काठमाडौँ
००:००:००
२ असार २०८३, मंगलवार

पर्वतारोहण

भारत र चीनको अर्थतन्त्र सुदृढ भएसँगै सर्वोच्च शिखर आरोहण गर्नेको संख्या बढ्यो

३ जेष्ठ २०८३
सगरमाथा आरोहण गर्दै पर्वतारोही। सबै तस्बिर स्रोत : छाङ दावा शेर्पाको फेसबुक
अ+
अ-

पिताको बिँडो थाम्दै पर्वतारोहणमा जोडिएका सोलुखुम्बु खुम्जुङका आङछिरिङ शेर्पा (७३)ले हिमाल चढाउने काम थाल्दा नेपालतर्फबाट सगरमाथा चढ्ने चिनियाँ आरोही दुर्लभ थिए। उनका अनुसार भारतबाट पनि संस्थागत टोलीहरू मात्रै सगरमाथा आरोहणमा आउँथे। तर, अहिले परिस्थिति फेरिएको उनी बताउँछन्।पहिलेभन्दा समग्र आरोहीको संख्या बढेको छ। त्यसमा पनि भारतीय र चिनियाँको संख्या उल्लेखनीय बढेको छ,” उनी भन्छन्।

पर्यटन उद्यमी शेर्पाको कम्पनी एसियन ट्रेकिङमार्फत सन् २०२६ को वसन्त ऋतुमा १५ जना चिनियाँ र १२ जना भारतीय सगरमाथा चढ्दै छन्। उनको कम्पनी सन् १९८२ मा स्थापना भएको हो। 

हिमाल र शेर्पाहरूको बारेमा अध्ययन गरेकी मेधावी गुलाटी भारत र चीन जस्ता देशहरूले हासिल गरेको आर्थिक विकास पर्वतारोहणमा प्रकट भइरहेको बताउँछिन्।आर्थिक विकाससँगै त्यहाँका उच्च मध्यम वर्गको संख्या र खर्चयोग्य आम्दानीमा भएको वृद्धि यसको एउटा प्रमुख कारण हो,” उनी भन्छिन्, “मानिसहरूसँग महँगा पर्वतारोहण अभियानहरूमा खर्च गर्न सक्ने क्षमता बढेको छ।” 

भारत र चीन धनी हुँदै जाँदा सगरमाथा पश्चिमी सपना मात्रै रहेन, एसियाली मध्यम वर्गको पनि प्रतिष्ठा र रोमाञ्चको प्रतीक बन्दै गएको छ। उनीहरूको बलियो उपस्थितिले नेपालको पर्यटन उद्योगको शक्ति सन्तुलन र बजारलाई परिवर्तन गरिदिएको छ। पश्चिमी राष्ट्रका आरोहीमा निर्भर रहेको सगरमाथाको आरोहण चीन र भारततर्फ सर्न थालेको छ।   

सन् १९९० को दशकपछि नेपालले पर्वतारोहण क्षेत्र निजी क्षेत्रका लागि खुला गर्दै जाँदा आरोहण व्यवसाय तीव्र रूपमा विस्तार भयो। नेपालले खुला गरेको समयपछि नै विश्वका सबैभन्दा बढी जनसंख्या भएका भारत र चीन दुवैको अर्थतन्त्र तीव्र रूपमा विस्तार भएको हो। सन् २००२ मा १.२ ट्रिलियन अमेरिकी डलर (एक हजार अर्ब) रहेको चीनको अर्थतन्त्र अहिले बढेर १८ ट्रिलियन अमेरिकी डलरमा पुगेको छ। त्यसैगरी, भारतको अर्थतन्त्र पनि चार खर्ब ७० अर्ब अमेरिकी डलरबाट अहिले चार ट्रिलियन डलरमा पुगेको छ। भारत र चीनको आर्थिक वृद्धिसँगै सगरमाथा आरोहणमा ती देशका आरोहीको संख्या बढ्दै गएको देखिन्छ।  

मिङ्मा शेर्पाले सन् २००९ मा पर्वतारोहण कम्पनी सेभेन समिट ट्रेक्स स्थापना गरेर काम थाल्दा भारत र चीनबाट पनि सगरमाथा आरोहणबारे चासो राखेर सोधखोज गर्नेहरू हुन्थे। त्यस समयमा उनको कम्पनीले विदेशी आरोहीलाई प्रतिव्यक्ति २५ हजारदेखि २८ हजार अमेरिकी डलरको प्याकेज बिक्री गर्थ्यो। हामीले आरोहण कम्पनी सुरुआत गर्दा भारत र चीनबाट पनि आरोहणमा लाग्ने खर्चको बारेमा धेरै सोधखोज हुन्थ्यो। तर, हामीले हिमाल चढ्न लाग्ने खर्च बताएपछि सम्पर्क गर्दैनथे,” उनी भन्छन्।

विश्वका आठ हजार मिटर अग्ला १४ वटै हिमाल चढेका पहिलो नेपाली मिङ्माका चार दाजुभाइ मिलेर कम्पनी स्थापना गरेका हुन्। उनका अनुसार सुरुमा भारतीय आरोहीलाई सगरमाथा आरोहणका लागि १२ लाख भारतीय रुपैयाँको प्याकेज प्रस्ताव गरिएको थियो। अहिले त्यही प्याकेजको ४० लाख भारु लाग्छ। उनको कम्पनीबाट यसपटक भारत र चीनका ३०/३० आरोही सगरमाथा चढ्दै छन्।  

विश्वले एभरेस्ट, नेपालीले सगरमाथा भन्ने हिमाललाई चिनियाँहरूले ‘चोमोलुङ्मा’ भन्छन्। पहिलो पटक ५ मे १९६० मा चिनियाँ नागरिकहरू गोम्बु र यीन हुवा चु तिब्बती मोहडाबाट शिखरमा पुगेका थिए। नेपाल र चीनको सीमामा अवस्थित सगरमाथा सन् २०२५ सम्म एक हजार ५३ पटक चिनियाँ पर्वतारोहीले आरोहण गरिसकेका छन्। जसमध्ये नेपालतर्फबाट आरोहण ३५ प्रतिशत मात्रै छ।

चिनियाँहरूले नेपालतर्फबाट निकै ढिलो गरी सगरमाथा आरोहण गर्न थालेका हुन्। नेपाली मोहडाबाट पहिलो पटक २५ मे २००९ मा चिनियाँ नागरिक चि-सिङ जोन साङले आरोहण गरेका थिए। हिमालसम्बन्धी तथ्यांक राख्ने हिमालय डेटाबेसका अनुसार सन् २०११ यताको १५ वर्षमा चिनियाँहरूले ७४६ पटक सगरमाथाको सफल आरोहण गरेका छन्। जसमध्ये नेपालतर्फबाट ३७० पटक मात्रै सगरमाथा चढेका छन्। 

अमेरिकी लेखक-पत्रकार विल ककरेलको सगरमाथाको व्यावसायिक आरोहणसम्बन्धी पुस्तक एभरेस्ट, इन्क.मा भारतीय र चिनियाँ पर्वतारोहीको बढ्दो आकर्षणलाई दुवै देशको आर्थिक समृद्धिसँग तुलना गरिएको छ। पुस्तकमा भनिएको छ,यी देश (भारत र चीन)का उदीयमान उच्च मध्यम वर्गका मानिसहरूका लागि सगरमाथाको यात्रा एउटा रोमाञ्चक प्रतिष्ठाको प्रतीक बनेको छ।’

भौगोलिक रूपमा चीन र नेपालको सीमामा अवस्थित भए पनि सगरमाथाको पहिचानको सुरुआतदेखि नै भारत र भारतीय जोडिन्छन्। सन् १९६३ मा भारतीय नागरिक नवाङ जम्बु शेर्पाले सगरमाथाको आरोहण गरेका थिए। सन् १९९३ अर्थात् आरोहणका लागि सगरमाथा ‍औपचारिक रूपमा खुला गरिँदासम्म भारतीय नागरिकले २१ पटक सगरमाथाको आरोहण गरेका थिए। हालसम्म नेपालतर्फबाट भारतीय आरोहीहरूले ५५१ पटक सगरमाथाको आरोहण गरिसकेका छन्। यसमध्ये ८२ प्रतिशत आरोहण (४५४ पटक) सन् २०११ यताको १५ वर्षमा भएको हो।  

प्रतिष्ठाको चुचुरो

आठ हजार मिटरभन्दा अग्ला हिमालको आरोहण गर्नु चुनौतीपूर्ण मानिन्छ। कठिन भौगोलिक अवस्थिति, अक्सिजनको कमी र छिनछिनमा परिवर्तन हुने मौसमले आरोहणलाई कठिन मात्र बनाउँदैन, दुर्घटनाले ज्यानै जान सक्छ। आठ हजार मिटरभन्दा माथिको भागलाई ‘डेथ जोन’ भनिन्छ। न्यून अक्सिजनको कारण मानिसको अंगले काम गर्न छाड्छ। तर, जोखिमका बाबजुद सर्वोच्च चुलीले आरोहीलाई आकर्षित गरिरहन्छ। पर्वतारोही तथा मनोवैज्ञानिक हिथर म्याकडोनाल्डले भनेका छन्, ‘विश्वव्यापी रूपमा, वीरताको एउटा परिभाषा भनेको बाँच्न असम्भव देखिने अवस्थाबाट जीवितै फर्किनु हो। मानिसहरू के विश्वास गर्छन् भने सगरमाथा चढ्दा उनीहरूभित्रका कमजोरी वा असुरक्षा हट्न सक्छ।

विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गर्नु ठूलो प्रतिष्ठाको विषय मानिन्छ। सफल आरोहण गर्नेहरू सेलिब्रेटी नै बन्छन्। एभरेस्ट, इन्क.मा मानवशास्त्री पासाङ याङ्जी शेर्पाले भनेकी छिन्,  ‘जब कुनै पश्चिमा ग्राहक (आरोही) सगरमाथाको शिखर चढेर घर फर्कन्छन्, उनीहरूले सामाजिक योग्यता प्राप्त गर्छन्। यो गर्व र रवाफको विषय पनि बन्छ। कतिपय आरोहीहरू त ब्रान्ड एम्बास्डरसमेत बन्छन्।’ 

भारतीय र चिनियाँ पर्वतारोहीका हकमा पनि यो कुरा लागु हुने भइगयो। अध्येता गुलाटी प्रसिद्धि र प्रतिष्ठाका लागि मानिसहरू आरोहणमा जाने गरेको बताउँछिन्।सगरमाथाको सफल आरोहणलाई नाम, ख्याति र सामाजिक प्रतिष्ठा कमाउने एक महत्त्वपूर्ण माध्यमका रूपमा हेरिन्छ,” गुलाटी भन्छिन्, “पेसागत करिअरमा पनि फाइदा हुन्छ। सफल आरोहणले भारतमा पदोन्नति हुन वा खेलकुद कोटाअन्तर्गत सरकारी जागिर प्राप्त गर्न मद्दत पुर्‍याउँछ। यो धेरै भारतीय आरोहीका लागि करिअर अगाडि बढाउने एउटा बाटो बनेको छ।

गुलाटीका अनुसार पहिले भारतीय पर्वतारोहीहरू मुख्यतया सेनाका हुन्थे। पर्वतारोहणलाई उनीहरू साहस र अनुशासनका रूपमा लिन्थे। अहिले सैनिक पृष्ठभूमिबाहिर पनि व्यावसायिक आरोहणमा रुचि राख्नेहरूको संख्या बढेको उनी बताउँछिन्।

सगरमाथा चढ्ने भारतीयहरूमा एचपीएस आहुवालिया, किरण इन्दर कुमार, नरेन्द्र (बुल) कुमार, प्रेम चन्द, रिता गोम्बु, बाछिन्द्र पाल, सन्तोष यादव, एमएस कोहली, अशोक एब्बेलगायतलाई गौरवपूर्ण नाम मानिन्छ। उनीहरूमध्ये अधिकांश भारतीय सेनाका हुन्, जसले सगरमाथा मात्रै होइन, आरोहणका लागि कठिन मानिने र विशेष कौशल चाहिने नन्दादेवी, चाङबाङ जस्ता कठिन हिमाल चढेका थिए,” गुलाटी भन्छिन्, “उनीहरू आरोहणलाई गम्भीर विषय मान्थे। उनीहरूको ठाउँ अहिले नयाँ आरोहीहरूले लिएका छन्।

पछिल्लो समय अर्जुन बाजपेयी तथा बलजित कौर जस्ता आरोहीले भारतमा सगरमाथालाई लोकप्रिय बनाएका छन्। सगरमाथा र अन्नपूर्ण हिमाल चढिसकेका उनीहरूले आठ हजार मिटरभन्दा अग्ला १४ वटै हिमाल चढ्ने लक्ष्य लिएका छन्।सगरमाथा आरोहणमा धेरै वृद्धि भएको छ,गुलाटी भन्छिन्, “तर, त्यस प्रकारको चासो अन्य हिमालमा भेटिँदैन।

नयाँ पुस्ताका धेरै आरोही पूर्ण व्यावसायिक सहयोगमा सगरमाथा चढिरहेका छन्। जसमा सेभेन समिट जस्ता आरोहण कम्पनीहरूले सघाउँदै आएका छन्। यस कम्पनीका मिङ्मा पहिले भारतीयहरूमा हिमाल चढ्ने आत्मविश्वासको कमी रहेको र त्यसलाई हटाउन प्रयास गरेको बताउँछन्।सुरुका दिनमा भारतीयहरूले हिमाल चढ्न सक्छन् र भनेर आशंका गरिन्थ्यो। हामीले उनीहरूलाई हिमाल चढ्न हौसला र विशेष मिहिनेत गरिदिएका कारण बिस्तारै यस क्षेत्रमा उनीहरूको आकर्षण बढ्यो,” उनी भन्छन्।

भारतीयमा पर्वतारोहणको आकर्षण बढ्नुको एउटा कारण पारिवारिक र सामाजिक प्रतिष्ठा रहेको मिङ्माको बुझाइ छ। भन्छन्, “परिवारको एक सदस्य जस्तै: काका वा फुपूको छोरो वा छोरीले सगरमाथा चढ्छ, तब अर्को सदस्यलाई उसले चढेपछि म चाहिँ किन नजाने भन्ने भावना जाग्ने रहेछ। जसले गर्दा एकपछि अर्को आरोहीको संख्या थपिँदै गयो।

त्यसैगरी, जोखिम लिएर सगरमाथा आरोहणमा जानुको अर्को कारक तत्त्व कीर्तिमान बनाउने भोक पनि हो। जसले गर्दा उनीहरूलाई सर्वोच्च शिखरले जोखिम र चुनौतीसँग खेल्न बोलाइरहन्छ। 

कीर्तिमानी अनुमति

पश्चिम एसियाको युद्ध र विश्वव्यापी अनिश्चितताले नेपालको पर्यटन क्षेत्रमा असर परे पनि सगरमाथा आरोहण भने प्रभावित भएन। बरु यस वर्ष अनुमति संख्या, आरोहण टोली र रोयल्टी संकलन तीनै क्षेत्रमा कीर्तिमान बने। यसमा भारतीय र चिनियाँ आरोहीहरूको ठूलो योगदान छ।

पर्यटन विभागका अनुसार १ जेठसम्म सगरमाथा आरोहण गर्न अनुमति लिने ४९२ आरोहीमध्ये एकतिहाइ चीन र भारतका छन्। चिनियाँ १०९ र भारतीय ६१ जना छन्।

सगरमाथा चढ्न विदेशी आरोहीले रोयल्टीबापत १५ हजार अमेरिकी डलर र नेपालीले एक लाख ५० हजार रुपैयाँ बुझाउनुपर्छ। आरोहण सञ्चालन गर्ने हिमाली गाइडहरूले भने रोयल्टी तिर्नु पर्दैन। यस वर्ष सगरमाथा आरोहणका लागि अनुमति पाएका ५५ देशका ५१ वटा समूहबाट नेपाल सरकारले एक अर्ब सात करोड ८६ लाख रुपैयाँ रोयल्टी संकलन गरेको छ।विभिन्न संकटका कारण पश्चिमा देशका आरोहीको संख्या घट्न सक्ने अनुमान थियो। तर, त्यस्तो भएन,” आङछिरिङ भन्छन्।

नेपाली आरोहीहरूको सगरमाथा आरोहण संख्या हटाउने हो भने २९ मे १९५३ यता नेपालतर्फबाट विदेशी नागरिकले चार हजार २४६ पटक सगरमाथा आरोहण गरिरहेका छन्। यसरी आरोहण गर्नेहरूको अधिक संख्या पछिल्लो १५ वर्षमा बढेको हो।  नेपालतर्फबाट आरोहण भएका नौ हजार ८९० पटकमध्ये ६ हजार ७९० पटक (करिब ६९ प्रतिशत) पछिल्लो १५ वर्षमा भएको हो। जसमा भारत र चीन दुवै देशका आरोहीको ठूलो हात छ।

पछिल्ला १५ वर्षमा नेपालतर्फबाट चिनियाँ आरोहीले ३७० पटक आरोहण गरेका छन्। आरोहण कम्पनीहरू नेपालभन्दा तिब्बततर्फबाट सगरमाथा आरोहण गर्न ३५ प्रतिशत सस्तो पर्ने गरेको बताउँछन्। नेपाल सरकारले यसै वर्ष आरोहणको रोयल्टी बढाएकाले अब सगरमाथा आरोहण गर्न १५ हजार अमेरिकी डलर लाग्छ। यसअघि  ११ हजार अमेरिकी डलर तिरेर सगरमाथा चढ्न सकिन्थ्यो। 

आङछिरिङका अनुसार चुचुरोसम्म व्यवस्थित रूपमा डोरी टाँग्ने व्यवस्था र चीन सरकारले बेलाबेला आरोहण बन्द गर्ने कारण धेरै आरोही नेपालतर्फ आकर्षित भएका छन्। कारण, नेपालबाट हरेक सिजनमा आरोहण अविच्छिन्न चल्ने गरेको छ। सन् २००८ को बेइजिङ ओलम्पिकको समयमा चीनले उत्तरतर्फबाट सगरमाथा आरोहण बन्द गरेको थियो। कोभिड महाव्याधिको समयमा पनि तिब्बततर्फको आरोहण ठप्प भएको थियो।