पुस्तक

नेपाली साहित्यमा स्वैरकल्पनाको सफल प्रयोग भएको राम्रो उपन्यास

२ श्रावण २०८३
अ+
अ-

अहिले उमा सुवेदीलिखित तेस्रो उपन्यास परिधि मेरो हातमा छ। यो किताब पढेपछि केही लेखूँ लेखूँ लागेको हो। नेपाली उपन्यासमा सामाजिक यथार्थवादी दृष्टिकोणभन्दा बाहिर बसेर कथावस्तु अगाडि बढेका उपन्यास थोरै छन्। अधिकांश नेपाली आख्यानमा हामी दैनिक जनजीवनका पीडा र समस्याकेन्द्रित विषयवस्तुलाई अगाडि ल्याइरहेका हुन्छौँ। गरिबी, शोषण, अन्याय-अत्याचार, महिला हिंसा र आर्थिक कठिनाइले मानिसको जीवनमा ल्याउने उदासीनता जस्ता कुरा हाम्रा आख्यानमा आउने गर्छन्।

केही मनोवैज्ञानिक समस्या बोकेका उपन्यास पनि चर्चामा छन्। तर, केही यस्ता फरक उपन्यास छन्, जो संख्यामा कम छन्। विजय मल्लको अनुराधा फरक खालको उपन्यास हो। त्यो एक किसिमको मानसिक समस्या भएकी महिलाको जीवनमा केन्द्रित थियो र त्यसको चर्चा भइरहन्छ।

तैपनि, नेपाली उपन्यासकारहरूले सामाजिक यथार्थता वा प्रगतिशीलता जस्ता खास दृष्टिकोणभन्दा बाहिर गएर ‘पराकाल्पनिक’ दुनियाँतिर प्रवेश गर्ने प्रयत्न त्यति गरेको पाइँदैन। म यहाँ केही त्यस्ता थोरै उपन्यासको कुरा गर्छु, जो अलि फरक प्रकारले लेखिएका छन्।

यो सांसारिकताभन्दा बाहिरको कल्पनामा जाने, पराकल्पनातिर लाग्ने र असम्भव जस्ता लाग्ने विषयमा कथावस्तु उभ्याउने उपन्यासहरूमा सरुभक्तको पागल बस्ती एउटा चर्चित उपन्यास हो। यसले विसं २०४८ का लागि मदन पुरस्कार पनि पाएको थियो।

त्यस्तै शरणार्थी उपन्यास छ, जसले एउटा पीडाजनक कथावस्तु बोकेको छ। त्यहाँभित्र गरिएका प्रयोगलाई ‘लीला प्रयोग’ भनिएको छ। त्यहाँ विधा-मिश्रण र विधा-भञ्जनदेखि लिएर विभिन्न कृतिका पात्र एकै ठाउँमा भेला हुने, ती पात्रले फरक व्यक्तित्वको स्वरूप ग्रहण गर्ने र लेखक तथा पात्रका बीचमा बहस हुने शैली प्रयोग गरिएको छ।

त्योभन्दा अझ अगाडि छापिएको ध्रुवचन्द्र गौतमको अलिखित उपन्यासले पनि मदन पुरस्कार पाएको थियो। अलिखितमा पात्रहरू उत्खननको क्रममा कुनै गाउँमा पुग्छन्। गाउँका समस्यामा केन्द्रित हुँदै जाँदा अन्त्यमा त्यो गाउँ नै हराउँछ। त्यो कहाँ र कसरी हराउँछ भन्ने एउटा रहस्यमै उपन्यास टुंगिन्छ। पाठकले यथार्थको धरातलमा उभिएर हेर्दा ती अयथार्थ कुराहरू कसरी भए भन्ने प्रश्न दिमागमा बोकिरहन्छन्।

खासमा ‘परिधि’ शीर्षकको एउटा नाटक यो किताबभित्र प्रदर्शन भइरहेको छ। नाटकका पात्रहरू कहिले नाटकभित्र त कहिले बाहिर हुन्छन्। ती स्टेजमा बोलेका हुन् कि पर्दा पछाडि वा दर्शक भएर बोलेका हुन् भन्नेमा पाठक अलमलिन्छ। हामी कथा पढ्दै जाँदा आफैँ कथाभित्र छौँ कि बाहिर भन्ने द्विविधा हुन्छ।

त्यस्तै, तेजराज खतिवडा (तेराख) को सर्वजा पनि एउटा प्रयोगवादी उपन्यास हो। त्यसमा सुरुदेखि अन्त्यसम्म कतै अनुच्छेद (प्याराग्राफ) छुट्याइएको छैन। महासागरमा पौडी खेलिरहेको पौडीबाजले किनार नभेटे जस्तै छ। यो पढ्दा पाठकलाई एक किसिमको आतेस हुन्छ, किनकि बिसाउने ठाउँ नै छैन। त्यहाँ ‘सर्वजा’ पात्रको नामबाट उपन्यास चल्छ र पशुपन्छी, बोटबिरुवा सबै बोल्छन्। मानवीय समाजको दृष्टिकोणले हेर्दा त्यो असम्भव कथावस्तु जस्तो लाग्छ।

त्यस्तै, सञ्जीव उप्रेतीको घनचक्कर खुबै चर्चित उपन्यास हो। त्यसको पात्र घरबाट निस्केर सहरका रहस्यमय ठाउँ र व्यक्तिहरूलाई भेट्छ। आफू पागल होइन भन्ने साबित गर्न उसले धेरै प्रयत्न गर्छ। शीर्षक जस्तै यो पढ्दा पाठकको दिमाग पनि घनचक्करमा फस्छ र पाठक आफैँ त्यहाँ हराउँछ। यो पढ्दा साँच्चै हो कि कल्पना भन्ने अलमल हुन्छ र कालान्तरमा पाठक आफैँलाई नायकको भूमिकामा अनुभूत गर्न थाल्छ।

सञ्जीव उप्रेतीकै आलु नौनी र कफी भन्ने सानो उपन्यास पनि यस्तै पराकाल्पनिक वा ‘सर्रियल’ खालको छ। अर्को जिएस पौडेलको उपन्यास कृतिएकसर्को माया पनि पढुन्जेल के हो के हो भन्ने भइरहन्छ। कथावस्तु यसरी दौडिन्छ कि तीनचार सय पेज पढिसक्दा अन्त्यमा केही पनि भएकै हुँदैन। शीर्षकले प्रेमकथा जस्तो लागे पनि त्यहाँ प्रेमभन्दा अरू नै केही छ।

त्यस्तै, लीलाराज खतिवडाको म को हुँ मा पनि नायक कता बतासिएको छ, उसले के सुन्छ र के देख्छ, केही थाहा हुँदैन। उसमा एउटा ठूलो ‘अहम्’ छ तर वास्तवमा त्यहाँ पनि केही हुँदैन।

रवीन्द्र समीरको उपन्यास मृत्युको आयुमा लासहरू बोलिरहेका हुन्छन्, कहिले गरुड पुराणका पात्र त कहिले स्वर्ग-नर्कको चर्चा हुन्छ। सीमा आभासको महायुग अर्को त्यस्तै पराकाल्पनिक छ, जहाँ नितान्त नयाँ संसारको रचना गर्छन् महिलाहरू।

परिधि उपन्यासमा पनि यस्तै चामत्कारिक पात्र र घटना छन्। पात्रहरू थोरै छन् तर तिनको भूमिका छिनछिनमा फेरिन्छ। अघिको भूमिका सही हो कि अहिलेको भन्ने अलमल हुन्छ। यहाँ नायकको भूमिका महिलाहरूले खेलेका छन् तर उनीहरू आफैँ कहाँ छौँ भन्ने ठम्याउन नसक्ने स्थितिमा छन्।

मैले यी सातआठ वटा उपन्यासको चर्चा किन गरेको भने, यो परिधि उपन्यासलाई पनि यिनै किताबहरूको लस्करमा लगेर उभ्याउनुपर्ने हुन्छ। यो उपन्यास मलाई गजब लागेको छ। देशी-विदेशी धेरै साहित्य पढियो, तर पढिसकेपछि पनि कैयौँ दिनसम्म दिमागमा छाप रहिरहनु नै किताबको सफलता हो।

परिधि पढेपछि पनि मेरो दिमागमा यसका पात्र र कथावस्तुले भ्रम सिर्जना गरिरहेका छन्। यसलाई कुनै सरल रेखीय ढंगबाट चर्चा गर्न सकिँदैन। यो आफैँभित्र यसरी जकडिएको छ कि के भइरहेको छ भन्ने ठम्याउन गाह्रो हुन्छ। तर, थाहा नपाइए पनि यो किताब पढ्न थालेपछि छोड्न सकिँदैन। यसको गन्जागोल विषयवस्तुले पाठकलाई तानिरहन्छ। भाषाशैली एकदमै सरल छ, जसका कारण पढिरहँदा अलमलिनु पर्दैन। विषयवस्तु भने ऊनीको धागो वा कपालको डल्लो गाँठो परे जस्तै छ।

यसभित्रका पात्र र घटना हो कि होइन जस्तो लाग्छ। एउटा पात्र आउँछ र लेखकले छोडेको नभई कथाभित्रै हराउँछ। पुराणको नारदजी ‘नारायण नारायण’ भन्दै आएर कता बिलाए जस्तै यहाँ पनि पात्रहरू आउँछन्, संवाद गर्छन् तर कोठाबाट निस्केको देखिँदैन। कोही कुर्सीमै बसेकै ठाउँमा हराउँछ। कतिपय पात्रहरू देखिन्छन् र हराउँछन्। कुनै दुर्घटना हुँदा रगत निस्कनुपर्नेमा इन्द्रेणीका रङहरू निस्कन्छन् र ती पुतली बनेर उड्छन्। मान्छे घाइते हुँदा रगत आउनुपर्नेमा यस्तो हुनु अस्वाभाविक छ।

यसलाई ‘जादुई यथार्थवाद’ भन्न सकिन्छ, जहाँ पात्रहरूका बीचमा सरल संवाद हुन्छ तर ती सांसारिकतासँग मेल खाँदैनन्। पात्रहरूले भने यी कुरालाई सहजै ग्रहण गर्छन्, उनीहरूलाई आश्चर्य लाग्दैन। हाम्रा पुराना तिलस्मी कथाहरूमा पनि यस्तै हुन्थ्यो। पुरुष पोखरीमा पौडी खेल्न पस्दा महिला भएर निस्कने र पछि फेरि पुरुष बन्ने जस्ता चमत्कारहरू पुराणमा पनि प्रशस्त हुन्थे।

शिरीषको फूलको सुयोगवीर यहाँ आर्याको कोठामा देखिन्छ र ऊ भन्छ, ‘म त यही कोठामा वर्षौंदेखि थिएँ।’ त्यहाँ सुयोगवीर र आर्याको संवाद हुन्छ। सुयोगवीरले सकम्बरीको कुरा गर्छ र आर्याले हेर्दाहेर्दै किताबबाट सकम्बरीको कपाल झर्छ, शिरीषको बोट उम्रिन्छ र भमराले फूललाई चुम्बन गर्छ। अन्त्यमा सुयोगवीर भमरामा परिणत भएर झ्यालबाट कतै हराउँछ।

यस उपन्यासमा पनि यस्तै चामत्कारिक पात्र र घटना छन्। पात्रहरू थोरै छन् तर तिनको भूमिका छिनछिनमा फेरिन्छ। अघिको भूमिका सही हो कि अहिलेको भन्ने अलमल हुन्छ। यहाँ नायकको भूमिका महिलाहरूले खेलेका छन् तर उनीहरू आफैँ कहाँ छौँ भन्ने ठम्याउन नसक्ने स्थितिमा छन्।

खासमा ‘परिधि’ शीर्षकको एउटा नाटक यो किताबभित्र प्रदर्शन भइरहेको छ। नाटकका पात्रहरू कहिले नाटकभित्र त कहिले बाहिर हुन्छन्। ती स्टेजमा बोलेका हुन् कि पर्दा पछाडि वा दर्शक भएर बोलेका हुन् भन्नेमा पाठक अलमलिन्छ। हामी कथा पढ्दै जाँदा आफैँ कथाभित्र छौँ कि बाहिर भन्ने द्विविधा हुन्छ। यो बडो अचम्मको लाग्यो।

लेखकले यस्तो गाँठो परेको विषय कसरी सोचिन् होला? यसले के साबित गर्छ भन्दा, अरू कृतिले दिने सिधा उत्तर यहाँ भेटिँदैन। उहिले कथा पढेर ‘के शिक्षा पायौ’ भन्दा हामी एउटा उत्तर दिन्थ्यौँ तर यो पढेर बाहिर निस्कँदा हामी रित्तै हुन्छौँ। सबै कुरा दिमागमा रिङ्गिरहेको हुन्छ। मानौँ नशालु पदार्थ सेवन गरेको मान्छेको दिमागमा जस्तो अव्यवस्थित छाया र रङहरू खेल्छन्, यो किताब पढेपछि पनि पाठक त्यस्तै लट्ठ भएको मनस्थितिमा पुग्छ।

मैले यो २५७ पेजको किताबलाई दुई दिन लगाएर पढेँ, किनकि एक प्याराग्राफ पढेपछि फेरि फर्केर के थियो भनेर हेर्न मन लाग्छ। यसको प्रस्तुति र प्रयोग बेजोड छ। सुरुको वाक्य छ, ‘यो जीवनलाई बोध गर्ने समय हो आर्या।’ आर्या यस उपन्यासको मूल नायक हो र उनी नै यो उपन्यासकी लेखक पनि हुन्। आर्याले लेखेको नाटकको नाम परिधि हो र उनी निर्देशक पनि हुन्। तर, फेरि अर्को एउटा लेखक छ, जसले आर्याको कथा लेख्दै छ। यहाँ कति जना लेखक छन्? एउटा लेखक उमा सुवेदी, उनले खडा गरेको पात्र आर्या, जसले फेरि अर्को नाटक लेख्दै छ। यो कसले लेखेको हो भन्ने अन्योलमा अर्कै आनन्द छ। यो लेखकको कमजोरी होइन, यो एक सचेत प्रयोग हो।

नेपाली आख्यान क्षेत्रमा स्वैरकल्पना, सस्पेन्स, थ्रिलर र मानवीय मनको जटिलतालाई समेटेर लेखिएको परिधि एउटा पृथक् र प्रयोगधर्मी कृति हो। यसले स्थापित धारभन्दा बाहिर निस्किएर ‘छाया संसार’ को परिकल्पनामार्फत मानव चेतना र स्त्री-अस्तित्वका विविध आयामलाई छाम्न खोजेको छ।

उपन्यासको सुरु र अन्त्य एउटै वाक्यबाट भएको छ। यसमा अस्मिता नामकी एक न्यायाधीश छिन्, जसले २९ भदौमा आत्महत्या गर्छु भनेकी छन्। आर्याले उनको बायोग्राफी लेख्नुपर्ने हुन्छ र उनलाई मर्न नदिन आर्या स्कुटी स्टार्ट गरेर हिँड्छिन्। यो सिंगो उपन्यास वास्तवमा एकै दिनको कथा हो। बाटोमा उनलाई ‘आज म मर्ने’ भन्ने फोन आएपछि उनी जहाँ थिइन्, त्यहीँ बसेर कथा अघि बढ्छ र अन्त्यमा उनी घर फर्किन्छिन्। रोचक कुरा, २९ भदौ त आर्याकै जन्मदिन रहेछ।

यसलाई बुझ्न जादुई यथार्थवाद, लीलालेखन वा ‘हेलुसिनेसन’ को कोणबाट हेर्न सकिन्छ। कतिपय मानसिक अवस्था जस्तै ‘सिजोफ्रेनिया’ मा मानिसले आफूलाई विशेष ठान्छ र उसले मात्र देख्ने वा सुन्ने कुराहरू हुन्छन्। अरू कसैले नदेख्ने तर उसले देख्ने, सुन्ने र गन्ध पाउने भ्रमहरू उत्पन्न हुन्छन्। लेखकले यस्ता प्रयोग गरेर उपन्यास तयार गरेको पाइयो। हाम्रा मस्तिष्कका अर्बौं न्युरोनहरू र विद्युतीय प्रवाहको सिलसिला भत्किँदा मानिसले नदेखेको कुरा देख्ने वा नसुनेको आवाज सुन्ने गर्छ।

यसमा अर्को प्रयोग पनि छ– अन्य कृतिका पात्रहरू यहाँ आएका छन्। शिरीषको फूलको सुयोगवीर यहाँ आर्याको कोठामा देखिन्छ र ऊ भन्छ, ‘म त यही कोठामा वर्षौंदेखि थिएँ।’ त्यहाँ सुयोगवीर र आर्याको संवाद हुन्छ। सुयोगवीरले सकम्बरीको कुरा गर्छ र आर्याले हेर्दाहेर्दै किताबबाट सकम्बरीको कपाल झर्छ, शिरीषको बोट उम्रिन्छ र भमराले फूललाई चुम्बन गर्छ। अन्त्यमा सुयोगवीर भमरामा परिणत भएर झ्यालबाट कतै हराउँछ। यी प्रयोगहरू यथार्थसँग नमिल्ने भए पनि सिम्बोलिक रूपमा यसले महिलालाई हुने हिंसा, बलात्कार, पुरुषका पीडा र अदालतका त्रुटिपूर्ण निर्णयलाई समेटेको छ।

यो उपन्यास पढिसक्दा पाठकलाई पनि संशय उत्पन्न हुन्छ– म जे गर्दै छु, त्यो मैले गरेको हो कि कुनै छाया व्यक्तित्वले मलाई कठपुतली बनाएर गराइरहेको छ?

विशेष गरी, न्यायाधीशको अस्मिताको पात्रमार्फत एउटा महत्त्वपूर्ण पाटो देखाइएको छ। बाबुले छोरीलाई ‘तँ छोरो होस्’ भनेर हुर्काउँदा उसको दिमागमा पुरुष व्यक्तित्व भरिएको छ। अदालतमा निर्णय लेख्ने बेला उसले निर्दोषलाई न्याय दिने गरी लेखेको हुन्छ तर पढ्ने बेला उसको पछाडि एउटा पुरुष छाया उभिन्छ र त्यसले उल्टो निर्णय पढेर सुनाउँछ। यसरी छाया संसार र लुकेको व्यक्तित्वले मानिसलाई कसरी सञ्चालित गर्छ भन्ने बिम्बात्मक अभिव्यक्ति यहाँ छ। यो उपन्यास पढिसक्दा पाठकलाई पनि संशय उत्पन्न हुन्छ– म जे गर्दै छु, त्यो मैले गरेको हो कि कुनै छाया व्यक्तित्वले मलाई कठपुतली बनाएर गराइरहेको छ?

जे होस्, नेपाली उपन्यासको यात्रामा पछिल्लो समय आएको यो एउटा फरक, विचित्र र रमाइलो उपन्यास हो। यसले पठन मनोरञ्जन मात्र दिँदैन, देशभित्र हुर्किंदै गरेका बेथिति, भ्रमपूर्ण न्याय, नारी स्वत्वको असुरक्षा, कानुनको अपराधीकरण, आदिलाई खुलेर आख्यानीकरण गरिएको छ।

सुवेदीका यसअघि पाँचवटा कृतिहरू प्रकाशित भएका थिए— गजल संग्रह, गीत संग्रह, दुई वटा उपन्यास र एउटा कथा संग्रह। परिधिभन्दा पहिले तोदाइति उपन्यास प्रकाशन भएका थिए।

तोदा  उपन्यास इजरायलको धर्तीमा विकसित कथामा आधारित थियो। ती यहुदी बूढाबूढीहरू, जो दोस्रो विश्वयुद्धताका हिटलरको दमनबाट जोगिएर इजरायल आइपुगेका थिए र त्यहाँ ९० वर्षभन्दा बढीको जीवन बिताइरहेका थिए, तिनीहरूले भोगेको युद्ध र अस्तित्वको संकट तोदा उपन्यासको विशेषता थियो।

इति उपन्यास भने झापाको बाहुनडाँगी क्षेत्रमा आसामदेखि चर्न आउने हात्तीहरूले मच्चाउने उत्पात र सीमा वारि-पारिका काला धन्दाहरूमा केन्द्रित थियो।  उपन्यासमा भएको भूगोल, परिवेश, भाषा, संस्कृति, आदिको समायोजनले पनि आञ्चलिकतालाई राम्रोसँग समातेको थियो।

उनको तेस्रो उपन्यास परिधि नेपाली आख्यान क्षेत्रमा स्वैरकल्पना, सस्पेन्स, थ्रिलर र मानवीय मनको जटिलतालाई समेटेर लेखिएको पृथक् र प्रयोगधर्मी कृति हो। यसले स्थापित धारभन्दा बाहिर निस्किएर ‘छाया संसार’ को परिकल्पनामार्फत मानव चेतना र स्त्री-अस्तित्वका विविध आयामलाई छाम्न खोजेको छ।

परिधि नेपाली आख्यानमा नयाँ स्वाद पस्कन सफल छ। यसको अति-काल्पनिक बुनोट, क्लिष्ट प्रस्तुति र चरम अवसादले गर्दा यो कृति पूर्ण रूपमा निर्दोष बन्न त सकेको छैन। यद्यपि, स्थापित विषयवस्तु, प्रस्तुतिको शैली, भाषिक भद्दापनभन्दा फरक लेख्ने उनको यो आँट आफैँमा सराहनीय छ। नेपाली साहित्यमा स्वैरकल्पनाको सफल प्रयोग भएको राम्रो उपन्यासलाई स्वागतम्।