काठमाडौँ
००:००:००
७ असार २०८३, आईतवार

जेन-जीको आँखामा गणतन्त्र

लोकतान्त्रिक गणतन्त्रका शासकहरूको अक्षमता वा केही कमजोरी हेरेर व्यवस्थाकै विकल्प खोज्नतिर लाग्नु विवेकपूर्ण होइन, बरु यसैलाई अझ उन्नत र जनमुखी बनाउनेतर्फ जुट्नुपर्छ।

१५ जेष्ठ २०८३
२०६२/०६३ सालको आन्दोलनमा कलंकीमा प्रदर्शनकारी र प्रहरीबीच भएको झडप। तस्बिर : शालिकराम तिवारी
अ+
अ-

माओवादी द्वन्द्वले पश्चिम नेपाललाई निकै पिरोलेको समयमा म सानै थिएँ। हाम्रो गाउँघरतिर द्वन्द्वको त्रासदी र परिवर्तनको चाहना एकसाथ सलबलाएको थियो। १० वर्षसम्म चलेको सशस्त्र युद्धको अन्त्य र राजाको निरंकुश शासन ढल्दै गर्दा हामी पनि एउटा नयाँ युगतर्फ अर्थात् लोकतान्त्रिक गणतन्त्रमा हुर्किंदै थियौँ।

जति हुर्किंदै गयौँ, त्यति लोकतान्त्रिक गणतन्त्रका मूल्य-मान्यताबारे थाहा पाउँदै गयौँ। कक्षा १० सम्म टीकापुरमा पढेर पछि थप अध्ययनका लागि म काठमाडौँ आएँ। यहाँ आइसकेपछि राजनीतिक चेतना र नागरिक अधिकारबीच भइरहने बहसमा पुग्दा गणतन्त्रबारे मेरो दृष्टिकोण अझ फराकिलो बन्यो।

त्यतिबेलासम्म देशले ऐतिहासिक मोड लिइसकेको थियो। संवैधानिक राजतन्त्रबाट देश ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ बनिसकेको थियो। काठमाडौँले गणतन्त्र घोषणा गर्नुभन्दा अगावै मेरो गाउँ टीकापुरसहित पश्चिम नेपालमा गणतन्त्रको बहस हुन थालेको थियो। व्यवस्था परिवर्तनका लागि आममानिसको आँखामा चम्किएको उत्साह मैले टीकापुरमा छँदै अनुभूत गरेकी हुँ।

संघीयता, समावेशिता, सामाजिक न्याय र लोकतान्त्रिक मूल्य-मान्यतासहितको संविधान यही गणतान्त्रिक व्यवस्थाको परिकल्पना थियो। यो गणतान्त्रिक व्यवस्था कसैको दया वा दानबाट आएको होइन। शासकका अगाडि झुक्न अस्वीकार गर्दै आफ्नो भविष्य आफैँ कोर्न तम्सिएका मानिसको त्याग र बलिदानीबाट देशमा लोकतान्त्रिक गणतन्त्र आएको हो। पुस्तौँदेखि उत्पीडनमा परेका नागरिकले आत्मसम्मान, समानता र स्वतन्त्रताका लागि देखेको जीवन्त सपनाको प्रतिफल हो यो।

गणतन्त्र व्यवस्था परिवर्तन मात्र होइन, यो त नागरिकको आत्मसम्मान र स्वतन्त्रताको वास्तविक अनुभूतिको नाम रहेछ, जसलाई शब्दमा भन्दा पनि हरेक नागरिकको अधिकारमा महसुस गर्नुपर्ने रहेछ।

मैले बन्द र संकुचित शासन कस्तो हुन्थ्यो भन्ने कुरा प्रत्यक्ष रूपमा खासै भोग्नुपरेन। चेतनाको पहिलो पाइला नै लोकतान्त्रिक गणतन्त्रको खुला र फराकिलो आकाशमुनि सार्न थालेकी हुँ।

गणतन्त्र व्यवस्था परिवर्तन मात्र होइन, यो त नागरिकको आत्मसम्मान र स्वतन्त्रताको वास्तविक अनुभूतिको नाम रहेछ, जसलाई शब्दमा भन्दा पनि हरेक नागरिकको अधिकारमा महसुस गर्नुपर्ने रहेछ। त्यसकारण मेरो बुझाइमा गणतन्त्र सिंहासनबाट राजा फाल्नु वा एउटा परिवारको वंशवादी शासन अन्त्य गर्नु मात्र होइन। यो त सदियौँदेखि थिचिएका, मिचिएका र आवाजविहीन बनाइएका आमनागरिकको आवाजले राज्यको सर्वोच्च स्थान पाउने व्यवस्था हो।

घरमा आमाबुबाले पुराना दिनको कुरा गर्दा र इतिहासका किताबहरू पल्टाउँदा थाहा पाएको कुरा पहिलेको शासन व्यवस्थामा राजा र जनताबीच कहिल्यै नपुरिने ठूलो खाडल हुन्थ्यो। रगत र पसिना बगाउने आमनागरिकभन्दा दरबार र शासकहरू जहिल्यै सर्वोच्च स्थानमा हुन्थे। देशका वास्तविक मालिक मानिने नागरिकका अपेक्षा र चाहना कहिल्यै सही ढंगले सम्बोधन भएनन्; ती त दरबारको हुकुम र निगाहको पर्खाइमा सुकेर जान्थे। त्यतिबेला आमनेपालीजन वंशवादी शासकका रैती मात्र थिए, जसलाई प्रश्न गर्ने त के शिर उठाएर हेर्ने अधिकारसम्म थिएन।

जब देश गणतन्त्रको नयाँ युगमा प्रवेश गर्‍यो, शक्ति एक व्यक्तिको मुठीबाट फुत्किएर जनतामा अधिकार आयो। शक्ति पृथक्करण, लोकतान्त्रिक मूल्य-मान्यता, राज्यको अधिकार गाउँ गाउँसम्म पुर्‍याउने संघीयता र नागरिक र राज्यबीच सम्बन्ध स्थापित भयो। महिला, दलित, जनजाति, मधेसी र थारूलगायत सीमान्तीकृत समुदायको अधिकार संविधानले सुनिश्चित गर्‍यो। लोकतान्त्रिक गणतन्त्रको उपलब्धि हो यो। गणतन्त्र यस्तो बलियो जग हो, जहाँ शासक होइन, जनता बलिया हुन्छन् र सरकार नागरिकप्रति उत्तरदायी हुन्छ।

मलाई सधैँ लाग्छ, यो ऐतिहासिक परिवर्तन सजिलै र सित्तैमा आएको पटक्कै होइन; यसको जगमा हजारौँको बलिदान छ। आफ्नो नैसर्गिक अधिकार र स्वतन्त्रताका लागि आमजनताले रगत बगाएको गौरवशाली तर पीडादायी इतिहास छ। त्यसैले गणतन्त्र भनेको केवल व्यवस्थाको नाम होइन, यो त जनताको अधिकार हो। एउटा सामान्य किसान, मजदुर या उत्पीडनमा पारिएका आमनेपालीका छोराछोरी पनि आफ्नो योग्यता र क्षमताको बलमा यो देशको सर्वोच्च प्रधानमन्त्री वा राष्ट्रपति हुन सक्छन् भन्ने सुन्दर र समतामूलक परिकल्पना यही लोकतान्त्रिक गणतन्त्रमा छ। यस व्यवस्थाको मूल मर्म नै नागरिकलाई सार्वभौम बनाउनु थियो।

गणतन्त्रमा उदाएका नयाँ शासकहरूले लोकतान्त्रिक मूल्य-मान्यता र लोकतान्त्रिक संस्थाको चीरहरण गर्दै गणतन्त्रले दिएका अधिकारहरू कुल्चिए।  तर, यो विकृति लोकतान्त्रिक गणतन्त्रको चरित्र होइन, बरु सत्तासीन शासकहरूको प्रवृत्ति हो।

माओवादी द्वन्द्वकालमा आमनागरिकले भोगेका अथाह पीडा, आँसु र निरंकुश शासकको क्रूर व्यवहारले नै मानिसहरूभित्र विद्रोहको आगो सल्काएको हो। त्यही चेतनाको जगमा उभिएर आमजनता वंशवादी शासनविरुद्ध जुरुक्क उठेका हुन्। राजतन्त्रविरुद्ध २०६२/६३ को जनआन्दोलनमा जुन संघर्ष र बलिदान भयो, त्यो नेपाली इतिहासकै सबैभन्दा स्वर्णिम पाना हो। तातो गोली र लाठीको पर्वाह नगरी सडकमा उत्रिएर गणतन्त्रको जग बसाल्ने र यसलाई आफ्नो काँधले टेको दिनेहरूको संघर्षको बलमा हामीले आकाश पाएका हौँ।

आज हामी जुन स्वतन्त्रताको श्वास फेरिरहेका छौँ, जुन आत्मसम्मानका साथ बाँचिरहेका छौँ, ढुक्कले प्रश्न गर्न पाइरहेका छौँ, यो सबै तिनैको विद्रोहको बलमा सम्भव भएको हो। देशले त्यो कहिल्यै बिर्सिन सक्दैन र बिर्सिनु हुँदैन।

अहिले कतिपय समूह लोकतान्त्रिक गणतन्त्रका आधारभूत मूल्य-मान्यता र यो समग्र व्यवस्थाकै विरुद्धमा सक्रिय रूपमा लागेका छन्। उनीहरू ‘यो व्यवस्था पूर्ण रूपमा असफल भइसक्यो’ भन्दै आमनागरिकमा नकारात्मकता र भ्रम फैलाइरहेका छन्। तर, पछिल्ला समयका शासकहरूको अक्षमता वा केही कमजोरी हेरेर व्यवस्थाकै विकल्प खोज्न थाल्नु विवेकपूर्ण हुँदै होइन।

गणतन्त्रमा उदाएका नयाँ शासकहरूले लोकतान्त्रिक मूल्य-मान्यता र लोकतान्त्रिक संस्थाको चीरहरण गर्दै गणतन्त्रले दिएका अधिकारहरू कुल्चिए। विकास, सुशासन, न्याय र नागरिक अधिकार निमोठे। सार्वजनिक संस्थामा दलीयकरण लादे। तर, यो विकृति लोकतान्त्रिक गणतन्त्रको चरित्र होइन, बरु सत्तासीन शासकहरूको प्रवृत्ति हो।

शासकको यस्तो प्रवृत्ति र कुशासनविरुद्ध हाम्रो पुस्ता पनि आन्दोलनमा उत्रिनुपर्‍यो। भदौ २०८२ को जेन-जी आन्दोलन लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थाविरुद्ध थिएन; यो त नेतातन्त्र, निरंकुश र स्वेच्छाचारी शासनशैली, सामाजिक अन्याय, भ्रष्टाचारविरुद्ध थियो।

गणतन्त्रका लागि खतरा अरू बाहिरी तत्त्व होइन, यही व्यवस्थाको छहारीमा बसेर जनतालाई फेरि पनि ‘रैती’ नै बनाउन खोज्ने शासकहरू नै हुन्।

लोकतान्त्रिक गणतन्त्र त संसारकै सबैभन्दा प्रगतिशील, उदार र सर्वोत्कृष्ट व्यवस्था हो जसको केन्द्रबिन्दुमा जनता हुन्छन्। यही व्यवस्थाभित्र मात्रै हरेक नागरिकको आत्मसम्मान, स्वतन्त्रता र उनीहरूको नैसर्गिक अधिकार सुरक्षित रहन सक्छ। त्यसैले व्यवस्था बदल्ने होइन, बरु यसैलाई अझ सुदृढ र जनमुखी बनाउने हो।

आज कतिपय मानिस ‘यो व्यवस्थाले यतिका वर्षसम्म केही गरेन’ भन्दै पुरानै निरंकुश शासन रोज्न हौसिएका छन्। तर, गणतन्त्रको सुन्दर पक्ष भनेकै कठोर विरोधी ती साथीहरूले पनि स्वतन्त्रता र निर्भीकताका साथ आफ्नो कुरा राख्न पाउनु हो।

नेपाल लोकतान्त्रिक मुलुक भएकै कारण सबैले आफ्नो मत राख्न पाएका हौँ। हाम्रो समाज लोकतान्त्रिक भएकै कारण आज कतिपय साथीहरूले ‘हामीलाई निरंकुश शासन नै चाहिन्छ’ भन्न पाइरहेका छन्। गणतन्त्र यति उदार छ कि निरंकुशताको वकालत गर्नेहरूलाई समेत बोल्ने पूर्ण अधिकार छ।

चर्चित पुस्तक हाउ डेमोक्रेसिज् डाइमा एउटा मार्मिक कुरा उल्लेख छ। त्यहाँ भनिएको छ, ‘लोकतन्त्र अरू कसैका कारणले होइन, बरु लोकतान्त्रिक संस्थाहरूको सर्वोच्च कुर्सीमा पुगेका अलोकतान्त्रिक मानिसहरूका गलत कदम र प्रवृत्तिका कारण असफल हुन्छ।’

यो कुरा हाम्रो सन्दर्भमा पनि देखिएकै हो। गणतन्त्रलाई यही व्यवस्थाको आडमा सुखसयल भोगेर यसैको मुटुमा छुरा प्रहार गर्ने शासकबाट बढी खतरा रहँदै आयो। जुन व्यवस्था ल्याउन हजारौँले रगत बगाए, त्यही व्यवस्थामा सत्ताको शिखरमा पुगेपछि उनीहरूले जनआकांक्षा चटक्कै बिर्सिए। व्यवस्था त बदलियो, तर शासकहरूको प्रवृत्ति बदलिएन। त्यसैले गणतन्त्रका लागि खतरा अरू बाहिरी तत्त्व होइन, यही व्यवस्थाको छहारीमा बसेर जनतालाई फेरि पनि ‘रैती’ नै बनाउन खोज्ने शासकहरू नै हुन्।

लोकतान्त्रिक गणतन्त्रको सबैभन्दा ठूलो सौन्दर्य नै एकअर्काको विचारलाई सम्मान गर्नु र हरेक नागरिकको अस्तित्व स्वीकार गर्नु हो। आफूसँग असहमत हुने भिन्न विचारलाई पनि उत्तिकै आदर गर्नु र बिनाकुनै डर शासकहरूलाई प्रश्न गर्न पाउनु नै यो व्यवस्थाको वास्तविक सुन्दरता हो।

विडम्बना के भयो भने, लोकतान्तिक व्यवस्थाको भर्‍याङ चढेर सिंहासनमा पुग्नेहरूको मानसिकता हिजोका श्री ५ को भन्दा रत्तीभर फरक हुन सकेन। जनताको रगत र पसिनाको जगमा उभिएर आफूलाई ‘मालिक’ र जनतालाई ‘दास’ ठान्ने उनीहरूको सोचले गर्दा नागरिकले चित्त दुखाए। जनता व्यवस्थासँग होइन, व्यवस्थाको आवरणमा लुकेका ‘नयाँ राजाहरू’ को प्रवृत्तिविरुद्ध चिढिए। त्यसकै परिणाम हो, जेन-जी आन्दोलन।

हाम्रो पुस्ताले न त बन्द पञ्चायती व्यवस्था भोग्यो, न राजाको प्रत्यक्ष र निरंकुश शासन नै देख्यो। त्यसैले होला, मेरो पुस्ताका धेरैलाई लोकतन्त्र र गणतन्त्रका लागि भएका पुराना आन्दोलन र इतिहासका थुप्रै पाटाबारे अलि कम जानकारी होला। तर, यसको अर्थ मेरो पुस्ता लोकतन्त्रप्रति अनुदार छ भन्ने पटक्कै होइन। इतिहास देख्न र भोग्न नपाए पनि गहिरो अध्ययन गरेर हाम्रो पुस्ता लोकतान्त्रिक मूल्य-मान्यता र गणतान्त्रिक व्यवस्थालाई बुझ्छ। उनीहरू कुनै पनि हालतमा पुरानो एकतन्त्रीय वा हुकुमी शासन चाहँदैनन्।

तस्बिर : रक्षा बमको फेसबुक

मेरो पुस्ता त स्वतन्त्रताको खुला हावामा बाँच्न चाहन्छ, जहाँ प्रश्न गर्न पाइयोस्, विभेद नहोस्। आजका युवाहरू देशमा व्याप्त कुशासन, भ्रष्टाचार र ढिलासुस्तीका विरुद्ध सडकदेखि सामाजिक सञ्जालसम्म हरदम लड्न र विद्रोह गर्न तयार छन्। उनीहरूको यो आक्रोश व्यवस्थाप्रतिको वितृष्णा होइन, बरु लोकतन्त्रलाई अझ बढी जीवन्त र न्यायपूर्ण बनाउने एउटा तीव्र छटपटी र भोक हो।

मेरो पुस्ताको कुरा गर्ने हो भने हामीलाई राम्ररी थाहा छ, लोकतान्त्रिक गणतन्त्रको सबैभन्दा ठूलो सौन्दर्य नै एकअर्काको विचारलाई सम्मान गर्नु र हरेक नागरिकको अस्तित्व स्वीकार गर्नु हो। आफूसँग असहमत हुने भिन्न विचारलाई पनि उत्तिकै आदर गर्नु र बिनाकुनै डर शासकहरूलाई प्रश्न गर्न पाउनु नै यो व्यवस्थाको वास्तविक सुन्दरता हो।

हामीले आज उपभोग गरिरहेको यो स्वतन्त्र आकाश सजिलै पाएका होइनौँ; यसका लागि इतिहासमा भएका हरेक आन्दोलन र तिनको योगदानलाई हामीले सम्मान गर्नैपर्छ। पुराना बलिदान र आन्दोलनको अवमूल्यन गरेर कुनै पनि नयाँ सोच वा समृद्ध भविष्यको परिकल्पना हुनै सक्दैन। इतिहासका ती परिवर्तनकारी र गौरवशाली आन्दोलनहरू पढ्दा मात्रै पनि गर्व महसुस हुन्छ। त्यसैले मलाई लाग्छ, लोकतन्त्रको विकल्प अझ उन्नत, अझ परिष्कृत लोकतन्त्र मात्रै हुन सक्छ। र, लोकतान्त्रिक गणतन्त्रको विकल्प पनि योभन्दा सुन्दर अर्को व्यवस्था हुनै सक्दैन।

रास्वपा वा बालेन नै हाम्रा अन्तिम आशा होइनन्। अहिलेको सरकारले लोकतान्त्रिक मूल्य-मान्यता र व्यवस्थाविरुद्धका गतिविधि गरेमा, आमअपेक्षा पूरा नगरेमा जनताले नयाँ जनमतमार्फत आफ्ना निर्णय सच्याउँछन्।

हामीले यो व्यवस्था यसकारण रोजेका हौँ, जहाँ हरेक विकास, नीति र समृद्धिको केन्द्रबिन्दुमा जनता होऊन्। राज्यका सर्वोच्च निकाय व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाले आमनागरिकलाई ‘यो मेरो पनि राष्ट्र-राज्य हो’ भन्ने बलियो अनुभूति दिलाऊन्।

भलै आज हाम्रा सरकारी निकायमा बेथिति, भ्रष्टाचार र ढिलासुस्तीका कारण जनताले सास्ती भोग्नुपरेको होला। तर, लोकतन्त्रको एउटा यस्तो अद्भुत र अद्वितीय गुण छ, जुन संसारका अरू कुनै व्यवस्थामा हुँदैन। यसले आफ्ना गल्ती आफैँ सुधार्ने र नयाँ सुरुआत गर्ने अवसर नागरिकलाई बारम्बार दिइरहन्छ। यो व्यवस्था कहिल्यै रोकिँदैन, यसले त सधैँ अगाडि बढ्ने बाटो देखाइरहन्छ।

अहिले बजारमा एउटा नयाँ भाष्य निर्माण भइरहेको छ। हाम्रो पुस्ताले गरेको आन्दोलन र वालेन्द्र शाह (बालेन)हरूको उदयपछि जनताले ठूलो आशाका साथ रास्वपालगायत नयाँ शक्तिहरूलाई सत्ताको नजिक पुर्‍याए। केही मानिस भनिरहेका छन्, ‘यो सरकारले पनि केही गरेन भने त मास डिप्रेसनमा जानेछ। सबैथोक सकिनेछ।’

यो कुरासँग म असहमत छु। लोकतान्त्रिक गणतन्त्रमा कहिल्यै ‘फाइनल परीक्षा’ हुँदैन, जहाँ फेल भएपछि सबैथोक सकियोस्! लोकतन्त्रमा त केवल ‘असाइनमेन्ट’ अर्थात् गृहकार्य धेरै हुन्छन्- नागरिक हितका लागि, लोकतान्त्रिक गणतन्त्रका लागि।

अहिलेको सरकारले पनि एउटा ‘असाइनमेन्ट’ गरिरहेको छ। उसले कति अंक ल्याउँछ, त्यो आगामी चुनावमा जनताले मूल्यांकन गर्नेछन्। तर, यो सरकार असफल भयो भने लोकतन्त्र सकिँदैन। बरु यसको ठाउँमा अर्को नयाँ विकल्प आउनेछ।

राजनीतिमा नयाँ पात्र र प्रवृत्ति निरन्तर आइरहन्छन्। हामी ‘टेस्ट गर्दागर्दा थाकिसक्यौँ’ भनेर गणतन्त्रले आशा मार्न दिँदैन। अर्को कुरा, यो व्यवस्थामा हामी नागरिकले आफ्नो जिम्मेवारी भुल्नु पनि हुँदैन। मतदान गर्नु मात्र नागरिकको काम होइन; मत दिइसकेपछि पनि शासकहरूलाई निरन्तर खबरदारी गर्ने, प्रश्न सोध्ने र ‘चेक एन्ड ब्यालेन्स’ मा राख्ने ल्याकत जनताले राख्नुपर्छ।

नेपाली जनताले के कुरामा दृढ विश्वास राख्नुपर्छ भने, गणतन्त्रमा कसैको बिरासत वा वंश चल्दैन। यस व्यवस्थामा रास्वपा वा बालेन नै हाम्रा अन्तिम आशा होइनन्। अहिलेको सरकारले लोकतान्त्रिक मूल्य-मान्यता र व्यवस्थाविरुद्धका गतिविधि गरेमा, आमअपेक्षा पूरा नगरेमा जनताले नयाँ जनमतमार्फत आफ्ना निर्णय सच्याउँछन्।

(नेपाल जेन-जी फ्रन्टकी संयोजक बमसँग लोकेन्द्र विश्वकर्माले गरेको कुराकानीमा आधारित)