काठमाडौँ
००:००:००
८ असार २०८३, सोमबार

वर्ष २०८२ का पुस्तक

राजनीतिक उथलपुथलबीच चलायमान साहित्यिक क्षेत्र

१२ बैशाख २०८३
अ+
अ-

जेन-जी आन्दोलन, अन्तरिम सरकारदेखि निर्वाचनसम्मका उतारचढावले २०८२ साल राजनीतिक उहापोहको वर्ष बन्यो। यस्तो उथलपुथलको माहोलमा लेखन, प्रकाशन वा साहित्यिक महोत्सवभन्दा मानिसहरूको ध्यान ठूला राजनीतिक घटनाक्रमतर्फ आकर्षित हुनु स्वाभाविक हो।

यसका बावजुद केही महत्त्वपूर्ण कृति, केही नयाँ प्रवृत्ति र केही सार्वजनिक गतिविधिले २०८२ को साहित्य वृत्त समग्रमा चलायमान रह्यो।

आख्यानको दबदबा
चर्चा र बजारका हिसाबले साहित्यिक विधामध्ये उपन्यासप्रतिको आकर्षण पुरानै हो। समीक्षक गुरुङ सुशान्त विगतका वर्षहरूमा झैँ यो वर्ष पनि उपन्यासको दबदबा देखिएको बताउँछन्।

मदन पुरस्कार विजेता नीलम कार्की निहारिकाले राजमाता ल्याइन्। सर्वाधिक रुचाइएका कवि श्रवण मुकारुङले आख्यानमा पहिलो पाइला बढाए।

अर्चना थापाको अग्निगर्भा, नारायण ढकालको जगज्जननी उसकी आमाको नाम होइन, उमा सुवेदीको परिधि, सीमा आभासको महायुग, नीलम कार्की निहारिकाको राजमाता, केशव दाहालको इथा, नवराज लम्साल डाँफेको रंग, ओम रिजालको पैकेलो, निष्प्रभ सजीको याली, कुमार शर्माको कम्पनी, क्षितिज समर्पणको तोरकीनजस्ता आख्यानले चर्चा बटुले।

महिला सर्जकका अग्निगर्भा, परिधि, महायुग, राजमाताजस्ता आख्यान आउनु यस वर्षको उपलब्धि मान्न सकिन्छ। यी महिला सर्जकका आख्यानमा महिलाकेन्द्रित कथा भए पनि कथ्यशैलीमा विविधता थपिँदै छन्। उनीहरू यथार्थपरक, स्वैरकाल्पनिकदेखि अनुसन्धानमूलक लेखनशैली अपनाइरहेका छन्।

समीक्षक राजकुमार बानियाँ गत वर्ष केही पुराना लेखकहरू नयाँ विधामा आकर्षित भएको बताउँछन्।

‘गएको वर्ष कविता वा कथा लेख्ने लेखकले उपन्यास लेखे, उपन्यास लेख्ने सर्जकले कथा,’ उनी भन्छन्, ‘यसले पनि लेखकहरूले केही नयाँ गर्न खोजेको संकेत गर्छ।’’

समीक्षक गुरुङ लेखकहरू गुणस्तरीय लेखन र पाठकहरूको रुचिमा आएको परिवर्तनप्रति सचेत बन्दै गएको मूल्यांकन गर्छन्।

उनी भन्छन्, ‘‘लेखकहरू हतारमा धेरै कृति प्रकाशित गर्नेभन्दा कम तर गम्भीर काम गर्न थालेका छन्। यसले साहित्यको गुणस्तरमा सकारात्मक प्रभाव पारेको देखिन्छ।’’

सर्वाधिक पढिने लेखक सुबिन भट्टराईले भने उपन्यास लेखनलाई थाती राख्दै लामो अन्तरालमा चमेलीको फूल बैजनी रुमाल कथासंग्रह प्रकाशन गरे। दिपा दहाल विजयिनी कथाकृतिमार्फत पाठकमाझ आइन्।

निबन्धमा भूपिनको मध्यको उज्यालो, नवराज केसीको स्वस्पर्शलगायत किताब चर्चामा रहे। रिमा केसीको बगावतनामा र नदीशको हिउँदले कविताको माहोल बनाए।

कलाविधामा पनि यो वर्ष केही किताब उल्लेखनीय किताब आए। गिरीश गिरीको प्रस्तुतिमा नेपथ्यको तीन दशक लामो यात्राको वृत्तान्त, यज्ञशको प्रस्तुतिमा राजेश हमालको अन्तर्वार्ता समेटिएको युगदेखि युगसम्म र रंगकर्मी घिमिरे युवराजको नाट्यकृति लस्ट एन्ड फाउन्ड आदि।

२०८२ सालमा केही महत्त्वपूर्ण कृति नेपालीबाट अंग्रेजीमा अनुवादसमेत भए। तीमध्ये अमर न्यौपानेलिखित मदन पुरस्कार जित्न सफल सेतो धरतीको अनुवाद अ ह्वाइट लाइफ र नयनराज पाण्डेको चर्चित कृति सल्लीपिरको अनुवाद अल्फाबेट्स इन द स्नो प्रकाशित भए। सेतो धरतीको अनुवाद निरञ्जन कुँवर र सल्लीपीरको अनवाद अनुराग बस्नेतले गरेका हुन्।

गत साल अनुवाद हुने महत्त्वपूर्ण कृतिमा पूर्वपरराष्ट्रमन्त्री भेषबहादुर थापाको आत्मवृत्तान्त राष्ट्रपरराष्ट्र एकतन्त्रदेखि गणतन्त्रसम्म पनि हो। प्रवीण अधिकारीको अनुवादमा अंग्रेजी संस्करण अ लाइफ इन अ पब्लिक सर्भिस पेनगुइन इन्डियाबाट प्रकाशन भएको हो।

वर्ष २०८२ मै नेपालयले नोबेल पुरस्कार विजेता चिनियाँ लेखक मो यानका १७ कथा र २ उपन्यासिकासहित १९ आख्यानको नेपाली अनुवाद ‘मो यान’ प्रकाशित गर्यो।

इतिहासमुखी लेखन
पछिल्लो समय आख्यानकारहरूले इतिहास र संस्कृतिको गहन अध्ययन गरी त्यसलाई आख्यानमा रूपान्तरण गर्ने प्रवृत्ति बढ्दो छ।

समीक्षक गुरुङ भन्छन्, ‘‘पछिल्ला केही वर्षयता देखिएको ऐतिहासिक तथा पौराणिक पात्र वा विषयवस्तुमा आख्यान लेख्ने अभ्यासले यो वर्ष पनि निरन्तरता पायो।’’

उनी यसलाई पाठकको रुचिमा आएको परिवर्तन मान्छन्। पाठकहरू अब कोरा कल्पनामा आधारित साहित्यभन्दा पनि अनुसन्धानमा आधारित, समाज र इतिहाससँग जोडिएका सामग्रीतर्फ आकर्षित हुन थालेको उनको मत छ।

समसामयिक राजनीतिक घटनाक्रम, पहिचानका मुद्दा र सामाजिक बहसहरूले मान्छेलाई आफ्नो इतिहास र संस्कृतिबारे बुझ्न प्रेरित गरेका छन्। गुरुङ यसलाई आख्यानमा देखिएको इतिहासप्रतिको रुझानको कारक मान्छन्।

२०८२ को अन्ततिर दुई उपन्यास प्रकाशित भए, राजमाता र इथा। यी दुवै ऐतिहासिक पात्र र विषयवस्तुमा आधारित आख्यान हुन्। राजमाताअघि नीलम कार्की निहारिकाले योगमाया, द्रौपदी अवशेष, चिरहरणजस्ता उपन्यास प्रकाशन गरेकी थिइन्। इथाअघि लेखक केशव दाहालको मोक्षभूमि उपन्यास आएको थियो। यी सबै कृतिको भावभूमि इतिहास थियो।

लेखक कार्कीको चीरहरणले पद्मश्री योगमायाले (२०७४) मदन पुरस्कार प्राप्त गर्यो। लेखक दाहालको मोक्षभूमि पनि पद्मश्री विजेता बन्यो। योगेशराजको रणहार र चन्द्रप्रकाश बानियाँको महारानी उपन्यास पनि ऐतिहासिक विषयमै केन्द्रित कृति हुन्, जसले मदन पुरस्कार जिते।

प्रतिष्ठित मानिएका यी पुरस्कारले पनि इतिहासमुखी लेखनको महत्त्व स्थापित गरेको आकलन गर्न सकिन्छ।

गैरआख्यानमा पनि इतिहासकै दबदबा
आख्यानमा जस्तै इतिहासप्रतिको आकर्षण गैरआख्यानमा पनि बलियो छ। यो वर्ष मात्रै इतिहासकार महेशराज पन्तका नयाँ र पुराना गरी आधा दर्जन किताब प्रकाशनमा आए।

मार्टिन चौतारीबाट जयतु संस्कृतम् आन्दोलन र संस्कृत शिक्षा, फाइनप्रिन्टबाट लिच्छविशासन, बुकहिलबाट तृतीय पुरुष र रिक्थ र इतिहास, नेपालयबाट पृथ्वीनारायण शाह प्रकाशित भए।

पन्त भन्छन्, “मजस्ता इतिहासकारका किताबलाई व्यावसायिक प्रकाशकहरूले महत्त्व दिनु इतिहास विधाप्रति रुचि बढेको संकेत हो।”

२०८२ मा नेपालयबाट प्रकाशित लोकरञ्जन पराजुलीको सन्धिकाल, फिनिक्स बुक्सको प्रकाशन हज्सन पाण्डुलिपि, बुकहिलको प्रकाशन तीर्थबहादुर श्रेष्ठको नेपाल गाथा, फाइनप्रिन्टको प्रकाशन तुलसीराम वैद्य र त्रिरत्न मानन्धरको आधुनिक नेपालको प्रशासनिक इतिहासः वि.सं. १७६८-१९५१ ले पनि इतिहासकेन्द्रित प्रकाशनलाई इंगित गर्छ।

सन्धिकालका लेखक पराजुली भन्छन्, ‘‘देशको राजनीतिक घटनाक्रमको विकासले गर्दा विगततिर फर्कने र इतिहासको अध्ययन गर्नुपर्ने आवश्यकता बोध भएको देखिन्छ।’’

‘इतिहासमुखी’ किताबको बजार बन्दै जाँदा इतिहाससम्बन्धी पूर्वप्रकाशित कृतिहरू पुनःप्रकाशन गर्ने क्रम पनि बढेको छ।
पुस्तक बजार विस्तारदेखि पठन संस्कृति वृद्धिका लागि यो वर्ष केही उल्लेखनीय गतिविधि भए।

नेपालमा ठूलो संख्यामा प्रशंसक कमाउन सफल भारतीय लेखक अरुन्धती रोय आफ्नो पुस्तक ‘मदर म्यारी कम्स टु मी’ प्रवर्नद्धनका क्रममा काठमाडौँ आइपुगिन्।

बुकहिलले पोखरामा बुकहिल बुकान्जासमेत आयोजना गर्यो। प्रयोगधर्मी लेखक कुमार नगरकोटीले राष्ट्रिय सभागृहमा पहिलो पटक कविता कन्सर्ट गर्दै आफ्ना पाठक तथा स्रोतालाई शब्द संगीतको स्वाद चखाए।

जेन-जीमय २०८३
देशमा राजनीति जेन-जीमय बन्दै गर्दा त्यसको प्रभाव प्रकाशन र किताबको क्षेत्रमा पनि देखिने भएको छ।

सन् २०२५ को नयाँ वर्षको अवसरमा नेपालयले नयाँ पुस्ताका लेखकलाई प्रोत्साहित गर्ने उद्देश्यले २५ वर्षमुनिका ७५ लेखकका कथा, कविता र निबन्ध गरी तीन फरक विधाका किताब प्रकाशन गर्ने आह्वान गरेको थियो। २०२५ भित्रै प्रकाशन गर्ने भनिएको ती किताब केही महिनाभित्रै प्रकाशनमा आउने नेपालयका विमल आचार्य बताउँछन्।

नेपालयले यही वर्ष श्रवण मुकारुङको कविता संग्रह आवाज नआइपुग्ने मेघको उज्यालो र महेशराज पन्तको राणाकालसम्बन्धी पुस्तकसमेत प्रकाशन गर्दै छ।

प्रकाशक खड्काका अनुसार, बुकहिलले यो वर्ष तीन जना जेन-जी पुस्ताका लेखकसहित पाँच प्रभावशाली नयाँ लेखकका पुस्तक प्रकाशन गर्नेछ।

उनी भन्छन्, ”कुमार नगरकोटीको कविता सङ्ग्रहको बुटिक बुक संस्करण यही साल हुनेछ।” यसबाहेक नारायणगोपालको डायरी, चिठी र संस्मरण पुस्तक र भूपि शेरचनको अप्राप्य बायोग्राफीसमेत प्रकाशन हुने उनले बताए।

खड्काले भने, ”इतिहासका पुस्तकको पुनर्मुद्रणसँगै केही नयाँ लेखकका इतिहाससम्बन्धी पुस्तकसमेत प्रकाशन हुनेछन्।”