पुस्तक

२७ असार २०८३
अ+
अ-

केशव दाहालको पहिलो औपन्यासिक कृति दासमुक्तिको महावृत्तान्त मोक्षभूमि पढेकाले उनको दोस्रो आख्यान इथाप्रति प्रकाशोन्मुख अवस्थादेखि नै म जिज्ञासु थिएँ। दाहालले दोस्रो उपन्यासका निम्ति फेरि पनि ऐतिहासिक भावभूमि नै रोजेका छन्। अखबारका पाना र अनलाइनका डिजिटल पर्दामा विचारोत्तेजक विश्लेषण छाप्ने दाहालले साहित्यमा कल्पनाको उडानका निम्ति आख्यान र त्यसमाथि पनि ऐतिहासिकता रोज्नु आफैँमा उपन्यास जत्तिकै रोचक छ।

दाहालको नवीनतम उपन्यासकृति इथाको भावभूमि इतिहास भए पनि यो अघिल्लो कृति मोक्षभूमिको ‘सिक्वेल’ भने होइन। इतिहासका फरक फरक कालखण्ड र नितान्त बेग्लै विषयसहित यसपटक दाहाल पाठकको कठघरामा उभिएका छन्।

नेपाली शब्दकोशमा ‘इथा’ को अर्थ भेटिँदैन। कतिपय शब्दका निश्चित अर्थ हुँदैनन् र ती शब्दकोश बाहिरै हुन्छन्। कतिपयले इथा व्यक्तिविशेषको नाम हुन सक्ने अनुमान गर्छन्। यस्तो अनुमानलाई शंकाको सुविधा दिन सकिन्छ। किनकि, इथा यदि नाम हो भने त्यो व्यक्तिको नभएर कृति अर्थात् उपन्यासको हो। इतिहास र आख्यानको संयोजन (फ्युजन)बाट बनेको शब्द हो इथा, जसलाई अर्थ्याउँदै उपन्यासकार भन्छन्, ‘लौकिक र अलौकिक संसारको थोरै पनि भेद नरहेको इथालय अर्थात् कथा र इतिहासको परावर्तित लोक हो इथा। इतिहास, कथा, स्वैरकल्पना र सिद्धान्त वा वैचारिकीको सम्मिश्रण हो इथा।’ यसरी कृतिको नामबाटै सिर्जनशील देखिन्छन् उपन्यासकार दाहाल।

इथा कथाजस्तो इतिहास र इतिहास जस्तो कथा हो। जसै उपन्यास अमरावती नामको सुरम्य नगरबाट आरम्भ हुन्छ, कथा र इतिहासबीच नदीझैँ बग्न थाल्दछ, एउटा मिहिन अदृश्य धर्सो जसको खेलले पाठक इथा कथा हो या इतिहास भन्नेमा रनभुल्ल पर्छन्।

इथाको केन्द्रीयता नारीमुक्ति हो। नारीको स्वअस्तित्व र स्वतन्त्रता यसको मियो हो। दुई नारी पात्रहरू वसुधा र नयनताराको सेरोफेरोमा बुनिएको नेपालमण्डलको मल्लकालीन र शाक्यमुनि गौतम बुद्धकालीन परिवेशका दुई फरक कथानकलाई उपन्यासकारले समक्रमिक (सिन्क्रोनाइज्ड) गरेका छन्। वसुधाको मल्लकालबाट लेखकले ‘टाइम मेसिन’ मार्फत पाठकलाई बुद्धकालीन समयमा विचरण गराउँछन्।

आत्मदाहको निर्णयमा पुग्ने वसुधा हुन् वा राजा प्रमातीसँग स्वैच्छिक सम्बन्धविच्छेदका कारण रानीबाट श्वेत चीवर धारण गर्ने नयनतारा, दुवै सशक्त नारी पात्र हुन्। आत्मदाहको मार्ग होस् वा भिक्षुणीको निवृत्तिमार्ग, दुवै नारी पात्र स्वअस्तित्वको लडाइँ लड्दछन्।

जब पूर्वकुमारी वसुधा प्रेमी राजकुमार शुभकामदेवबाट स्तनमा कोठी भएकाले अंगदोषका कारण तिरस्कृत हुन्छिन्, उनी ती ‘प्रेमी’ सँग बदला लिन निर्णयमा पुग्छिन्। र, त्यो बदला इन्द्रजात्राको दिन आत्मदाहमार्फत पूरा गर्न चाहन्छिन्। आत्मदाह वसुधाका निम्ति कायरता नभएर एक प्रतिशोध हुन्छ। प्रेमका नाममा प्रेमिकाको अस्तित्वउपरको अपमानको विद्रोह हुन्छ। कुमारी वसुधाको प्रतिशोधको कथानक इथाको कथाराम्भ हो, जसलाई लेखकले अर्को नारी पात्र नयनताराका ‘नपुंसक’ तर युद्ध-उन्मादी पति प्रामती र सम्झौताका पति ‘दास्ती’ सँगका प्रतिशोधका कथानकहरूसँग समक्रमिक गरेका छन्।

आत्मदाहको निर्णयमा पुग्ने वसुधा हुन् वा राजा प्रमातीसँग स्वैच्छिक सम्बन्धविच्छेदका कारण रानीबाट श्वेत चीवर धारण गर्ने नयनतारा, दुवै सशक्त नारी पात्र हुन्। आत्मदाहको मार्ग होस् वा भिक्षुणीको निवृत्तिमार्ग, दुवै नारी पात्र स्वअस्तित्वको लडाइँ लड्दछन्। उनीहरू परम्परा नामका अनेकौँ स्त्रीद्वेषी जँघार तर्दछन्।

नारीलाई भोग्या मात्र ठान्ने पुरुषग्रन्थिको इथाले भरपुर चिरफार गरेको छ। नाट्य प्रतियोगितामा विजयी भए वैशाली नरेश प्रमातीकी रानी हुने र कथं पराजित भए नर्तकी अम्रपाली मण्डलकी नगरवधू हुनुपर्ने द्विविधाबीच पनि नयनताराले नारी स्वअस्तित्वलाई सर्वोपरि मान्नुबाट इथाको केन्द्रीयता नारीमुक्ति हो भन्ने स्पष्ट हुन्छ। ‘नगरवधू नै बने भने पनि भोग्या बन्नेछैन। बन्नेछु एक स्वाभिमानी स्त्री’ भन्ने नयनताराको अठोट नारी स्वअस्तित्वको शंखघोष हो। ती नारीहरू प्रेम, विवाह र यौनको नैतिकता र निष्ठासँग कुनै सम्बन्ध देख्दैनन् र अविश्रान्त स्वअस्तित्वको लडाइँ लड्दछन्।

कथा र इतिहासबीचको झिनो रेखाको चर्चा भइहाल्यो, इथाको एउटा उल्लेखनीय पक्ष यसभित्रको दर्शन हो। शास्त्र र दार्शनिक मीमांसा हो। उपन्यासमा दुई अलग अध्यायहरू धर्म र दर्शनको मीमांसाका निम्ति छुट्याइएका छन्। शाक्यमुनि बुद्धकालीन परिवेश भएकाले सारनाथमा तथागत बुद्ध तथा नयनतारा र धान्यवतीबीचको संवाद र त्यसैगरी मञ्जुपट्टनमा राजकुमार सुपुष्पद्वारा आयोजित महायज्ञका धर्म र दर्शनका बहस, उपन्यासका सबैभन्दा गहन, अझ भन्नुपर्दा गह्रौँ खण्डहरू हुन्।

महायज्ञमा निम्त्याइएका तथागत बुद्ध, महामुनि महावीर, विदुषी गार्गी, विद्वान् अष्टवक्र, आचार्य शुकदेवलगायतसँगका प्रश्नोत्तर खासमा धर्म र दर्शनबारे आदिकालदेखि सोधिँदै आएका सार्वकालिक र ‘धेरै सोधिने प्रश्न’ अर्थात् अहिलेको भाषामा ‘फ्रिक्वेन्ट्ली आकस्ड कोइसन्स’ (एफएक्यू) हुन्। जहाँ यज्ञका कर्ता तथा उपस्थित सामान्यजन ती मनीषिहरूउपर आफ्ना प्रश्न र जिज्ञासाका वर्षा गर्दछन्। जस्तै, ‘जन्मको रहस्य के हो?’, ‘के मृत्यु डरलाग्दो हुन्छ?’, ‘आत्माको अस्तित्व के हो?’, ‘मोक्षको मार्ग के हो?’, ‘चित्त के हो?’, आदि-इत्यादि।

उपन्यास लेखकको पूर्ण पडकमा रहेको छ। उनी कहीँकतै पनि बहकावमा देखिँदैनन् र आफ्ना पात्रहरू उपर काव्यिक न्याय (पोयटिक जस्टिस) दिन चुक्दैनन्।

सामान्यजनका निर्बोध तर गहन यी प्रश्नहरू बुद्ध वा महावीरका मुखारविन्दबाट नै दिइनु लेखकको सानो धृष्टता होइन। यी र यस्ता प्रश्न अनि अध्यायहरू नराख्दा पनि कथानकमा कुनै असर नपर्ने भलिभाँती जान्दाजान्दै लेखकले यस्ता गहन विषय समावेश गर्नु चाहिँ उपन्यासको वैचारिकी मान्न सकिन्छ। आख्यानको मिठो चास्नीमा धर्मदर्शनको मीमांसा लेखकले सम्भवत: पुस्तकको ‘ओज’ बढाउन गरेको हुनुपर्छ। यद्यपि, यी प्रश्न र प्रसंग पाठकले आफ्नो रुचिअनुसार पढ्न वा पन्छाउन सक्नेछन्। यसो गरिँदा कथाको बहावमा कुनै असर पर्नेछैन।

इथाको सबैभन्दा सबल पक्ष भाषिक लालित्य हो। उपन्यासकार दाहालको भाषा जति लालित्यपूर्ण छ, वर्णन र काल्पनिकी त्योभन्दा मुग्धकारी छ। कथाको परिवेश यति चित्रमय छ, पानाहरू पल्टाउँदै जाँदा पाठक स्वप्नमय संसारमा विचरण गर्न पुग्दछ। उपन्यास पढ्नुको आह्लाद इथामा भरपुर अनुभूत गर्न सकिन्छ।

कथा पाठकलाई मात्र नभएर स्वयं लेखकका निम्ति पनि आनन्ददायी भएको महसुस गर्न सकिन्छ। ‘इथांश’ अध्यायमा नयनताराको कथानक बढाउँदै गर्दा लेखक वसुधा सम्झिन पुग्दछन्। फेरि, सारनाथबाट बिदा भएकी नयनतारालाई उनी सुपुष्पको गुरुकुल तक्षशीलाको नाममा गोलमाल गरिदिन्छन्। आशा छ, लेखकले आगामी संस्करणमा यी त्रुटि सच्याउनेछन्।

यति भन्दाभन्दै उपन्यास लेखकको पूर्ण पडकमा रहेको छ। उनी कहीँकतै पनि बहकावमा देखिँदैनन् र आफ्ना पात्रहरू उपर काव्यिक न्याय (पोयटिक जस्टिस) दिन चुक्दैनन्। खराब र अहंकारी शासकलाई दण्डित गर्दछन् भने सज्जन पात्रहरूलाई न्याय दिन्छन्। यसै काव्यिक न्यायको छडीमार्फत कथामा ‘ट्विस्ट’ ल्याउँदै वसुधाको आत्मदाहको निर्णयलाई उल्ट्याइदिन्छन्।

आख्यानको आनन्दबीच पनि नारी स्वअस्तित्वको वैचारिकीका कारण इथा आह्लादकारी पठनभन्दा परको एक वजनदार कृति हो।