काठमाडौँ
००:००:००
४ असार २०८३, बिहीबार

जलवायु परिवर्तन

विश्लेषणात्मक अध्ययनको निष्कर्ष : मौसमी ढाँचामा आएको फेरबदलले बढायो विपद्का बहुजोखिम

१ जेष्ठ २०८३
दौ २०८२ मा सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका-५ थामेमा आएको बाढीले पुर्‍याएको क्षति। तस्बिर स्रोत : खुम्बु पासाङल्हामु गाउँपालिकाको फेसबुक पेज
अ+
अ-

जलवायु परिवर्तनले विषम मौसमी घटना हुने क्रम र तीव्रता बढाइरहेकाले हिन्दुकुश हिमालय क्षेत्र विपद्को झनै जोखिममा धकेलिइरहेको नयाँ अध्ययनले उजागर गरेको छ। अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड)को हालै सार्वजनिक भएको विश्लेषणात्मक अध्ययन ‘२०२५ डिजास्टर्स इन नम्बर्स’ का अनुसार जलवायु परिवर्तनले मौसमी ढाँचामा ल्याएको फेरबदलले विपद्का बहुजोखिम बढाएको छ।

हिन्दुकुश हिमालय क्षेत्रमा नेपाल, अफगानिस्तान, पाकिस्तान, चीन, भुटान, बाङ्लादेश, म्यानमार र भारत गरेर दक्षिण तथा पूर्वी एसियाका आठ देश पर्छन्। यस क्षेत्रमा विपद्का कारण बहुजोखिम अर्थात् विभिन्न घटना बढिरहेका छन्। बाढी, पहिरो, खडेरी जस्ता एकभन्दा बढी प्रकारका जोखिम एकै समयमा हुने वा एउटा जोखिमले अर्को जोखिम निम्त्याउने अवस्थालाई बहुजोखिम भनिन्छ। सन् २०१३ मा भारतको उत्तराखण्डस्थित केदारनाथमा आएको बाढी, सन् २०२३ मा सिक्किमको दक्षिण ल्होनाक हिमताल विस्फोटपछिको बाढी र सन् २०२१ मा नेपालको मेलम्चीमा आएको बाढीलाई बहुजोखिमको घटनाका रूपमा विश्लेषण गरिएको छ।

इसिमोडको विश्लेषणअनुसार सन् २०२५ मा मात्रै हिन्दुकुश हिमालय क्षेत्रका आठ देशमध्ये चार देशले १० भन्दा बढी ठूला विपद् घटना बेहोरे। भारी मनसुनी वर्षाले मुख्य गरेर नेपाल, बाङ्लादेश, भारत र पाकिस्तानका हिमाली क्षेत्रमा पटक पटक बाढी र पहिरोका घटना हुँदा ठूलो मानवीय र भौतिक क्षति पुर्‍याएको हो। केही स्थानमा हिमताल विस्फोटपछिको बाढीसमेत देखियो। यस्तै, सन् २०२५ मा म्यानमार र चीनमा पनि मनसुनी वर्षाको बाढीले मानिसको दैनिकी र भौतिक पूर्वाधारमा व्यापक क्षति पुर्‍याएको थियो।

इसिमोडले बेल्जियमको क्याथोलिक युनिभर्सिटी ल्युवेनमा रहेको सेन्टर फर रिसर्च अन द इपिडिमियोलोजी अफ डिजास्टर्सको इमर्जेन्सी इभेन्ट्स डेटाबेसमा रहेका विपद् घटनालाई विश्लेषण गरेर यो निष्कर्ष निकालेको हो।

विपद् जोखिमले पहाडी भूभागमा बढी क्षति गर्न थालेको इसिमोडका महानिर्देशक पेमा ग्याम्त्सोले बताएका छन्। “पछिल्ला वर्षमा पहाडी क्षेत्रमा बाढी, पहिरो र अन्य जोखिमहरू झन् बढेका छन्, जसले घर, पूर्वाधार र अत्यावश्यक सेवामा हुने क्षतिलाई बढावा दिएको छ,” उनी भन्छन्।

सन् २०२५ भरि पूरै हिन्दुकुश हिमालय क्षेत्र मनसुनजन्य विपद्‌बाट प्रभावित बनेको इसिमोडले ३१ वैशाखमा जारी गरेको विज्ञप्तिमा उल्लेख छ। वर्षभरिका विपद्‌बाट हिन्दुकुश हिमालय क्षेत्रका करिब १२ लाख मानिस विस्थापित वा प्रत्यक्ष रूपमा प्रभावित भएका थिए। यो वर्ष विश्वव्यापी रूपमा सबैभन्दा बढी एसियामा विपद्को प्रभाव देखिएको थियो।

सेन्टर फर रिसर्च अन दी इपिडिमियोलोजी अफ डिजास्टर्सको ‘सन् २०२५ मा विपद्को विश्वव्यापी स्थिति’ प्रतिवेदनअनुसार सन् २०२५ मा विपद्‌बाट संसारभर १६९ अर्ब अमेरिकी डलरभन्दा बढीको क्षति भएको आकलन छ। यो क्षति सेन्टर फर रिसर्च अन दी इपिडिमियोलोजी अफ डिजास्टर्सले अभिलेख राखेका ३५८ विपद् घटनाको हो। ती घटनामा परी सन् २०२५ मा विश्वभरि १६ हजार ६०७ जनाको मृत्यु भएको थियो भने ११ करोड दुई लाख मानिस प्रभावित भएका थिए। सबैभन्दा बढी सिरियामा एक करोड ६२ लाख मानिस खडेरीबाट प्रभावित भएका थिए।

जटिल भौगोलिक बनावटका कारण पनि हिन्दुकुश हिमालय क्षेत्र विपद्को उच्च जोखिममा रहेकाले त्यहाँ आश्रित समुदाय संकटासन्न रहेको अध्ययनहरूले देखाएका छन्।

 हिन्दुकुश हिमालय क्षेत्रमा घट्दै गएको हिउँ। तस्बिर : इसिमोड

इसिमोडका जलविज्ञ मनीष श्रेष्ठ विपद् जोखिम बढिरहेकाले पूर्वतयारी र प्रतिकार्यमा निरन्तर लगानी गरिनुपर्ने सुझाव दिन्छन्। “भविष्यमा विपद्‌बाट हुने क्षति घटाउन जोखिममा आधारित लगानी आवश्यक हुन्छ, विकास र पूर्वाधार योजना बनाउँदा बहुजोखिमलाई ख्याल गर्नुपर्छ,” उनी भन्छन्।

गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकी उपसचिव एवम् प्रवक्ता शान्ति महत नेपाललाई प्रभाव पार्ने सबैखाले विपद्सँग जुध्न आवश्यक पर्ने पूर्वतयारी तथा प्रतिकार्यका लागि ऐन, कार्यविधि र कार्ययोजना बनाएर लागु गर्ने गरेको बताउँछिन्। “हामीले हरेक विपद्सँग जुध्न मार्गचित्र बनाउने गरेका छौँ। खोज तथा उद्धार सामग्रीको मापदण्ड बनाउनेदेखि अकस्मात् पानी परेर डुबान भइहाले तत्काल परिचालन हुनेसम्मको संयन्त्र बनाउन लागेका छौँ,” उनी भन्छिन्।

प्राधिकरणले मनसुनजन्य विपद् सामना गर्न वर्षैपिच्छे ‘मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना’ बनाउने गरेको छ। यस्तै, हिमपात, वन डढेलो, शीतलहर, तातो हावाको लहर (लु) र खडेरीका लागि छुट्टाछुट्टै पूर्वतयारी, पूर्वकार्य तथा शीघ्र प्रतिकार्यको राष्ट्रिय कार्ययोजना बनाएर लागु गर्दै आएको छ।