सुर्खेत। कर्णाली प्रदेश कांग्रेस संसदीय दलले मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध पेश हुने अविश्वासको प्रस्तावका पक्षमा मतदान गर्ने निर्णय गरेको छ।
बुधबार संसदीय दलका नेता जीवनबहादुर शाहीको अध्यक्षतामा बसेको बैठकले अविश्वासको प्रस्तावमा साथ दिने निर्णय गरिएको सांसद बेदराज सिंहले जानकारी दिए।
नेपाली कांग्रेस र नेकपाबीचको सहकार्यमा ३१ असारमा मुख्यमन्त्री यामलाल कँडेललाई कांग्रेसले दिएको समर्थन फिर्ता लिएका थिए। नेकपाका ११ र कांग्रेसका ५ जना सांसदले हस्ताक्षर गरि समर्थन फिर्ता लिएका हुन्।
समर्थन फिर्ता लिएपछि सम्भवत: बिहिबार बस्ने प्रदेश सभा बैठकमा अविश्वासको प्रस्ताव पेश हुनेछ। उक्त प्रस्ताव पारित भए वर्तमान मुख्यमन्त्री कँडेल पदमुक्त हुनेछन्। ४० सदस्यीय प्रदेश सभामा नेकपा र काँग्रेसका १४/१४ जना सांसद छन्।
३१ साउनमा कांग्रेसबाट सहभागी चार जना मन्त्रीहरुले राजीनामा दिएका थिए। भोलिपल्ट कांग्रेसले नेकपासँग मिलेर समर्थन फिर्ता लियो। समर्थन फिर्ता लिने बेलामै नेकपाले कांग्रेस संसदीय दल नेता जीवन शाहीलाई मुख्यमन्त्रीका लागि प्रस्ताव गरिसकेको छ।