माणका क्रममा वास्तविक पात्रसित बसेर गरिने कुराकानीलाई नै म आफ्नो आख्यानको आधार मान्छु। उनीहरू कस्ता शब्दावली प्रयोग गर्छन्, दृष्टिकोण कस्तो छ, भावना कसरी अभिव्यक्त गर्छन्, क्रोध वा प्रेमलाई कसरी बुझ्छन्, के-कस्ता उखान, टुक्कालगायतको सहारा लिन्छन् आदिलाई मिहिन ढंगले बुझ्छु।

पात्रलाई बुझ्नु भनेको समाजलाई बुझ्नु पनि हो। दर्जनौँ पात्रसितको सहचर्य र सत्संगपश्चात् बल्ल एउटा सशक्त पात्र निर्माण हुने हो। लेख्दै गर्दा गफ गरिएका ती दर्जनौँ पात्रसितका कुराकानी सम्झिइन्छ। त्यही आधारले नयाँ दृष्टिकोण र विचारका रेखाहरू अघि बढाउन सहयोग मिल्छ। लेख्दा कतिपय अवस्थामा केही अपुग, अपुष्ट जस्तो लागे त्यसलाई पुनः स्थलगत भ्रमण गरेर थपथाप गरिन्छ।

हामीमध्ये धेरैको समस्या के छ भने, आख्यानमा पात्र जहाँबाट र जस्तो उठाए पनि त्यसमा आफैँ हाबी भइहाल्छौँ। लेखकको सबैभन्दा ठूलो चुनौती नै यही हो। पात्रअनुसार लेखक ढल्नैपर्छ। कति आख्यानमा बालबालिका हुन् या गाउँका अपठित पात्र, तिनलाई लेखकले ज्ञान, मनोविज्ञान र दर्शनका बोक्नै नसक्ने ठेली बोकाइदिएर कथाको विश्वसनीयतामाथि नै प्रश्नचिह्न खडा गर्ने ठाउँ दिन्छन्।

कथामा भावनाको भेलबाढी जबरजस्ती हुलिदिएर खालि पाठकलाई रुवाउनुपर्छ भन्ने प्रलोभन लेखकमा हुनु हुँदैन।

आख्यान लेखिरहँदा कतिपय दृश्य यस्ता आउँछन्, जहाँ लेखक भावुक हुन सक्छ, तर पात्र भावुक नहुन सक्छन्। आफू भावुक भए पनि पात्रलाई भावुक नबनाउन लेखक सक्तैन। यो अनियन्त्रणबाट बच्न सक्नुपर्छ भन्ने लाग्छ। कथामा भावनाको भेलबाढी जबरजस्ती हुलिदिएर खालि पाठकलाई रुवाउनुपर्छ भन्ने प्रलोभन लेखकमा हुनु हुँदैन। आख्यान लेखनको चरणमा पात्र र लेखक असंपृक्त रहेन भने कथाको मर्ममा ठेस लाग्छ। त्यसैले पात्रलाई बुझ्न उसको सम्पूर्ण पृष्ठभूमिको अध्ययन हुनुपर्छ।

एउटा पात्रलाई बुझ्न त्यस्तै दर्जनौँ पात्रसित उठबस गर्नुपर्छ, नजिकबाट चिन्नुपर्छ। आफूलाई पात्रमा धेरथोर समाहित गर्न सकिएन भने कथा स्वाभाविक नहुन सक्छ। तर, एकचोटि पात्रको नाडी छाम्न सकियो भने सिर्जनाको मूल नै फुट्छ।

अनुसन्धान पर्याप्त नहुँदा मलाई पनि लेख्ने बेला असहज हुन्छ। अध्ययन र अनुसन्धानको पर्याप्तताले लेखनका अफ्ठयारा विषयलाई पनि सहज बनाउँछ।

संवाद भनेको पनि मूलतः भाषा नै हो। समग्रमा तपाईंको भाषामा मिठास छ भने संवाद पनि मीठो हुने हो। लेखनमा नै दम छैन भने त्यसबाट संवाद पनि अछुतो रहन सक्तैन। त्यसैले यो सजिलो काम होइन।

भाषा बर्खाको भेल जस्तो तर्नै हम्मे हुने खालको कठिन पनि हुनु हुँदैन, चढ्नै नसकिने अक्करे भिर जस्तो पनि हुनु भएन। भाषालाई तपाईंले औँलाले बल नचाए जसरी नचाउन सक्नुपर्छ। जब तपाईं धेरै पढ्नुहुन्छ अनि निरन्तर लेखन अभ्यास गर्नुहुन्छ, तब यो सम्भव हुन्छ। यसका लागि भाषालाई हृदयदेखि नै प्रेम गर्नुपर्छ।

यस्तो गर्छु, वा उस्तो गर्छु भनेर गरिने योजनाहरू आख्यान लेखनमा सफल हुन्नन्। जे गर्न खोजियो, त्यसको विपरीत घटित भएका कैयौँ उदाहरण छन्। लेख्नुअगाडि एउटा सर्सती योजना मस्तिष्कमा टाँगिएको हुन्छ। शब्दमा उतार्दै जाँदा ती योजनाहरू धुजाधुजा हुन्छन्।

एक चोटि जे लेखियो त्यही नै अन्तिम मान्नु हुन्न। लेखनको सबैभन्दा सुविधाजनक पक्ष भनेको पुनर्लेखन हो। नमिलेको ठाउँमा जति चोटि मिलाउने प्रयास गर्नुहुन्छ, उति नै राम्रो बन्दै जान्छ। पुनर्लेखन गर्दा एकदुई चरण त म संवादलाई मात्र पनि ध्यान दिन्छु। सुरुको ड्राफ्टमा फितला लाग्ने संवादहरूमा पुनर्लेखन गर्दा नै गज्जब ‘वानलाइनर’ थपिन्छन्।

मेरो पहिलो उपन्यास समर लभका पनि केही वानलाइनर पाठकले निकै रुचाउनुभयो। जस्तै– थाहा छ, रोएर पाउनु केही छैन। रोएर चाहेको कुरा पाइने भए संसार आँशुमा उहिल्यै डुबिसक्थ्यो।

म आफैँलाई मन पर्ने प्रिय सुफीको वानलाइनर पनि चर्चित बन्यो– शिरानी जतिसुकै नरम लगाउँ बिझाउनु छ भने सपनाले पनि बिझाउँछ यहाँ, जति ओखती खाउँ दुखाउनु छ भने हावाले पनि दुखाउँछ यहाँ।

यस्ता वानलाइनर कतिपय ठाउँमा सचेत रूपमै पनि लेख्छु। कतिपय ठाउँमा आफ्नै लयमा आउँछ।

मेरो अनुभवमा यस्तो गर्छु, वा उस्तो गर्छु भनेर गरिने योजनाहरू आख्यान लेखनमा सफल हुन्नन्। जे गर्न खोजियो, त्यसको विपरीत घटित भएका कैयौँ उदाहरण छन्। लेख्नुअगाडि एउटा सर्सती योजना मस्तिष्कमा टाँगिएको हुन्छ। शब्दमा उतार्दै जाँदा ती योजनाहरू धुजाधुजा हुन्छन्। यसरी लेखनले लेखक आफैँ छक्क पार्छ। यसमा बेग्लै किसिमको रोमाञ्चकता पनि छ। नभए त लेखन पनि एउटा पट्यारलाग्दो कर्म हुँदो हो।

आजभोलि आख्यान लेखनमा संवादको प्रयोग कम गरिरहेको छु। ‘न्यारेसन’ मार्फत पटक्कै भन्नै सकिनँ भने मात्रै संवाद रोज्छु वा त्यो कुरा संवादबाटै राम्रो सुनिन्छ जस्तो लागेमा मात्रै संवाद रोज्छु।

मेरा सबै किताबका कथा मस्तिष्कमा पहिलो चोटि देखिएको अनुहारभन्दा भिन्न भए। पात्रहरू जसरी जहाँबाट उठाउँछु, कतिपय अवस्थामा त तिनलाई मैले संवाद दिइरहनु पनि पर्दैन। यस्तो अवस्था सिर्जना हुन्छ कि त्यहाँ संवाद नभए पनि पढ्नेले परिस्थिति बुझ्न सक्छन्। यस्तो लाग्छ, लेखक त खालि ती संवाद बोकेर हिँड्ने संवाहक मात्र हो।

तर, यसो भनिरहँदा कतिपय ठाउँमा नौलो र फरक प्रयोग गर्न मन लाग्ने प्राणी पनि लेखक नै हो। संवादमा काम गरिरहँदा कतिपय अवस्थामा अनपेक्षित, काव्यिक र बिम्बात्मक प्रयोग गर्न मन लाग्छ। त्यसमा लेखकले आफ्नो शिल्प देखाउने अवसर पनि पाउँछ। म यो अवसरको भरपुर फाइदा उठाउँछु।

आजभोलि आख्यान लेखनमा संवादको प्रयोग कम गरिरहेको छु। ‘न्यारेसन’ मार्फत पटक्कै भन्नै सकिनँ भने मात्रै संवाद रोज्छु वा त्यो कुरा संवादबाटै राम्रो सुनिन्छ जस्तो लागेमा मात्रै संवाद रोज्छु। पढ्दा पनि कम संवाद भएका कथाहरू गहिरा लाग्छन्।

मनोवाद वा आत्मालाप म खुब रुचाउँछु। संवाद हुँदा पनि हरेक संवादले चमत्कृत बनाऊन् भन्ने सोचले लेख्छु। यसको अर्थ, जहिले पनि फरक खालका संवादले काम गर्छन् भन्ने होइन।

कहिलेकाहीँ दैनिक बोलीचालीकै संवाद मीठा हुन्छन्, प्रयोगका नाममा जबरजस्तीको लिपपोतले झन् विरूप मात्रै बनाउँछ। एउटा लेखकले कहाँ कस्तो संवाद राख्ने, कहाँ नराख्ने, कति राख्ने जस्ता कुरा जोख्न सक्नुपर्छ। ठिक्क प्रयोग गर्न जाने संवादले कथालाई सकुशल डोर्‍याउन पनि सक्छ, नजाने कथा दुर्घटित हुन सक्छ।