“शीर्ष नेता सच्चिँदैनन्, दोस्रो र तेस्रो पुस्ताले विद्रोह गर्नुस्”
काठमाडौँ। पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले भ्रष्टाचारको छानबिन तथा शासकीय प्रणालीमा सुधार हुनुपर्ने माग गरेका छन्। ८ असोजमा नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को अध्यक्ष त्यागेका भट्टराईले बिहीबार पत्रकार सम्मेलन गर्दै भ्रष्टाचारको छानबिन नभएमा लुकाइएका अर्बौं रुपैयाँको बलमा पुराना नेताहरू नै पुनः चुनाव जितेर आउने बताए।
“छानबिन गरेर भ्रष्टाचारीलाई ठेगान लगाउनुपर्छ। उनीहरूले अर्बौं रुपैयाँ लुकाएका छन्। अस्ति अलिअलि जलेर त गयो। तर धेरै त उनीहरूले लुकाएर राखेका छन्। त्यसैको बलमा फेरि चुनाव जितेर आउँछन्। त्यसैले यो प्रणालीमा राजनीतिक स्थिरता हुँदैन,” भट्टराईले भने, “त्यसैले तुरुन्तै उच्चस्तरीय र विश्वसनीय छानबिन गर्नुपर्छ।”
पत्रकार सम्मेलनमा भट्टराईले पुरानो राजनीतिक दल र त्यसका नेताहरू नसुध्रिने बताउँदै तिनका दोस्रो तथा तेस्रो पुस्ताको नेताहरूलाई विद्रोहको आह्वान गर्नेदेखि वैकल्पिक शक्तिको रूपमा विभिन्न समूहमा रहेकाहरूलाई एकताबद्ध हुन पनि जोड दिए। “पुरानो दलका शीर्ष नेताहरू सच्चिनेवाला छैनन्। दोस्रो तथा तेस्रो पुस्ताका नेताहरूले विद्रोह गर्नुपर्ने होस्,” भट्टराईले भने।
उनले विद्रोह विदेशीले सञ्चालन गरेको भनेर पुराना दलहरूले बदनाम गराउन खोजेको पनि आरोप लगाए।
जेन-जी विद्रोहको प्रमुख माग भ्रष्टाचार नियन्त्रण भएको भन्दै त्यसमा लाग्नुपर्ने बताए। उनले विद्रोहले आंशिक जित मात्रै हासिल गरेको बताए। “सरकार ढल्यो तर सत्ता ढलेको छैन,” उनले भने।
भट्टराईले अहिलेकै शासकीय प्रणालीबाट देशमा राजनीतिक स्थायित्व प्राप्त नहुने भन्दै प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणालीमा जानुपर्ने पनि बताए। “व्यवस्थामा शासकीय प्रणालीमा त्रुटि छ। त्यसले कसैलाई पनि बहुमत ल्याउन दिँदैन। त्यसैले जानुपर्ने भनेको प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणाली नै हो,” भट्टराईले भने।
उनले आफू पदबाट हटे पनि अभियान नरोकिएको बताउँदै जेन-जीले अघि सारेका अभियानलाई निरन्तर सघाउने बताए। जेन-जी विद्रोहले नेपालको राजनीतिलाई दशकौँसम्म निर्देशित गर्ने भट्टराईको धारणा छ। “२३ र २४ गते जेन-जीले विद्रोह गरे। २००७ देखिएको प्रजातान्त्रिक प्रक्रिया एउटा महत्त्वपूर्ण घटना हो। नेपालको राजनीतिमा यसको प्रभाव दीर्घकालीन हुनेछ,” उनले भने।