काठमाडौँ
००:००:००
३ असार २०८३, बुधबार

विपद्

खडेरी, तातो हावाको लहर र उच्च हिमाली भेगमा हिमताल विस्फोटन भई आकस्मिक बाढीको सम्भावना

६ जेष्ठ २०८३
असोज २०८२ मा मनसुनजन्य डुबान प्रभावितलाई स्थानीय युवा र नं. १ बराह बाहिनी सुनसरी मातहतका युनिटको सहकार्यमा उद्धार गरिदै। तस्बिर : सशस्त्र प्रहरीको फेसबुक पेज
अ+
अ-

यस वर्षको मनसुनबाट ६० वर्षमाथिका ज्येष्ठ नागरिक सबैभन्दा बढी प्रभावित हुने आकलन गरिएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको ‘मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना २०८३’ ले ४७ हजार ज्येष्ठ नागरिक मनसुनजन्य विपद्‌बाट प्रभावित हुने प्रक्षेपण गरेको हो। यो संख्या २०७८ सालको जनगणनाअनुसार देशभरका कुल वृद्धवृद्धा जनसंख्याको २१ प्रतिशत हिस्सा हो। यसैगरी, पाँच वर्षमुनिका १८ हजार बालबालिका, अपांगता भएका चार हजार ९०० र प्रजनन उमेर समूहका महिला चार हजार ५०० जना प्रभावित हुन सक्नेछन्।

विपद्का घटनामा गर्भवती, बालबालिका, ज्येष्ठ नागरिक, एकल महिला, अपांगता भएका व्यक्ति र महिला घरमूली भएका घरपरिवार सबैभन्दा बढी प्रभावित हुन्छन्। यस समूहलाई मनसुनजन्य विपद्‌बाट जोगाउन, उद्धार गर्न तथा राहत वितरणमा प्राथमिकता दिन कार्ययोजना बनाइएको प्राधिकरणकी प्रवक्ता शान्ति महत बताउँछिन्। भन्छिन्, “सकेसम्म क्षति हुनै नदिने, भइहाले शीघ्र उद्धार र राहतमा जोखिम समूह पहिलो प्राथमिकतामा हुनुपर्छ भनेर विपद् जोखिम न्यूनीकरण तथा प्रतिकार्यमा सरोकारवाला सबै मन्त्रालय, प्रदेश र स्थानीय सरकारलाई परिपत्र पठाएका छौँ।”

स्थानीय तहहरूले विपद् पूर्वतयारी गर्ने क्रममा ज्येष्ठ नागरिकको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै औषधि, सुपाच्य भोजन र शौचालयको व्यवस्था गर्न ज्येष्ठ नागरिक अभियन्ता, अधिकारकर्मी तथा सरोकारवालाले आग्रह गरेका छन्। राष्ट्रिय ज्येष्ठ नागरिक महासंघका महासचिव मोहनलाल श्रेष्ठ भन्छन्, “देशैभरिका पालिकाले आफ्ना वडा वडामा ज्येष्ठ नागरिकको स्थिति पत्ता लाएर आवश्यक तयारी गर्नुपर्छ, विपद्अघि वा पछिको सहजीकरण अनुभव हुने किसिमको हुनुपर्छ।”

 

भदौ २०७८ मा गाउँ नजिकैको निजाङगाड खोलामा आएको बाढी गाउँ पसेपछि त्रिपालमा रात बिताउँदै महाकाली श्रीवगडका जेष्ठ नागरिक। तस्बिर : नरेन्द्रसिह कार्की/रासस

जल तथा मौसम विज्ञान विभागले २५ वैशाखमा सार्वजनिक गरेको ‘मनसुन जलवायु आकलन’ अनुसार यसपालि देशका अधिकांश स्थानमा सरदरभन्दा कम वर्षा हुने पूर्वानुमान छ। यस आधारमा अघिल्ला वर्षमा जसरी भारी वर्षामा आधारित विपद्को असर कम हुने आकलन छ। तर, देशैभर सरदर तापक्रम वृद्धिको सम्भावना रहेकाले उच्च हिमाली भेगमा हिमताल विस्फोटन भई तल्लो तटीय क्षेत्रमा बाढी, पहिरो, डुबान, जमिन कटान तथा आकस्मिक बाढी जस्ता मनसुनजन्य विपद्को जोखिम कायमै छ। तापक्रम वृद्धिले तराईका भूभागमा अत्यधिक गर्मी वा तातो हावाको लहर (लु)को जोखिम छ।

जल तथा मौसम विज्ञान विभागकी प्रवक्ता विभूति पोखरेलका अनुसार सुदूरपश्चिम प्रदेशका उत्तर-पूर्वी, कर्णालीको उत्तरी, लुम्बिनीको पश्चिमी र गण्डकीका उत्तर-पूर्वी तथा दक्षिणी भू-भागमा अधिकतम तापक्रम सरदरभन्दा बढी हुने सम्भावना ५५ देखि ६५ प्रतिशत छ। यस्तो सम्भावना बागमतीको पश्चिमी, मधेसका पूर्वी तथा पश्चिमी तथा कोसी प्रदेशका पूर्वी तथा दक्षिणी भूभागमा पनि छ ।

मनसुनको अवधिमा कर्णाली प्रदेशको दक्षिणी, मधेसको पूर्वी, कोसीको दक्षिणी र लुम्बिनी प्रदेशको अधिकांश भूभागमा सरदरभन्दा कम वर्षा हुने सम्भावना ५५ देखि ६५ प्रतिशत छ। मधेस प्रदेशको पश्चिमी र कोसीको मध्य र सुदूरपश्चिमको अधिकांश भूभागमा सरदरभन्दा कम वर्षा हुने सम्भावना ४५ देखि ५५ प्रतिशत रहेको छ।

तस्बिर : जल तथा मौसम विज्ञान विभाग

यस वर्षको मनसुन पूर्वानुमानको अध्ययन गर्दा सन् २०१४, २०१६ र २०२२ को मौसमसँग मिल्दोजुल्दो देखिएको छ। त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापकसमेत रहेका मौसमविद् विनोद पोखरेलका अनुसार प्रशान्त महासागरमा विकसित ‘एल निनो’ सक्रिय हुँदा नेपालसहित दक्षिण एसियामा वर्षा हुने प्रणाली कमजोर रहने भएकाले बर्खामासमै खडेरीको जोखिम बढेको छ । १ जेठको फेसबुक पोस्टमा उनले आगामी छ महिनाको ‘सिजनल फोरकास्ट’ गर्दै असारदेखि डरलाग्दो सुक्खा खडेरीको संकेत देखिएको उल्लेख गरेका छन् । लेखेका छन्, “मनसुन सुक्खा भयो भने दक्षिण एसियामा नै अनिकाल लिएर आउन सक्छ।”

यस वर्षको मनसुन अवधिमा देशभर ५१ हजार ८६८ घरधुरीका दुई लाख २६ हजार ६६१ जना प्रभावित हुने आकलन गरिएको छ। यस आधारमा एक हजारदेखि चार हजार घरपरिवार प्रत्यक्ष रूपमा प्रभावित हुन सक्ने अनुमान छ । ‘जुन सबैभन्दा खराब अवस्था जनाउने परिदृश्यको करिब १० प्रतिशत बराबर हो,’ प्राधिकरणको कार्ययोजनामा उल्लेख छ। गत वर्षको मनसुनमा देशभर पाँच हजार ९९५ परिवार मनसुनजन्य विपद्‌बाट प्रत्यक्ष प्रभावित भएका थिए। सबैभन्दा बढी प्रभावित हुनेमा कोसी प्रदेशका दुई हजार १९६ परिवार थिए।

तस्बिर : राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण

मनसुनको अवधिमा वर्षभरिमा हुने वर्षाको करिब ८० प्रतिशत पानी पर्छ। सामान्यतः नेपाललगायत दक्षिण एसियाका देशमा बंगालको खाडीबाट जलवाष्पयुक्त हावाको बहावले बोकेर ल्याएको मौसमी प्रभावबाट मनसुनी प्रक्रिया चल्छ। जेठको अन्त्यतिरबाट यो पूर्वी नेपाल हुँदै भित्रिन्छ। केही दिनदेखि केही हप्ताको अवधिमा देशभर फैलिएर चार महिना जति सक्रिय रहन्छ। त्यसपछि असोजमा पश्चिम नेपाल हुँदै बाहिरिन्छ।

जल तथा मौसम विज्ञान विभागको मनुसन आगमन तथा बहिर्गमनसम्बन्धी रेकर्डअनुसार सामान्यतया नेपालमा औसत ११२ दिन सक्रिय रहने मनसुन पछिल्ला वर्षमा १० देखि १५ दिन ढिलो गरी बाहिरिन थालेको छ। जल तथा मौसम विज्ञान विभागको विश्लेषणअनुसार २०७३ सालयता मनसुन औसतभन्दा ढिलो बाहिरिएको छ भने २०७४ सालयता औसतभन्दा चाँडै भित्रिने गरेको छ। नेपालमा मनसुनको सुरुवाती र अन्तिम चरणमा अत्यधिक वर्षा भएर बाढी, पहिरो, डुबानका घटना भई ठूलो क्षति हुने गरेको छ। जलवायु परिवर्तनका कारण छोटो समयमा हुने अत्यधिक वर्षाले बाढी पहिरोको जोखिम र अनिश्चितता बढ्दै गएको छ।

मौसमविद् पोखरेलले यस वर्षको मनसुन सरदरभन्दा दुई हप्ताअगावै नेपाल भित्रिने सम्भावना देखिएको बताएका छन्। गत वर्ष पनि सरदरभन्दा १५ दिनअगावै १५ जेठमा मनसुन भित्रिएको थियो। सरदरभन्दा आठ दिन ढिलो गरेर २४ असोजमा बाहिरिएको थियो।