मन्तव्य
कुनै गीतले तपाईंलाई स्पर्श गर्छ भने सबैभन्दा महत्त्वपूर्ण कुरा नै त्यही हो। मैले आफ्ना गीतभित्र धेरै किसिमका कुरा लेखेको छु। र, म त्यसको अर्थ के हो भनेर चिन्ता गर्न गइराखेको छैन।
साहित्यतर्फको यो नोबेल पुरस्कार प्राप्त गर्दा मैले पहिलो पटक आफ्ना गीत साहित्यसँग ठ्याक्कै कसरी जोडिएका छन् भन्नेबारे सोच्न थालेँ। म त्यसबारे मनन गर्न चाहन्थेँ र त्यो सम्बन्ध कहाँ छ भनेर बुझ्न चाहन्थेँ। यो कुरा सम्भवतः म घुमाउरो तरिकाले भन्नेछु, तर मैले भनेका कुरा अर्थपूर्ण र उद्देश्यपूर्ण हुनेछ भन्ने आशा गर्छु।
यी सम्पूर्ण यात्राको प्रारम्भतर्फ फर्किनुपर्दा मैले बडी होलीबाट सुरु गर्नुपर्छ जस्तो लाग्छ। बडीको मृत्यु हुँदा म करिब १८ वर्षको थिएँ र उनी २२ वर्षका थिए। उनलाई पहिलो पटक सुनेको क्षणदेखि नै आत्मीय महसुस गरेँ। जसरी म उनीसँग जोडिएको महसुस गर्थें, लाग्थ्यो उनी मेरा दाजु हुन्। म उनी जस्तै देखिन्छु भन्नेसम्म सोचेँ। बडीले मलाई एकदम मन पर्ने संगीत बजाउँथे, त्यस्तो संगीत जसमा म हुर्किएको थिएँ। कन्ट्री वेस्टर्न, रक एन्ड रोल अनि रिदम एन्ड ब्लुज।
उनले संगीतका यी तीन फरक शैलीलाई बाँडे अनि नयाँ विधामा मिलाए। एउटा ब्रान्ड बन्यो। सुन्दर धुन र कल्पनाशील हरफले भरिएका गीत लेख्थे बडी। उनी शानदार गाउँथे– भिन्न आवाजहरूमा। उनी त्यस्ता नमुना थिए जुन म थिइनँ, तर हुन चाहन्थेँ। उनी संसारबाट बिदा हुनु केही दिनअघि मैले उनलाई केवल एकपटक देखेँ। उनलाई प्रत्यक्ष हेर्न पाउन मैले सय माइल यात्रा गर्नुपरेको थियो, तर म निराश भइनँ।
उनी शक्तिशाली र ऊर्जावान् थिए र उनको उपस्थिति प्रभावशाली थियो। म उनीबाट केवल ६ फिटको दूरीमा थिएँ। उनी मन्त्रमुग्ध पार्ने खालका थिए। मैले उनको अनुहार, हात, खुट्टाले ताल दिने तरिका, उनको ठूलो कालो चस्मा, चस्मा पछाडिका आँखा, गितार समाउने तरिका, उभिने ढंग, चिटिक्कको सुट। उनका ती सबै कुरा नियालेँ। उनी २२ वर्षभन्दा बढी उमेरका देखिन्थे। उनका केही कुरा स्थायी जस्ता लाग्थे र उनले मलाई दृढ विश्वासले भरिदिएका थिए। अनि एकाएक अनौठो घटना घट्यो। उनले आँखा गाडेर सिधै मेरो आँखामा हेरे र उनले केही प्रसार गरे। त्यो के थियो मलाई थाहा थिएन। र, त्यसले मलाई सिरिंग बनायो।

मलाई लाग्छ, त्यसको एक वा दुई दिनपछि उनको विमान खस्यो। अनि त्यसअघि कहिल्यै नदेखेको कसैले मलाई ‘कटनफिल्ड्स’ गीत समेटिएको लिडबेल्लीको रेकर्ड दियो। त्यो रेकर्डले त्यहीँ अनि त्यतिखेरै मेरो जीवन फेरिदियो। कहिल्यै थाहा नभएको संसारभित्र मलाई पुर्यायो। कुनै विस्फोट भए जस्तो भयो। मानौँ, म अन्धकारमा हिँडिरहेको थिएँ र अचानक त्यो अन्धकार उज्यालोले भरियो। कसैले मलाई समातेको जस्तो भयो। सय पटक बजाएको हुनुपर्छ मैले त्यो रेकर्ड।
यो त्यस्तो लेभलमा थियो जसको मैले कहिल्यै नाम सुनेको थिइनँ र भित्रपट्टिको एउटा पुस्तिकाका विज्ञापनमा थिए सोही लेभलका अन्य कलाकार सन्नी टेरी र ब्राउनी म्याक्घी, द न्यु लस्ट सिटी र्याम्ब्लर्स, जिन रिची, स्ट्रिङ ब्यान्ड्स। मैले उनीहरूमध्ये कसैबारे पनि सुनेको थिइनँ। तर, यदि उनीहरू लिडबेल्लीसँगै यो लेबलमा छन् भने उनीहरू अब्बल नै हुनुपर्छ र त्यसैले मैले उनीहरूलाई सुन्नुपर्छ भन्ने लाग्यो। म त्यसबारे सबथोक जान्दिनँ अनि त्यही किसिमको संगीत बजाउन चाहन्थेँ। आफू हुर्किंदाखेरिको संगीतप्रति ममा अझै लगाव थियो, तर तत्कालका लागि मैले त्यसलाई बिर्सिदिएँ। त्यसबारे मैले सोचिनँ पनि। हालका लागि त्यो धेरै अघि बितिसकेको समय थियो।
मैले अझै घर छोडेको थिइनँ, तर म त्यसका लागि आतुर थिएँ। म यस्तो संगीत सिक्न र त्यस्तै संगीत गर्ने मान्छे भेट्न चाहन्थेँ। अन्ततः मैले घर छाडेँ र ती गीत सिर्जना गर्न सिकेँ पनि। ती गीत मैले त्यतिन्जेल रेडियोमा सुन्दै आएका गीतभन्दा भिन्न थिए। ती थिए अझ जीवन्त र जीवनसँग अझ मेल खाने। कुनै कलाकारले रेडियोका गीतबाट पासा फ्याँके जसरी वा तासको पत्ती उल्टिए जसरी सफलता पाउन सक्थे। तर, लोकसंगीतको संसारमा त्यसले मतलब राख्दैनथ्यो। केवल दक्ष हुनुपर्थ्यो र धुन बजाउन सक्नुपर्थ्यो । यीमध्ये केही गीत सजिला थिए, केही थिएनन्। स्वाभाविक रूपमा एन्सिएन्ट बालाड र कन्ट्री ब्लुज मेरो मन मुटुमै थियो, तर बाँकी सबै कुरा मैले शून्यबाट सिक्नुपरेको थियो। कहिलेकाहीँ कुनै कोठा वा सडकको कुनामा म साना भिडअगाडि गाइरहेको हुन्थेँ। कहिलेकाहीँ चार-पाँच जनाभन्दा बढी पनि हुँदैनथे। आफूसँग संगीतको संग्रह फराकिलो हुनुपर्थ्यो र कुन बेला कुन गीत-संगीत प्रस्तुत गर्ने थाहा हुनुपर्थ्यो । केही गीत आत्मीय हुन्थे, केही भने सुनिनका लागि चर्को स्वरमा गाउनुपर्थ्यो।

तमाम प्रारम्भिक लोक कलाकारलाई सुन्दै र तिनका गीत आफैँ गाउँदै जाँदा भाषाको लोकशैली आत्मसात् गर्नुहुन्छ तपाईं। र्यागटाइम ब्लुज, श्रम गीत, जर्जियन सी स्यान्टिज्, अपालाचियन बालाड्स अनि काउबोइ सङ्सका शैलीमा तपाईं गाउनुहुन्छ। तपाईं त्यसका सबै ससाना पक्ष सुन्नुहुन्छ र मसिना कुरा सिक्नुहुन्छ।
यी सबैको अर्थ थाहा लाग्छ तपाईंलाई। पेस्तोल झिकेर फेरि खल्तीमा हालेको जस्तो। अस्तव्यस्त ट्राफिकलाई चिर्दै आफ्नो बाटो छिचोलेको अनि अन्धकारमा कुरा गरेको जस्तो। तपाईंलाई थाहा छ कि स्ट्यागर ली खराब व्यक्ति थियो र फ्र्यान्की असल युवती थिई। त्यस्तै, वासिङ्टन एउटा बुर्जुवा सहर हो र जोन द रेभेलेटरको गहिरो स्वर तपाईंले सुन्नुभएको छ र दलदले खोल्सामा टाइटानिक डुबेको देख्नुभयो। अनि तपाईं वाइल्ड आयरिस रोभर र वाइल्ड कोलोनियल बोइको मित्र हुनुहुन्छ। तपाईंले मत्थर ड्रम र मधुरो गरी बजाइएका साना बाँसुरी जस्तै बाजा सुन्नुभएको छ। कामुक लर्ड डोनल्डले आफ्नी पत्नीलाई छुरा रोपेको तपाईंले देख्नुभएको छ र तपाईंका थुप्रै कमरेड सेतो कफनले बेरिएका छन्।
मैले ती सम्पूर्ण लोकभाषाको चालढाल जानिसकेको थिएँ। वाक्शैली मलाई थाहा थियो। त्यसमध्ये कुनै पनि कुरा मेरो समझबाहिर थिएन। भाषाका युक्ति, शैलीगत प्रविधि, रहस्य, गुह्य पक्ष र तिनले हिँडेपछि पन्छाइएका बाटाहरू पनि मलाई थाहा थिए। म ती सबैलाई जोड्न सक्थेँ र समयको चालसँगै अघि बढाउन सक्थेँ। मैले आफ्नै गीतहरू लेख्न थाल्दा लोकको बोलीचालीको त्यो शैली मेरो एउटै शब्दसंसार थियो र मैले त्यसैलाई चलाएँ।
तर, मसँग अर्थोक नि थियो। मसँग सिद्धान्त, संवेदनशीलता, र संसारबारे एक सुसूचित दृष्टिकोण थियो। त्यो मसँग केही समयदेखि थियो। त्यो सबै प्राथमिक तहमै सिकेको थिएँ। डन केहोटे, आइभन्हो, रविन्सन क्रुसो, गुलिभर्स ट्राभल्स, टेल अफ टु सिटिज् अनि सामान्यतया प्राथमिक विद्यालयमा पढिने बाँकी सबै किताब जसले जीवनलाई हेर्ने दृष्टि, मानव स्वभावबारे बुझाइ र अन्य चिजबिजलाई नाप्ने मापदण्ड दिन्थे। गीत लेख्न थाल्दा मैले ती सबै कुरा आफूसँगै लिएर हिँडेँ। अनि ती किताबका मुख्य विषय जानाजानी वा अन्जानमै मेरा थुप्रै गीतमा पस्दै गए। कहिल्यै कसैले पहिले सुनेकोभन्दा फरक गीत लेख्न चाहन्थेँ म। त्यसका लागि आधार थिए यी मूल विषयवस्तु।
मैले प्राथमिक तहमा पढेदेखि नै मसँगै बसेका खास किताब छन्। तीमध्ये म तिमीलाई तीन किताबका बारेमा भन्छु, मोबी डिक, अल क्वाएट इन द वेस्टर्न फ्रन्ट र द ओडिसी।
मोबी डिक उच्चतम अभिनय र नाटकीय संवादका दृश्यले भरिएको अत्यन्तै रोचक किताब हो। यसले पाठकसँग गहिरो ध्यानको माग गर्छ। यसको कथानक सोझो छ। आत्मकेन्द्रित र कृत्रिम गोडा भएको र ‘पिक्वोड’ नामक जहाजका रहस्यमय कप्तान अहाब आफ्नो खुट्टा खोस्ने मुख्य शत्रु ग्रेट ह्वाइट ह्वेलको खोजीमा छ। त्यसलाई एट्लान्टिक महासागरबाट अफ्रिकाको दक्षिणी टुप्पो हुँदै हिन्द महासागरसम्म पछ्याउँछ ऊ। अहाब पृथ्वीको दुवैपट्टि घुमेर ह्वेललाई पछ्याउँछ। यो एउटा अमूर्त लक्ष्य हो। ठोस वा निश्चित केही छैन। ऊ मोबीलाई सम्राट् भन्छ र उसलाई दुष्टताको अवतार ठान्छ। नान्टकेटमा अहाबका पत्नी र एक बच्चा छन् जसलाई ऊ बेलाबेला सम्झिरहन्छ। के हुनेवाला छ भन्ने अन्दाज गर्न सकिन्छ।
जहाजको चालक दल विभिन्न जातिका मानिस मिलेर बनेको छ र सबैभन्दा पहिले ह्वेल देख्ने कुनै एकलाई एउटा सुनको सिक्का पुरस्कारस्वरूप दिइनेछ। थुप्रै राशिचक्रका प्रतीक, धार्मिक रूपक, अतिसामान्यीकृत चिन्तन जोडिन्छन्। अहाबले ह्वेल सिकार गर्ने अन्य जहाज भेट्छ र मोबीबारे जानकारी लिन तिनका कप्तानसँग सोधपुछ गर्छ। के उनीहरूले मोबीलाई देखेका छन्? एउटा जहाजमा ग्याब्रियल नामको अजीव भविष्यवक्ता छ जसले अहाबको नाशको भविष्यवाणी गर्छ। मोबी कुनै सेकर देउताको अवतार भएको र ऊसँगको कुनै पनि सम्बन्ध विनाशमा टुंगिने बताउँछ। ऊ कप्तान अहाबलाई त्यही भन्छ। अर्को जहाजका कप्तान बुमरले मोबीका कारण एउटा हात गुमायो। तर, उसले त्यो सहेको छ र आफू बाँचेकामा खुसी छ। अहाबको मोबीसँग बदलाको लालसा स्विकार्न सक्दैन ऊ।
एउटै अनुभवप्रति फरक मानिसले कसरी फरक तरिकाले प्रतिक्रिया दिन्छन् भन्ने देखाउँछ यस पुस्तकले। यसमा पुरानो करार र बाइबलसँग सम्बन्धित रूपकः ग्याब्रियल, राचेल, जेरोबोएम, बिल्दाह, एलिजाह प्रशस्त छन्। साथै, पेगन नाम पनि छन्ः टास्टेगो, फ्लास्क, ड्याग्गु, फ्लिस, स्टारबक, स्टब, मार्थाज भिनयार्ड। पेगनहरू मूर्तिपूजक हुन्। कोही साना मैनका मूर्ति पूजा गर्छन् त केही काठका मूर्ति। केही आगोको पूजा गर्छन्। पिक्वोड एउटा आदिवासी जनजातिको नाम हो।

मोबी डिक एउटा समुद्रीयात्राको कथा हो। पुरुषमध्येका एक कथावाचकले भन्छ, ‘मलाई इस्माएल भन।’ ‘तिमी कहाँबाट आएका हौ?’ भनेर कसैले उसलाई सोध्छ अनि ऊ भन्छ, ‘त्यो कुनै नक्सामा छैन। साँचो ठाउँ कहिल्यै हुँदैनन्।’ स्टब कुनै पनि कुरालाई विशेष महत्त्व दिँदैन, सबै कुरा लेखिएअनुसार हुने बताउँछ। इस्माएलले आफ्नो पूरै जीवन समुद्री जहाजमै बिताएको छ। ऊ यात्राका समुद्री जहाजलाई आफ्नो हार्भर्ड र येल भन्छ। मानिससँग दूरी कायम राख्छ ऊ।
एउटा आँधीले पिक्वोडलाई हान्छ। कप्तान अहाब त्यसलाई शुभ संकेत ठान्छ। स्टारबक त्यसलाई अशुभ संकेत मान्छ र अहाबलाई मार्ने सोच्छ। आँधी सकिनेबित्तिकै चालक दलको एउटा सदस्य मस्तुलबाट खसेर डुब्छ। भविष्यको अग्रिम संकेत दिन्छ। वास्तवमा रक्तपिपासु व्यापारी एक जना क्वेकर शान्तिवादी पादरी फ्लास्कलाई भन्छ, ‘चोट पाएका कतिपय मान्छे ईश्वरतर्फ उन्मुख हुन्छन् अरू तिक्ततातिर।’
सबथोक एकअर्कामा मिसिएका छन् यसमा। यहुदी–ख्रिस्टियन बाइबल, हिन्दु मिथक, बेलायती दन्त्यकथा, सेन्ट जोर्ज, पर्स्युज्, हर्कुलिजका सारा मिथकमा यी सबै ह्वेल सिकारी हुन्। ग्रिक मिथकमा ह्वेल काटेर टुक्र्याउने रक्तरञ्जित काम हो। यस पुस्तकमा थुप्रै तथ्य छन्। भूगोलसम्बन्धी ज्ञान, राजाको राज्याभिषेकका लागि उपयोगी ह्वेलको तेल अनि ह्वेलजन्य निष्कर्षण उद्योगमा संलग्न कुलीन परिवार। ह्वेलको तेल राजाहरूलाई अभिषेक गर्न प्रयोग गरिन्छ। ह्वेलको इतिहास, मस्तिष्क विज्ञान, कपालविद्या, शास्त्रीय दर्शन, छद्मवैज्ञानिक सिद्धान्त, विभेदलाई उचित ठहर्याउने तर्क-सबै कुरा मिसाइएको छ। तीमध्ये कुनै कुरा मुस्किलले तर्कसंगत छन्। यस्तै, उच्च संस्कृति, निम्न संस्कृति, भ्रमको पछि लाग्नु, मृत्युलाई पछ्याउनु, ग्रेट ह्वाइट ह्वेल, पोलार बियर जस्तै सेतो, सेतो मानिस जस्तै सेतो, सम्राट्, शत्रु, दुष्टताको अवतार। र, खासमा वर्षौंअघि मोबीमाथि छुरा लिएर आक्रमण गर्ने प्रयास गर्दा आफ्नो खुट्टा गुमाएका ती विक्षिप्त क्याप्टेन।
हामी विषयवस्तुको सतह मात्र देख्छौँ। तलपट्टि के छ, त्यो आफूले चाहेअनुसार अर्थ्याउन सक्छौँ। चालक दलका सदस्य डेकमा हिँड्दै मत्स्यकन्याका आवाज सुन्न खोज्छन् अनि सार्क र गिद्ध जहाजको पछि लाग्छन्। खप्पर र अनुहार पुस्तक पढे जस्तै पढिन्छन्। यहाँ एउटा अनुहार छ। म यसलाई तिम्रो अगाडि राख्छु। सक्छौ भने पढ।
आफू मरेको र फेरि जन्मिएको बताउँछ टास्टेगो। उसका थप दिन एउटा उपहार हो। यद्यपि, उसलाई ख्रिस्टले जोगाएका होइनन्। उसका अनुसार एक मान्छे त्यसमा पनि गैर–ख्रिस्टियनले बचाएको थियो उसलाई। ऊ पुनरुत्थानको व्यंग्य गर्छ।

स्टारबकले विगतलाई विगत हुन दिनुपर्छ भन्दा रिसाएको कप्तान अहाब उत्तिखेरै जवाफ फर्काउँछ, ‘ईश्वरनिन्दाको कुरा मसँग नगर मानिस। सूर्यले मलाई अपमान गर्यो भने म त्यसलाई पनि प्रहार गर्थें।’ अहाब स्वयं वाक्पटु कवि हो। ऊ भन्छ, ‘मेरो निश्चित उद्देश्यतर्फको बाटोमा फलामका पटरी ओछ्याइएका छन् जसमाथि मेरो आत्मा कुद्न लालायित छ।’ अथवा यी पंक्ति ‘सबै देखिने वस्तु केवल गात्ताका मुखौटा हुन्।’ उद्धृत गर्नलायक ती लयात्मक वाक्यांश जसलाई उछिन्न सकिँदैन।
अन्ततः अहाबले मोबीलाई देख्छ अनि भालाहरू निकालिन्छन्। डुंगा झारिन्छन्। अहाबको हार्पुन रगतले अभिषेक गरिएको छ। मोबीले अहाबको डुंगामाथि आक्रमण गर्छ र त्यसलाई ध्वस्त पार्छ। भोलिपल्ट फेरि मोबी देखिन्छ। फेरि डुंगा झारिन्छन्। फेरि मोबीले अहाबको डुंगामाथि आक्रमण गर्छ। तेस्रो दिन अर्को डुंगा डुब्छ। थप धार्मिक रूपक आउँछन्। अहाब पुनर्जीवित भएको छ। मोबीले फेरि आक्रमण गर्छ। पिक्वेडलाई जोडले ठक्कर दिएर डुबाउँछ। अहाब भालाको डोरीमा अल्झिन्छ र आफ्नै डुंगाबाट पानीले भरिएको चिहानभित्र फालिन्छ।
इस्माएल बाँच्छन्। उनी समुद्रमा एउटा शव पेटिकामाथि तैरिइरहेका छन्। यो लगभग यही नै हो। सम्पूर्ण कथा यत्ति हो। त्यो मूल विषयवस्तु र त्यसका निहितार्थहरू मेरा थुप्रै गीतमा प्रवेश गरे।
अल क्वायट अन द वेस्टर्न फ्रन्ट अर्को त्यस्तै किताब थियो। यो एउटा तर्साउने कथा हो। यो त्यस्तो किताब हो जहाँ तपाईंले आफ्नो बाल्यकाल, अर्थपूर्ण संसारमाथिको विश्वास अनि व्यक्तिप्रतिको संवेदनशीलता गुमाउनुहुन्छ। तपाईं दुःस्वप्नमा फस्नुभएको हुन्छ। मृत्यु र पीडाको रहस्यमय भुमरीले तानेर निल्छ। तपाईं नाश हुनबाट आफूलाई बचाइरहनुभएको हुन्छ। तपाईंलाई संसारको नक्साबाटै मेटाइँदै छ। कुनै बेला तपाईं कन्सर्टमा पियानोवादक बन्ने ठूला सपना बोकेको निर्दोष युवा हुनुहुन्थ्यो। कुनै समय तपाईं जीवन र संसारलाई प्रेम गर्नुहुन्थ्यो र अहिले तपाईं त्यसलाई गोली चलाएर टुक्र्याइरहनुभएको छ।
दिनदिनै अरिंगालले तपाईंलाई टोक्छन् र गँड्यौलाले रगत चाट्छन्। तपाईं घेराबन्दीमा परेको जनावरझैँ हुनुहुन्छ। तपाईं कतै पनि मेल खानुहुन्न। एकनासले पानी बर्सिइरहेको छ। अनन्त छ आक्रमण, विषालु ग्यास, स्नायुलाई ठप्प पार्ने ग्यास, मोर्फिन, बलिरहेका पेट्रोलका खोल्सा, खानाका लागि संघर्ष र लुछाचुँडी, ज्वरो, दुखाइ, झाडापखाला। तपाईंकै वरिपरि सबैतिर जीवन बर्बाद हुँदै छ र गोला-बारुदका सिठी बजिरहेका छन्। यो नरकको तल्लो तह हो। हिलो, काँडेतार, मुसाले भरिएका खाल्डा, मानव लासको आन्द्रा खाइरहेका मुसा, फोहोर र मलमूत्रले भरिएका खाल्डा। कसैले चिच्याउँछ, ‘ए तँ ! उठ् र लड्।’
यो अव्यवस्था कहिलेसम्म चल्छ कसलाई के थाहा? युद्धको कुनै सीमा हुँदैन। तपाईं ध्वस्त हुँदै हुनुहुन्छ र तपाईंको त्यो खुट्टाबाट ज्यास्तै रगत बगिरहेको छ। तपाईंले हिजो एउटा मान्छे मार्नुभयो र आज उसको लाससँग कुरा गर्नुभयो। तपाईंले उसलाई भन्नुभयो, ‘यो सकिएपछि म तिम्रो परिवारको जीवनभर हेरचाह गर्नेछु।’ यहाँ कसले फाइदा लिइरहेको छ? नेता र जनरलले इज्जत कमाउँछन् र अरू धेरैले आर्थिक लाभ उठाउँछन्। तर, फोहोर काम जति तपाईंले गरिरहनुभएको छ। तपाईंका एक कमरेड भन्छन्, ‘एक मिनेट, तिमी कहाँ जाँदै छौ?’ र तपाईं भन्नुहुन्छ, ‘मेरो वास्ता नगर, म चाँडै फर्कन्छु।’ अनि तपाईं एउटा ससेज खोज्न मृत्युको जंगलतिर निस्किनुहुन्छ। आममानिसका जीवनको कुनै उद्देश्य हुन सक्छ भन्ने कुरा तपाईं कल्पना गर्न सक्नुहुन्न। तिनका सारा चिन्ता, सारा चाहना तपाईं बुझ्नै सक्नुहुन्न।
थप मेसिन गन गर्जिन्छन्, तारहरूमा झुन्डिएका शरीरका थप अंग देखिन्छन्। हात, खुट्टा र खप्परका थप टुक्रा देखिन्छन्। दाँतमाथि पुतली बसिरहेका छन्। अझ बीभत्स घाउ, शरीरका हरेक प्वालबाट निस्किइरहेको पिप, फोक्सोको घाउ, शरीरका लागि अति ठूला घाउ, ग्यास फ्याँकिरहेका लास र झर्को लाग्ने आवाज निकालिरहेका लास। जताततै मरण छ। अरू केही सम्भवै छैन। कसैले तपाईंलाई मार्नेछ र तपाईंको लास निसाना अभ्यासका लागि प्रयोग गर्छ। जुत्ता पनि। ती तपाईंका सबैभन्दा महँगा वस्तु हुन्। तर, छिट्टै ती अरू कसैको खुट्टामा हुनेछन्।
रूखका बीचबाट ‘फ्रग्गी’ आउँदै छन्। निर्दयी हरामीहरू। तिम्रा बम–बारुद सकिँदै छन्। ‘यति छिटै फेरि हामीलाई आक्रमण गर्नु न्यायोचित होइन,’ तिमी भन्छौ। तिम्रा एक सहयोद्धा हिलोमा लडिरहेका छन् र तिमी उनलाई फिल्ड अस्पताल पुर्याउन चाहन्छौ। कोही अर्कोले भन्छ, ‘त्यो यात्रा बचाउन सक्छौ सायद।’ ‘त्यसको अर्थ के?’ ‘उसलाई पल्टाएर हेर मैले भन्न खोजेको बुझ्नेछौ।’
तिमी समाचार सुन्न पर्खिरहेका छौ। युद्ध किन सकिँदैन, तिमी बुझ्दैनौ। सेनासँग प्रतिस्थापन सैनिकहरूको यति अभाव छ कि उनीहरूले सैनिकका रूपमा लगभग काम नलाग्ने भर्खरका केटाहरूलाई समेत भर्ती गरिरहेका छन्। तर, मान्छेको अभाव भएकाले उनीहरूलाई यसै पनि लैजानैपरेको छ। रोग र अपमानले तिम्रो मुटु तोडिसकेको छ। तिमीले आफ्ना अभिभावक, शिक्षक, धर्मगुरु र यहाँसम्म कि आफ्नै सरकारबाट पनि धोका पाएका छौ।
बिस्तारै सिगार तानेको त्यो जनरलले पनि तपाईंलाई धोका दियो। तपाईंलाई एउटा गुन्डा र ज्यानमारामा बदलिदियो। सकेको भए तपाईंले उसको अनुहारमै गोली दागिदिनुहुन्थ्यो। त्यो कमान्डरलाई पनि। पैसा भएको भए जोकोहीले कुनै पनि तरिकाले उसको ज्यान लिने साहस गर्नेलाई इनाम घोषणा गरेको कल्पना गर्नुहुन्छ तपाईं। त्यसो गर्दा उसको ज्यान गयो भने बरु त्यो पैसा उसका उत्तराधिकारीलाई जाओस्। विलासिता र आफ्नै कफीसहितको त्यो कर्णेल पनि त्यस्तै व्यक्ति हो। ऊ पूरै समय अधिकृतहरूको वेश्यालयमा बिताउँछ। उसलाई ढुंगा हानेर मारिएको देख्न चाहनुहुन्छ तपाईं। ह्वाय्क् फोर मी ड्याडी र ह्विस्की इन द जार जस्ता रमाइला लोकभाकासहितका अन्य सैनिक जवान पनि। तिनीहरूमध्ये २० जनालाई मार्नुभयो भने तिनको ठाउँमा अर्को २० जना तुरुन्तै आउँछन्। यो तपाईंको नाकभित्रैदेखि गन्हाउँछ।
तपाईंलाई यो पागलपन, यो यातनागृहमा धकेल्ने त्यो पुरानो पुस्तालाई तपाईंले घृणा गर्न थाल्नुभएको छ। तपाईंको वरिपरि सबैतिर कमरेडहरू मरिरहेका छन्। भुँडीका घाउबाट, दुवै खुट्टा छिनेर, कम्मरका हड्डी चकनाचुर भएर मरिरहेका छन् र तपाईं सोच्नुहुन्छ, ‘म केवल २० वर्षको छु, तर म जसलाई पनि मार्न सक्छु। ममाथि जाइलागेमा मेरा बाबुलाई पनि।’
तपाईंले घाइते भएको सन्देशवाहक कुकुरलाई बचाउने प्रयास गर्नुभयो हिजो। कोही चिच्यायो ‘मूर्ख नबन्।’ एउटा ‘फ्रग्गी’ तपाईंको खुट्टामुनि घरघराइरहेको छ। तपाईंले उसको पेटमा चक्कु रोप्नुभएको थियो, तर ऊ अझै जिउँदै छ। काम तमाम गर्नुपर्छ भन्ने तपाईंलाई थाहा छ, तर तपाईं असमर्थ हुनुहुन्छ। तपाईं वास्तविक फलामे क्रुसमा हुनुहुन्छ र एउटा रोमन सैनिकले भिनेगरमा स्पोन्ज भिजाएर तपाईंका ओठ भिजाइरहेको छ।
महिना बितेर जान्छन्। तपाईं बिदामा घर फर्कनुहुन्छ। तपाईं आफ्ना बाबुसँग संवाद गर्न सक्नुहुन्न। उनले भनेका थिए, ‘भर्ती नभएमा तिमी काँतर ठहर्छौ।’ तपाईं फेरि फर्किन ढोका बाहिर पुग्दा तपाईंकी आमाले पनि भन्छिन्, ‘ती फ्रान्सेली केटीहरूसँग चाहिँ सावधान रहनू अब।’ थप पागलपन। तपाईं हप्ता वा महिना दिन लड्नुहुन्छ र १० गज जमिन जित्नुहुन्छ। अनि अर्को महिना त्यो फेरि गुम्छ।

हजार वर्ष पहिलाको त्यो सम्पूर्ण संस्कृति, त्यो दर्शन, त्यो बुद्धत्व। प्लेटो, अरस्तु, सुकरात। त्यसको के भयो? त्यसले त यो सब रोक्नुपर्थ्यो । तपाईंका विचार फेरि घरतिर फर्कन्छन्। अनि फेरि तपाईं आफूलाई पोप्लरका अग्ला रूखहरूबीच हिँडिरहेको स्कुले केटोका रूपमा पाउनुहुन्छ। त्यो एउटा सुमधुर झझल्को हो। युद्धक विमानबाट तपाईंमाथि थप बम खसिरहेका छन्। अब तपाईंले आफूलाई सम्हाल्नुपर्छ। कुनै हिसाब बिग्रिने घटना हुन सक्छ भन्ने डरले तपाईं कसैलाई हेर्नसमेत सक्नुहुन्न। साझा चिहान बन्छ। अरू कुनै सम्भावना छैनन्।
त्यसपछि तपाईं चेरीका फूल ख्याल गर्नुहुन्छ र प्रकृति यी सबैबाट प्रभावित छैन भन्ने बुझ्नुहुन्छ। त्यसपछि पोप्लरका रूख, राता पुतली, फूलहरूको क्षणभंगुर सौन्दर्य अनि सूर्य। तपाईं देख्नुहुन्छ कि प्रकृति यी सबैप्रति तटस्थ छ। त्यस्तै, सम्पूर्ण मानव जातिको हिंसा र पीडाप्रति। प्रकृतिले यसलाई देखेको पनि छैन।
तपाईं अत्यन्त एक्लो हुनुहुन्छ। त्यसपछि छर्राको एउटा टुक्रा तपाईंको टाउकाको छेउपट्टि लाग्छ अनि तपाईं मर्नुभयो। तपाईंलाई हटाइयो, नाम काटियो। तपाईंलाई समाप्त पारियो। मैले यो किताब तल राखेँ अनि बन्द गरेँ। मैले युद्धसम्बन्धी अर्को उपन्यास फेरि कहिल्यै पढ्न चाहिनँ र पढिनँ पनि।
नर्थ क्यारोलिनाका चार्ली पुलको एउटा गीत थियो जुन यी सबैसँग जोडिन्थ्यो। त्यसको नाम थियो ‘यु एन्ट् टकिन् टु मी’ र त्यसका शब्द यस्ता थिए,
एकदिन सहरतिर हिँड्दै जाँदा एउटा झ्यालमा लेखिएको सूचना देखेँ मैले।
त्यसलाई यत्ति भन्नु थियो, सेनामा भर्ती होऊ, संसार हेर।
रमाइला दलका सदस्यसँग तिमीले रमणीय ठाउँ देख्नेछौ,
रोचक मानिस भेट्नेछौ र तिनलाई मार्न पनि सिक्नेछौ।
ओ, तिमी मसँग बोलेका छैनौ, तिमी मसँग कुरा गरिरहेका छैनौ।
म पागल वा यस्तै हुँला, तर तिमी बुझ्छौ मसँग राम्रो समझ छ।
तिमी मसँग बोलेका छैनौ, तिमी मसँग कुरा गरिरहेका छैनौ।
बन्दुकले मार्नु रमाइलो हो जस्तो लाग्दैन।
तिमी मसँग बोलेका छैनौ।
द ओडिसी एउटा महान् कृति हो जसका मूल विषयवस्तुले धेरै गीतकारका बालाडमा आफ्नो ठाउँ बनाएका छन्। ‘होमवार्ड बाउन्ड’, ‘ग्रिन ग्रिन ग्रास अफ होम’, ‘होम अन द रेन्ज’ र मेरा गीतले पनि।
द ओडिसी युद्धमा लडिसकेपछि घर फर्कन खोजिरहेको एक प्रौढ पुरुषको अनौठो र साहसिक कथा हो। ऊ घर फर्किने लामो यात्रामा छ र त्यो यात्रामा छन् थुप्रै जाल–जोखिम। ऊ भौँतारिन अभिशप्त छ। ऊ सधैँ समुद्रतिर बगाइन्छ। सधैँ संकटको नजिक पुग्छ। विशाल चट्टानका टुक्राले उसको डुंगालाई हल्लाउँछन्। नहुने मान्छेलाई उसले रिस उठाउँछ। उसको टोलीमा समस्या सिर्जना गर्ने मानिस छन्। धोका छ। उसका मानिस सुँगुरमा फेरिइन्छन् अनि फेरि अझ जवान र सुन्दर पुरुषका रूपमा फर्काइन्छन्। ऊ सधैँ कसैलाई उद्धार गर्न खोजिरहेको हुन्छ। ऊ यात्रा गर्ने मानिस हो, तर धेरै विश्राम लिइरहेको छ।
ऊ एउटा निर्जन टापुमा अलपत्र छ। उसले सुनसान गुफाहरू भेट्टाउँछ र त्यहाँभित्र लुक्छ। उसले दैत्यहरू भेट्छ जो ‘तँलाई सबैभन्दा अन्तिममा खान्छु’ भन्छन्। अनि ऊ ती राक्षसबाट उम्किन्छ। ऊ घर फर्कन खोजिरहेको छ, तर हावाले उसलाई माथितिर उछिट्याउँदै पल्टाइरहन्छ। बेचैन हावा, ठिहिर्याउँदो हावा, शत्रुतापूर्ण हावा। ऊ टाढा पुग्छ अनि फेरि घँचेटिएर पुग्छ त्यही ठाउँमा।
भविष्यका घटनाका बारेमा उसलाई सधैँ सचेत गराइन्छ। छुन नहुने भनिएका वस्तु ऊ छोइरहन्छ। त्यहाँ दुइटा बाटा छन् र दुवै खराब छन्। दुवै खतरा निम्त्याउने खालका। एउटामा ऊ डुब्न सक्छ र अर्कोमा भोकले मर्न सक्छ। ऊ साँघुरा समुद्री मार्गहरूमा प्रवेश गर्छ जहाँ फिँजले भरिएका भुमरीले उसलाई निल्छन्। उसले ६ वटा टाउका अनि तीखा दाह्रा भएका राक्षसहरू भेट्छ। चट्याङहरू उसैलाई प्रहार गर्छन्। उर्लंदो नदीबाट आफूलाई बचाउन माथिपट्टि झुन्डिएका हाँगा समात्न ऊ छलाङ मार्छ। केही देवीदेवताले उसको रक्षा गर्छन्, तर केहीले उसलाई मार्न चाहन्छन्। ऊ परिचय बदल्छ। ऊ लखतरान परेको छ। ऊ निदाउँछ र हाँसोको आवाजले बिउँझिन्छ। अपरिचितहरूलाई ऊ आफ्नो कथा सुनाउँछ। ऊ गएको २० वर्ष भइसक्यो। उसलाई कतै लगेर त्यहीँ छोडियो। उसको मदिरामा लागुऔषधको चक्की खसालिएको छ। यो यात्राको बाटो कठिन रह्यो।
धेरै किसिमले यीमध्ये केही अवस्था तपाईंलाई पनि आइपरेको छ। तपाईंको पनि मदिरामा लागुऔषध मिसाइएको छ। तपाईंले पनि गलत स्त्रीसँग एउटै ओछ्यानमा सुत्नुभएको छ। तपाईं पनि जादुमय आवाज, अनौठा धुन भएका सुमधुर स्वरहरूले मोहित हुनुभएको छ। तपाईं पनि धेरै टाढा पुग्नुभएको छ अनि फेरि त्यत्तिकै टाढा पछाडि फ्याँकिनुभएको छ। तपाईं पनि मृत्युनजिक पुग्नुभएको छ। तपाईंले पनि नहुने मान्छेलाई क्रुद्ध बनाउनुभएको छ। तपाईं पनि यो देशभर भौँतारिनुभएको छ। अनि तपाईंले पनि महसुस गर्नुभएको छ, त्यो खराब वायु जसले तपाईंका लागि कुनै राम्रो कुरा ल्याउँदैन।
त्यो मात्र सबथोक होइन। ऊ घर फर्कंदा त्यहाँको अवस्था पनि पहिलेभन्दा राम्रो छैन। दुष्ट मानिस घरमा बस्न थालेका छन् र उसकी पत्नीको आतिथ्यको दुरुपयोग गरिरहेका छन्। उनीहरू अत्यधिक संख्यामा छन्। ऊ अरू सबैभन्दा महान् र सिकर्मी, सिकारी, पशुविज्ञ वा नाविकका रूपमा सबै कुरामा उत्कृष्ट भए पनि उसलाई आफ्नो साहसले बचाउँदैन। तर, चातुर्यले बचाउँछ।
उसको दरबार अपवित्र पारेको मोल ती सबै भगौडाहरूले तिर्नुपर्नेछ। ऊ घिनलाग्दो भिखारी भएको नाटक गर्छ अनि एउटा निम्न तहको नोकरले घमन्ड र मूर्खता देखाउँदै उसलाई लात हानेर सिँढीबाट तल झार्छ। त्यस नोकरको अहंकारले उसलाई विद्रोही बनाउँछ, तर ऊ आफ्नो रिसलाई नियन्त्रण गर्छ। सय जनाविरुद्ध ऊ एक्लै छ, तर अन्ततः ती सबै ढल्छन्। बलियाबांगा पनि। ऊ केही थिएन। सबै कुरा भनिएपछि र सोहीअनुसार गरिएपछि ऊ अन्ततः घर फर्कन्छ अनि ऊ आफ्नी पत्नीसँग बस्छ र आफ्ना कथाहरू सुनाउँछ।

यी सबैको अर्थ के हो त? म स्वयं र अन्य थुप्रै गीतकार यी यस्तै विषयवस्तुबाट प्रभावित भएका छौँ। तिनले धेरै फरक अर्थ दिन सक्छन्। यदि कुनै गीतले तपाईंलाई स्पर्श गर्छ भने सबैभन्दा महत्त्वपूर्ण कुरा नै त्यही हो। मलाई गीतको अर्थ के हो भनेर जान्न आवश्यक छैन। मैले आफ्ना गीतभित्र धेरै किसिमका कुरा लेखेको छु। र म त्यसको अर्थ के हो भनेर त्यसबारे चिन्ता गर्न गइराखेको छैन। (हर्मन) मेल्भिल पनि पुरानो करारका सन्दर्भ, बाइबलसँग सम्बन्धित संकेत, वैज्ञानिक सिद्धान्त, प्रोटेस्टेन्ट मान्यता र समुद्र, जहाज र ह्वेलसँग सम्बन्धित सम्पूर्ण ज्ञानलाई एउटै कथामा मिसाउँदा त्यसको के अर्थ लाग्छ होला भनेर चिन्तित थिए भन्ने मलाई लाग्दैन।
जोन डह्न पनि। सेक्सपियरको समयमा बाँचेका कवि–पादरीले यी शब्द लेखेका थिए ‘द सेस्टोस एन्ड एबिडोस अफ हर ब्रेस्ट्स। नट अफ टु लभर्स बट टु लभ्स, द नेस्ट्स।’ यसको अर्थ मलाई पनि थाहा छैन। तर, यो सुन्दा राम्रो लाग्छ। अनि तपाईं आफ्ना गीत पनि राम्रो सुनियोस् भन्ने चाहनुहुन्छ।
ओडिसीमा अडिसियसले पाताल लोकका प्रसिद्ध योद्धा अकिलिसलाई भेट्छन्। शान्ति र सन्तुष्टिले भरिएको लामो जीवन त्यागेर सम्मान र गौरवले परिपूर्ण छोटो जीवन रोजेका अकिलिसले अडिसियसलाई भन्छन् कि त्यो सबै एउटा भुल थियो। ‘म मरेँ मात्रै, त्यत्ति हो।’ त्यहाँ कुनै इज्जत थिएन। कुनै अमरत्व थिएन। अनि सम्भव हुन्थ्यो भने, मृतहरूको भूमिको राजा भएर बस्नुभन्दा बरु ऊ पृथ्वीमा कुनै मोहिया किसानको निम्नस्तरको कमारो भएर फर्किन रोज्थ्यो। किनभने, उसका जीवनमा जस्तासुकै संघर्ष भए पनि यो मृत ठाउँमा बस्नुभन्दा बेस थियो।
गीत पनि त्यस्तै हुन्। हाम्रा गीत जीवितहरूको संसारमा बाँचेका छन्। तर, गीत साहित्य जस्ता होइनन्। ती गाउनका लागि बनाइएका हुन्, पढ्नका लागि होइनन्। सेक्सपियरका नाटकका शब्द मञ्चमा अभिनय गर्नका लागि लेखिएका थिए। त्यसैगरी, गीतका शब्द गाउनका लागि हुन्। पानामा पढ्नका लागि होइनन्। म आशा गर्छु, तपाईंहरूमध्ये केहीले यी शब्द जसरी सुनिनुपर्ने हो त्यसैगरी सुन्ने अवसर पाउनुहुनेछ। कन्सर्टमा, रेकर्डमा वा आजभोलि मानिसहरूले गीत जसरी सुनिरहेका छन् त्यसैगरी। म फेरि एकपटक होमरतिर फर्कन्छु जसले भनेका छन्, ‘हे देवी, मभित्र गाऊ र ममार्फत यो कथा सुनाऊ।’
(सन् २०१६ मा नोबेल साहित्यतर्फको नोबेल पुरस्कार घोषणा गरिँदा अमेरिकी गायक, संगीतकार तथा गीतकार बब डिलनले सो पुरस्कार पाउने पहिलो संगीतकर्मीका रूपमा इतिहास रचे। पुरस्कार पाएपछि नौ वर्षअघि आजकै दिन ५ जुन २०१७ मा डेलनले दिएको नोबेल व्याख्यानको अनुवाद नारायण भण्डारीद्वारा गरिएको हो।)