बालसाहित्य
सहर, संस्कृति र नोस्टाल्जिया समेटेको ‘ग्राफिक रिडर’
स्नेहा प्रधान अमेरिकाको कार्नेगी मेलोन विश्वविद्यालयमा स्नातकोत्तर तहका अन्तिम दिन गन्दै थिइन्। त्यहीबेला उनी आँखाको सुक्खापनका कारण पढ्न र स्क्रिन हेर्न नसक्ने भइन्। भनिन्छ, कहिलेकाहीँ जीवनमा आइपर्ने आकस्मिक अवरोधले नयाँ अवसरको ढोका ढकढक्याउँछ। स्नेहाको हकमा पनि यस्तै भयो। आँखामा आएको समस्याले उनको पुस्तकसँगको सम्बन्ध टुटेन, बरु अडियो बुकमार्फत अझ गाढा भयो।
तर, त्यसबेला उनले धेरैभन्दा धेरै कथा सुनिन्। तिनै कथा सुन्दासुन्दै उनको मनमा एउटा यस्तो कथा जन्मियो जसले अहिले धेरै देशका पाठकलाई आकर्षित गरिरहेको छ।
त्यो कथा हो, येल्प! यती! : केओस इन काठमाडौँ। स्नेहाको लेखन र प्रोमिना श्रेष्ठको ‘इलस्ट्रेसन’ मा तयार भएको ‘ग्राफिक रिडर’ बेलायतको प्रतिष्ठित प्रकाशनगृह फ्लाइङ आइ बुक्सले प्रकाशन गरेको हो। हालै आइजंगल इलस्ट्रेसन मेरिट अवार्ड जित्न सफल यो पुस्तक सन् २०२५ को पिक्चर बुक विधाको ‘फाइनलिस्ट’ पनि हो।
‘ए लेभल’ पढ्दाताका सिर्जनशील लेखनमा रुचि राख्ने स्नेहा स्नातकमा अर्थशास्त्र र तथ्यांकशास्त्र पढ्न थालेपछि साहित्यबाट टाढिएकी थिइन्।

‘फाइनप्रिन्ट फिभर’ मा लेखक स्नेहा (रातो परिधानमा)। तस्बिर सौजन्य : स्नेहा प्रधान
अमेरिका-नेपाल आउजाउ गरिरहने स्नेहा यतिबेला काठमाडौँमा छिन्। टोखानिवासी उनी बालसाहित्य र किशोरवय उमेरका लागि लेखिएका कथा-कहानी निकै चाख मानेर पढ्थिन्। एनिड ब्लाइटनका मिस्ट्री सिरिज फेमस फाइभ, एनएम मार्टिनका बेबी सिटर्स क्लब, सुजन कोलिन्सको हंगर गेम्सका कथा र पात्रहरू सम्झेर उनी अझै रोमाञ्चित हुन्छिन्।
स्नेहाले जब पुस्तक लेख्न सुरु गरिन्, पहिले पढेका बाल तथा किशोरवयलक्षित पुस्तक पढ्दाका रमाइला र कल्पनाशील संसारमा फर्किइन्। येल्प यतीले उनलाई बालसाहित्यतिर मात्रै फर्काएन, बाल्यकालको स्मृतिरमणमा हराउने बहाना दियो।
“म बच्चा हुँदा बालसाहित्यका धेरै किताब पढ्थेँ। पढेर असाध्यै खुसी हुन्थेँ। लेखकका रूपमा म अरू बच्चालाई पनि त्यस्तै खुसी दिन चाहन्थेँ,” उनले भनिन्, “त्यसमा सफल भएँ भने त्यो मेरा लागि सबैभन्दा ठूलो उपलब्धि हुनेछ।”
स्नेहाका अनुसार उनले सोखका रूपमा मात्र कथा लेख्न सुरु गरेकी थिइन्। परिवारका सदस्यहरूले लेखेका कुरा मन पराएपछि बल्ल स्वयंलाई लेखकका रूपमा हेर्न थालिन्। पहिलो पुस्तक नै स्थापित अन्तर्राष्ट्रिय प्रकाशन गृहबाट छापिएर पुरस्कृतसमेत हुँदा उनी हर्षले गद्गद् छिन्।

तर, यस सफलताको यात्रा न सहज थियो, न त छोटो नै। सफलताको स्वाद चाख्न उनले चार वर्ष मिहिनेत गर्नुपर्यो। सुरुआतमा स्नेहा एउटा राइमिङ चित्रकथा प्रकाशन गर्ने सोचमा थिइन्। उनको कल्पनामा साना बालबालिकाका लागि उपयोगी हुने करिब ४० पृष्ठको पुस्तक थियो त्यो।
कथा लेखेपछि स्नेहा काठमाडौँकी इलस्ट्रेटर प्रोमिना श्रेष्ठसँग जोडिइन्। उनीहरूले दुई वर्ष लगाएर पुस्तक तयार गरेपछि प्रकाशन गृहको खोजी सुरु भयो। यसैबीच फ्लाइङ आइज्बाट सकारात्मक प्रतिक्रिया आयो। तर, कथा अझ विस्तार गरेर ‘ग्राफिक रिडर’ का रूपमा विकास गर्नुपर्ने सर्तले स्नेहालाई चिन्तित बनायो।
दुई वर्षको ऊर्जा खर्चेर तयार पारेको पुस्तकको नयाँ ढंगले पुनर्लेखन गर्नु गाह्रो र झन्झटिलो थियो। “सबै कुरा सुरुबाटै पुनर्लेखन गर्ने कुराले म डराएँ। आँखाबाट आँसु नै आयो,” उनी भन्छिन्, “तर प्रकाशन गृहका डाइरेक्टरले ग्राफिक रिडरले अझ धेरै सम्भावनाको ढोका खोल्ने आश्वासन दिँदै मनाए।”
स्नेहा जस्तै उता प्रोमिनाले पनि चित्रको काम सुरुदेखि नै दोहोर्याउनुपर्ने भयो। प्रोमिना भन्छिन्, “प्रकाशन गृहका आर्ट डाइरेक्टरहरूसँग महिनौँ छलफल गरेर पुस्तक तयार पार्ने प्रक्रियामा अर्को दुई वर्ष बित्यो। नयाँ तरिकाले फेरि काम गर्नु चुनौतीपूर्ण थियो।” यसरी हेर्दा चार वर्षको सहकार्यपछि बल्ल स्नेहा र प्रोमिनाको पुस्तकले अन्तिम रूप पायो।

समय धेरै लागे पनि सिर्जनात्मक प्रक्रियाका हिसाबले स्नेहा र प्रोमिना येल्प! यती! लेखन-चित्रण प्रक्रियालाई महत्त्वपूर्ण सिकाइ मान्छन्। स्नेहा अन्तर्राष्ट्रिय सम्पादक र ‘क्रिएटिभ टिम’ ले कथा र चित्रलाई कसरी सँगसँगै अघि बढाउँछन् भन्ने प्रक्रिया नयाँ र महत्त्वपूर्ण अनुभव बनेको बताउँछिन्।
बालसाहित्यका चित्रकथा, कमिक्सलगायत ४० भन्दा बढी पुस्तकमा काम गरिसकेकी प्रोमिनाले पनि पहिलो पटक अन्तर्राष्ट्रिय प्रकाशकसँग काम गरेकी हुन्। तर, यसपटक उनले लेखन र ग्राफिक हेर्ने छुट्टाछुट्टै टिम पाइन्। उनीहरूले निरन्तर समीक्षा गर्थे र सुझाव दिन्थे। यो आफ्ना लागि नयाँ अनुभव भएको उनी बताउँछिन्। “उत्कृष्ट किताब बन्न केवल राम्रो चित्रले पुग्दैन, दृश्य प्रवाह, कथाको लय, पृष्ठ संयोजन र पाठकको अनुभवसम्मका पक्ष उत्तिकै महत्त्वपूर्ण हुन्छन्,” उनी भन्छन्, “उनीहरू कलर कम्पोजिसन बच्चाले कसरी बुझ्छन्, दृश्यले कस्तो असर पार्छ सबै हेर्छन्। चित्रलाई प्रभावकारी बनाउन पटक पटक संशोधन गरिन्छ। तर, नेपालमा भिजुअल एडिटिङको अभ्यास निकै कमजोर छ।”
पुस्तक तयारीकै क्रममा प्रोमिनासँग भेटेकी स्नेहालाई त्यतिबेला इलस्ट्रेटरबाट कस्तो कामको अपेक्षा राख्ने थाहा थिएन। उनलाई यति मात्र थाहा थियो, आफ्नो कथामा काठमाडौँको परिवेश, गल्ली, खानेकुरादेखि सांस्कृतिक सन्दर्भका ‘नुआन्सेज’ लाई नेपाली कलाकारले मात्र समात्न सक्छन्।

स्नेहा आफैँ राम्रो भिजुअल थिंकर भएकाले कथा लेख्दै गर्दा उनको दिमागमा दृश्यहरू चलचित्र जस्तै चलायमान हुन्थे। ती दृश्यलाई प्रोमिनाले सिर्जनात्मक दृष्टि र मिहिन विवरणमार्फत अझ समृद्ध बनाएको स्नेहा बताउँछिन्। भन्छिन्, “कथाका पात्रहरू, काठमाडौँका गल्लीहरू, आँपका टोकरीहरू, यतीको अनुहार आदि चित्रमा देख्दा म साँच्चिकै भावुक भएकी थिएँ। उहाँले मैले देख्न चाहेको संसारलाई जीवन दिनुभयो।”
बालपुस्तक इलस्ट्रेटरविना अपूर्ण हुन्छ। नेपालमा लेखक र इलस्ट्रेटरबीच सधैँ बराबरीको सम्बन्ध हुँदैन। अन्तर्राष्ट्रिय प्रकाशन गृहसँग काम गर्नु चुनौतीपूर्ण भए पनि येल्प! यती! का क्रममा आफूले ‘अथर’ कै हैसियतमा काम गर्ने अवसर पाएको प्रोमिना बताउँछिन्।
पुस्तक लेखनकै क्रममा एकअर्कालाई चिनेका स्नेहा र प्रोमिनाबीच केही कुरा साझा छन्। उनीहरूको बाल्यकाल काठमाडौँको नेवाः संस्कृतिका अनेक रङले रंगिएको थियो। त्यसैले येल्प! यती! को कथाभित्र स्नेहा र प्रोमिनाको कथा पनि भेटिन्छ, जहाँ उनीहरूकै ‘नोस्टाल्जिया’ का थुप्रै कुरा अटाएका छन्। कतिपय सन्दर्भ उनीहरूको परिवारका पाका सदस्यले सुनाएका काठमाडौँका पुराना कथाहरूबाट समेत आएका छन्। त्यसैले पुस्तकमा कतिपय लोप भइसकेका कुरा पनि भेटिन्छन्।
जस्तै, पहिलो दृश्यमा बच्चाहरूले सडकमा पुरानो साइकलको टायर घुमाउँदै दौडिरहेको दृश्य छ। त्यो दृश्य प्रोमिनाले आफ्ना बुवाले सुनाएको कथाबाट ल्याएकी हुन्। त्यस दृश्यले स्नेहालाई पनि आफ्नो मामाघर सम्झाइदियो। त्यसपछि दुवै जनाले आफ्ना स्मृतिका पोका फुकाउन थाले।

त्यसपछि एकअर्कालाई पुराना कुरा सम्झीसम्झी भन्न थाले– यो पनि राखौँ, त्यो पनि राखौँ। यो कुरा उनीहरू दुवैलाई आफ्नो सिर्जनात्मक प्रक्रियाको साझा बिन्दुमा ल्याइपुर्याउने बलियो आधार बन्यो। यसलाई स्नेहा र प्रोमिना आफ्नो सहकार्यको सबैभन्दा रमाइलो पक्ष मान्छन्, जुन उनीहरूलाई आत्मीय रूपमा जोड्ने सेतुसमेत बन्यो।
यस्तै छलफलबीच कथामा बिरालो टुना पात्र थपियो। पुरानो नेवारी वास्तुकला, नेवारी घर र नेवारी शब्दहरू पनि थपिए। कथाभित्रको संसार अझ विश्वसनीय बन्यो।
स्नेहा र प्रोमिनाको साझा भनाइ छ, “हामीले कथा मात्रै भनेका छैनौँ, कथामार्फत पुराना सम्झना जोगाउन प्रयत्नसमेत गरेका छौँ।”
प्रोमिनाका अनुसार उनीहरूको प्रकाशन टोली मुख्यतः युरोपेली, चिनियाँ र भारतीय बालसाहित्यसँग परिचित थिए। नेपालबारे धेरैको बुझाइ सगरमाथा र बुद्धमा सीमित थियो। त्यसैले येल्प! यती! लाई उनीहरूले नेपाललाई अन्तर्राष्ट्रिय पाठकमाझ फरक दृष्टिबाट चिनाउने अवसरका रूपमा समेत उपयोग गरे।

इलस्ट्रेटर प्रोमिना श्रेष्ठ। तस्बिर सौजन्य : प्रोमिना श्रेष्ठ
नेपालको सांस्कृतिक सन्दर्भका क्रममा शब्द चयन गर्दा होस् वा चित्र बनाउँदा, उनीहरूले धेरै अनुसन्धान गर्नुपरेको थियो। आफ्नो काम पटक पटक संशोधन गर्नुपर्दा उनीहरूलाई यस्तो पनि लाग्थ्यो– हरे! यो फेरि सच्याउने! उफ्! त्यो पनि अझै हेरफेर गर्ने! आखिर कहिलेसम्म!
तर, त्यतिबेलाको परिश्रम र थकानले अहिले दोस्रो पुस्तकको काम गर्ने बेला सजिलो बनाइदिएको छ। येल्प! यति! कै शृंखलाका रूपमा स्नेहा र प्रोमिनाको दोस्रो पुस्तक छापामा गइसकेको छ, जुन नोभेम्बरमा प्रकाशन हुनेछ।
येल्प! यती! मा गर्मीको बिदामा काठमाडौँमा भेटिएका देव, टुना र हिउँ (यती) अब बर्खे बिदामा फेरि भेट्दै छन्। सगरमाथा क्षेत्रमा भेटिने उनीहरूको कथा तेस्रो पुस्तकसम्म विस्तारित हुँदा जलवायु परिवर्तनका प्रभावहरू जोडिँदै जाने स्नेहा र प्रोमिना बताउँछन्।
येल्प! यती! प्रकाशन हुनुअघिसम्मकी स्नेहा आफ्नो लेखन अरूले मन पराउलान् र भन्ने सन्देह राख्थिन्। अनुभवी प्रोमिनासमेत आफ्नो सिर्जनात्मक क्षमतामा ‘सेल्फ डाउट’ गर्थिन्।

तर, येल्प! यती! प्रकाशन भएपछि अन्तर्राष्ट्रिय पुस्तक बजारका थुप्रै प्रतिष्ठित पत्रिका तथा पुस्तक विक्रेताले ‘रिकमेन्ड’ गर्ने सूचीमा राखेका छन्। पुस्तक कहलिएका बालसाहित्यका प्रकाशन तथा विक्रेताहरूको रोजाइ र सिफारिस सूचीमा समेत परेको छ।
गत वर्ष फाइनप्रिन्टबाट येल्प! यती! को नेपाल संस्करण प्रकाशन भएको थियो। गत साता यसको नेपाली अनुवाद आम्मै यती : काठमाडौंमा खैलाबैला समेत सार्वजनिक भएको छ।
प्रोमिना भन्छिन्, “अन्तर्राष्ट्रिय स्तरमा किताबले पाएको चर्चा र पुरस्कारले आफ्नै कामप्रतिको विश्वास बढाएको छ। अझै सिर्जनशील काम गर्ने चुनौतीसमेत थपिएको छ।”
स्नेहा त झन् पुस्तक तयार गर्ने निर्णयमा पुग्दासम्म पहिलो पुस्तक आफ्नै खर्चमा प्रकाशन गर्ने सोचमा थिइन्। प्रोमिनाले चित्रहरू तयार गरिसकेपछि उनले एउटा डमी प्रिन्ट निकालेर समेत हेरेकी थिइन्। तर, त्यसको प्रिन्ट क्वालिटीले उनलाई सन्तुष्ट बनाएन। त्यहीबेला उनी पुस्तक निकालेर मात्र हुँदैन, त्यो गुणस्तरीय पनि हुनुपर्छ भन्नेमा स्पष्ट बनेकी हुन्।
स्नेहा भन्छिन्, “त्यो निर्णय सही रहेछ। पहिलो किताबमा गरेको मिहिनेतले मलाई बालबालिका र यङ-एडल्टका लागि थप कथाहरू लेख्ने आधार दिएको छ। मलाई अझै थुप्रै कथा भन्नु छ।”