सात सवाल

२३ जेष्ठ २०८३
रश्मि रञ्जन परिदा। तस्बिर सौजन्य : परिदाको फेसबुक
अ+
अ-

रश्मि रञ्जन परिदा भारतको ओडिशामा सन् २०१४ देखि सुरु भएको अन्तर्राष्ट्रिय कलिङ साहित्य महोत्सवका संस्थापक हुन्। उनकै नेतृत्वमा नेपालमा समेत आयोजना हुने अन्तर्राष्ट्रिय कलिङ साहित्य महोत्सवको चौथो संस्करण आजबाट काठमाडौँमा सुरु भएको छ। नेपाल, भारतलगायत दक्षिण एसियाका प्रतिष्ठित लेखक, कलाकार, चिन्तकहरुको उपस्थिति हुने दुई दिने साहित्य महोत्सव सन्दर्भमा नेपालन्युजका लागि परिदासँग गरिएको सात सवालः

१) नेपाल र भारतबीचको साझा काठमाडौँ कलिंग साहित्य महोत्सव गर्ने अवधारणा कसरी विकसित भयो?

सन् २०२१ मा नेपालबाट गएका साहित्यकार तथा सांस्कृतिक प्रतिनिधिहरूले भारतको भुवनेश्वरमा आयोजित कलिंग साहित्य महोत्सवमा सहभागिता जनाएका थिए। त्यस यात्राका क्रममा नेपाल र कलिंग, विशेषगरी काठमाडौँ र जगन्नाथ संस्कृतिबीचको प्राचीन सम्बन्धबारे छलफल भएको थियो।

धेरैका लागि यो भावनात्मक खोज थियो कि हाम्रो धार्मिक, सांस्कृतिक र साहित्यिक सम्बन्ध आधुनिक राजनीतिक सीमाभन्दा निकै पुरानो रहेछ। त्यही संवादले नेपालमा यस्तो मञ्च निर्माण गर्ने विचार आयो, जसलाई नेपाली साहित्यिक वृत्तकै नेतृत्व र मार्गदर्शनमा अगाडि बढाउन सकियोस्।

२) महोत्सव सुरु गर्दा यसको मुख्य उद्देश्य के थियो?

सुरुदेखि नै यसको उद्देश्य साहित्यिक कार्यक्रम आयोजना गर्नु मात्र थिएन। नेपाल र भारतबीच परापूर्वकालदेखि जोडिएको साहित्यिक, सांस्कृतिक, आध्यात्मिक तथा सभ्यतागत सम्बन्धलाई समकालीन मञ्च प्रदान गर्नु थियो।

हामी लेखक, चिन्तक, अनुवादक, पत्रकार, कलाकर्मी तथा युवा पाठकलाई यस्तो वातावरणमा एकत्रित गराउन चाहन्थ्यौँ, जहाँ सीमाभन्दा संवाद महत्त्वपूर्ण होस्। राष्ट्रिय पहिचानसँगै साझा सांस्कृतिक स्मृतिको पनि सम्मान गरियोस्।

३) महोत्सवले नेपाल, भारत र दक्षिण एसियाको कला, साहित्य र संस्कृतिलाई जोड्न कस्तो योगदान दिन सक्छ वा दिइरहेको छ?

दक्षिण एसियाको सबैभन्दा ठूलो शक्ति यसको विविधता हो। तर, कहिलेकाहीँ यही विविधता संवादको अभावमा दूरीको कारण पनि बन्न सक्छ। साहित्यिक महोत्सवहरूले यो दूरी कम गर्न सक्छन्।

यस महोत्सवले दक्षिण एसियाको कला र संस्कृतिलाई अतीतको सम्पदाका रूपमा मात्र हेर्दैन, यसले जीवित, गतिशील र भविष्य निर्माण गर्ने शक्तिका रूपमा हेर्नुपर्ने सन्देश दिएको छ। हाम्रो दृष्टिमा नेपाल र भारतबीचको सम्बन्ध केवल कूटनीतिक वा आर्थिक सम्बन्ध होइन। ती गीत, कथा, लोकस्मृति, तीर्थ, भाषा, पर्व, परिवार र भावनाले बनेका सम्बन्ध हुन्। महोत्सवले यही जीवित सम्बन्धलाई सिर्जनात्मक रूप दिएको छ।

४) तपाईंको दृष्टिमा नेपाली कला, साहित्य र संस्कृतिका खास विशेषता के हुन्, जसले विश्वस्तरमा अलग पहिचान दिन्छन्?

नेपाली कला, साहित्य र संस्कृतिको सबैभन्दा ठूलो विशेषता यसको गहिरो संवेदनशीलता हो। यसमा हिमालयको उचाइ पनि छ र लोकजीवनको आत्मीयता पनि।

नेपाली साहित्यमा प्रकृति, स्मृति, संघर्ष, अध्यात्म, प्रेम, विस्थापन, लोकतान्त्रिक चेतना र सामाजिक परिवर्तनको अद्भुत समन्वय देखिन्छ।

नेपालको सांस्कृतिक पहिचान बहुआयामिक छ। यहाँ अनेक भाषा, समुदाय, परम्परा, आस्था र कलात्मक अभिव्यक्तिहरू एकैसाथ जीवित छन्। यो विविधता सहअस्तित्व मात्र नभई सिर्जनाको स्रोत पनि हो। स्थानीय भएर पनि यसले विश्वव्यापी अनुभवसँग संवाद गर्न सक्ने क्षमता बोकेको छ।

पहाड, सीमा, प्रवास, स्मृति, परिवार, समाज र पहिचानका प्रश्नहरू आज विश्वभर महत्त्वपूर्ण छन्। नेपाली स्रष्टाले यी विषयलाई आफ्नै विशिष्ट संवेदनासहित प्रस्तुत गर्दै आएका छन्। यदि अनुवाद, प्रकाशन, डिजिटल प्रसार तथा अन्तर्राष्ट्रिय साहित्यिक सहकार्यलाई थप प्रोत्साहन गर्न सकियो भने नेपाली साहित्यको विश्वव्यापी पहिचान अझ सशक्त बन्न सक्छ।

५) आजको डिजिटल युगमा यस्ता साहित्यिक महोत्सवका आवश्यकता र सीमा के के हुन्? नेपाल, भारत तथा अन्य देशका बौद्धिक तथा सर्जक एउटै मञ्चमा ल्याउँदा कस्तो संवादको अपेक्षा राख्नुहुन्छ?

डिजिटल युगले साहित्यलाई अवसर र चुनौती दुवै दिएको छ। आज कुनै कविता, कथा वा विचार केही क्षणमै विश्वभरि फैलिन सक्छ। नयाँ लेखकहरू ठूलो संस्थागत सहयोगबिनै पाठकसम्म पुग्न सक्छन्। क्षेत्रीय भाषाहरूका लागि पनि नयाँ डिजिटल सम्भावना खुलेका छन्।

अर्कातर्फ, मान्छेहरूको ध्यान केन्द्रित गर्ने समय घटेको छ, सतही र छिटै प्रतिक्रिया पाउने होडबाजी चलेको छ। यस्ता महोत्सवले गम्भीर संवादमार्फत हामीलाई केहीबेर रोकिन, गहिरिएर सोच्न र अरूका अनुभव बुझ्न प्रेरित गर्छन्।

नेपाल, भारत र अन्य देशका लेखक, कलाकार तथा चिन्तकबीच हुने आदानप्रदानले फराकिलो दृष्टिकोण विस्तार गर्छ।

हामी यस्तो संवादको अपेक्षा गर्छौं, जुन सम्मानजनक, जिज्ञासु र आलोचनात्मक होस्, तर विभाजनकारी नहोस्। हाम्रो उद्देश्य सहमति निर्माण गर्नु होइन, हाम्रा बुझाइलाई अझ गहिरो बनाउनु हो।

६) महोत्सव आयोजना गर्दा लाग्ने खर्च र अन्य स्रोतसाधन कसरी जुटाइन्छ?

यति ठूलो महोत्सव आयोजना गर्नु सामूहिक प्रयास हो। यसमा स्थल व्यवस्थापन, आतिथ्य, यात्रा, प्राविधिक तयारी, प्रचारप्रसार, प्रकाशन, सांस्कृतिक कार्यक्रम, स्वयंसेवक व्यवस्थापन तथा अन्य धेरै पक्ष समावेश हुन्छन्।

स्रोतसाधन विभिन्न माध्यमबाट जुटाइन्छ। संस्थागत सहयोग, प्रायोजक, सांस्कृतिक साझेदार, स्थानीय सहकार्य, शुभेच्छुक तथा स्वयंसेवकहरूको योगदान यसमा महत्त्वपूर्ण हुन्छ।

हामी सधैँ महोत्सव गरिमामय होस् भन्ने चाहन्छौँ, तर अनावश्यक तडकभडकबाट टाढा रहन्छौँ। हाम्रा लागि आर्थिक सहयोग महत्त्वपूर्ण छ, तर त्यसभन्दा पनि महत्त्वपूर्ण सम्पादकीय स्वतन्त्रता र साहित्यिक विश्वसनीयता हो।

हाम्रो उद्देश्य केवल भीड बढाउनु होइन, सार्थक सहभागिता बढाउनु हो। हामी चाहन्छौँ कि प्रत्येक सत्रमा अर्थपूर्ण संवाद होस्, श्रोताहरू सक्रिय रूपमा जोडियून् र साहित्यप्रति दीर्घकालीन रुचि विकास होस्। आलोचनाले हामीलाई अझ राम्रो बन्ने अवसर दिन्छ, र हामी त्यसको स्वागत गर्छौं।

७) कलिंग साहित्य महोत्सवमा जति धेरै सेसन हुन्छन्, त्यसको अनुपातमा दर्शक-श्रोताको उपस्थिति कम हुने गरेको आलोचना सुनिन्छ। यसलाई तपाईं कसरी हेर्नुहुन्छ?

यो जायज आलोचना हो र हामी यसलाई गम्भीरतापूर्वक लिन्छौँ। कुनै पनि महोत्सव आत्ममूल्यांकनबाट टाढा भाग्नु हुँदैन।

विभिन्न भाषा, विषय, पुस्ता र सिर्जनात्मक विधालाई स्थान दिन केएलएफमा हामी धेरै समानान्तर सत्र राख्छौँ। समानान्तर सत्रका कारण दर्शक विभिन्न सभाहलमा विभाजित हुन्छन्। केही सत्रमा धेरै सहभागी र केहीमा कम हुनु स्वाभाविक हो। हामी संख्याभन्दा अर्थपूर्ण र आत्मीय संवादलाई प्राथमिकतामा राख्छौँ।

चर्चित नाम र लोकप्रिय विषयमा मात्र केन्द्रित भइयो भने धेरै महत्त्वपूर्ण तर कम चर्चित आवाजहरू मञ्चबाहिर छुट्छन् भन्ने हाम्रो बुझाइ हो।

तथापि, हामीले सत्रको संख्या, समयतालिका, विषय छनोट, वक्ता, दर्शक सहभागिता, विश्वविद्यालय तथा पाठक समूहसँगको सहकार्यमा सन्तुलन कायम राख्नैपर्छ। हामी यस्तो सन्तुलनका लागि प्रयासरत छौँ।