काठमाडौँ
००:००:००
३१ असार २०८३, बुधबार

उड्डयन

२३ सेप्टेम्बरदेखि फ्लाइदुबईको दैनिक सेवा, दुबईबाट बुकिङ बढे पनि पोखराबाट यात्रु जुटाउनु मुख्य चुनौती

३१ असार २०८३
फ्लाइ दुबईको एयरक्राफ्ट। फाइल तस्बिर
अ+
अ-

पोखरा। सञ्चालनमा आएको साढे तीन वर्षपछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नियमित अन्तर्राष्ट्रिय उडानको अर्को महत्त्वपूर्ण परीक्षामा प्रवेश गर्दै छ। फ्लाइदुबईले आगामी २३ सेप्टेम्बरदेखि पोखरा-दुबई दैनिक उडान सुरु गर्ने घोषणा गरेको छ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल १ जनवरी २०२३ देखि सञ्चालनमा आएको हो। त्यसयता अधिकांश अन्तर्राष्ट्रिय उडान चार्टरमा सीमित थिए।

हिमालय एयरलाइन्सले मार्च २०२५ देखि पोखरा-ल्हासा साप्ताहिक नियमित उडान सञ्चालन गरेको थियो। तर, यात्रु संख्या कम भएको भन्दै उक्त सेवा २३ मार्च २०२६ देखि बन्द भयो। त्यसैले फ्लाइदुबई पोखराबाट नियमित अन्तर्राष्ट्रिय उडान गर्ने पहिलो एयरलाइन्स नभए पनि दैनिक सेवा सञ्चालन गर्ने पहिलो प्रमुख विदेशी एयरलाइन्स हुनेछ।

विगतको यही अनुभवका कारण अहिलेको मुख्य प्रश्न उडान सुरु हुन्छ कि हुँदैन भन्नेभन्दा पनि कति टिक्छ भन्नेमा सरोकारवालाले चासो राखेका छन्। पोखरा पर्यटन परिषद्का पूर्वअध्यक्ष पोमनारायण श्रेष्ठ फ्लाइदुबईको उडानलाई गण्डकी प्रदेशको पर्यटन विस्तार गर्ने अवसरका रूपमा हेर्छन्। उनका अनुसार दुबई र आसपासका बजारबाट उच्च खर्च गर्ने पर्यटक भित्र्याउन सकिने सम्भावना छ। “दुबईबाट उच्च खर्च गर्ने पर्यटक पोखरा ल्याउन सकिन्छ। हामीले त्यसमा ठूलो सम्भावना देखेका छौँ,” श्रेष्ठ भन्छन्।

उनका अनुसार दुबई-पोखराको प्रारम्भिक बुकिङले पर्यटन व्यवसायीलाई उत्साहित बनाएको छ। तर, पोखरा-दुबईतर्फ सोधपुछ भए पनि बुकिङ अपेक्षित रूपमा बढेको छैन।

“पोखराबाट जानेतर्फ सोधपुछ धेरै छ, तर बुकिङ कमै छ,” उनी भन्छन्, “उडान सुरु हुने समयसम्म बुकिङ बढ्ने र पर्याप्त यात्रु पाइनेमा हामी आशावादी छौँ।”

आउनेमा उत्साह, जानेमा सुस्तता

फ्लाइदुबईका नेपाल महाप्रबन्धक नवराज शाही पनि दुबईबाट पोखरा आउने उडानको बुकिङ राम्रो रहेको बताउँछन्। “आउने उडानको बुकिङ राम्रो छ। सेप्टेम्बर पर्यटकीय सिजन र चाडपर्वको समय पनि हो,” उनी भन्छन्, “नेपालबाट जाने यात्रुले प्रायः अन्तिम समयमा टिकट काट्ने भएकाले अहिले बुकिङ सुस्त देखिएको हो। तर, बिस्तारै बढिरहेको छ।”

उनका अनुसार उडान सुरु हुन दुई महिनाभन्दा बढी समय बाँकी छँदै देखिएको बुकिङ सकारात्मक संकेत हो।

तर, फ्लाइदुबईसँग संयुक्त उडान साझेदारी गर्ने एयरलाइन्स कम्पनी इमिरेट्सका नेपाल महाप्रबन्धक रमेश लामिछाने दुबईबाट आउने यात्रुको तुलनामा पोखराबाट जानेतर्फ बुकिङ कमजोर रहेकामा चिन्ता व्यक्त गर्छन्। “हामी तयार छौँ तर उडान भर्न पोखरा कति तयार छ भन्ने मुख्य प्रश्न हो,” उनी भन्छन्, “दुबईबाट आउनेतर्फ बुकिङ बिस्तारै बढिरहेको छ। पोखराबाट जानेतर्फ भने अहिले निकै कम छ।”

पर्यटन व्यवसायीहरू पनि दैनिक उडान टिकाउन प्रचार मात्र पर्याप्त नहुने बताउँछन्। यात्रुले सहज रूपमा टिकट किन्न सक्ने व्यवस्था, प्रतिस्पर्धी प्याकेज, गण्डकी र पश्चिम नेपालबाट विमानस्थलसम्मको पहुँच तथा दुबई हुँदै अन्य देश जाने यात्रुका लागि प्रभावकारी सूचना आवश्यक पर्ने उनीहरू बताउँछन्।

पर्यटकीय राजधानी पोखराले एउटा दैनिक अन्तर्राष्ट्रिय उडान टिकाउन सक्ने भए पनि सुरुका महिनामा एयरलाइन, पर्यटन व्यवसायी र सरकारी निकायले संयुक्त प्रयास गर्नुपर्ने उनी बताउँछन्।

“पोखरा सम्भावना भएको बजार हो। पर्यटकीय राजधानीले एउटा उडान पनि टिकाउन नसक्ने अवस्था त नहोला,” लामिछाने भन्छन्, “तर, सुरुआती महिनामा विशेष प्रयास आवश्यक पर्छ।”

प्रचार मात्रै अपर्याप्त

पर्यटन व्यवसायीहरूका अनुसार उडानको बजार पोखरा महानगरमा मात्र सीमित छैन। गण्डकीका ११ जिल्ला, पश्चिम नेपालका अन्य प्रदेश र भारतका सीमावर्ती क्षेत्रबाट समेत यात्रु पोखरा ल्याउन सकिनेछ।

त्यसका लागि स्थानीय तह, प्रदेश सरकार, पर्यटन व्यवसायी, होटल, ट्राभल एजेन्सी र एयरलाइनबीच समन्वय आवश्यक पर्ने श्रेष्ठ बताउँछन्। जसका लागि फ्लाइदुबई र इमिरेट्सका प्रतिनिधिले पोखराका पर्यटन व्यवसायी र अन्य सरोकारवालासँग छलफल थालेका छन्। एयरलाइन प्रतिनिधिहरूले नयाँ उडानबारे स्थानीय तह र प्रदेश सरकारले प्रचार गर्न तथा सम्भावित यात्रुलाई पोखरा विमानस्थल प्रयोग गर्न प्रोत्साहित गर्नुपर्ने बताउँदै आएका छन्।

लामो समयदेखि नियमित अन्तर्राष्ट्रिय सेवा नपाएको पोखरामा नयाँ उडान घोषणापछि पनि यसको निरन्तरताबारे आशंका छ।

प्रदेश सरकारले यसबारे पर्याप्त चासो राखेको गण्डकी प्रदेशकी उद्योग तथा पर्यटनमन्त्री यशोदा रिमालको दाबी छ। “पोखराबाट दैनिक अन्तर्राष्ट्रिय उडान सञ्चालनको प्रशस्त सम्भावना छ,” उनी भन्छिन्, “प्रदेश सरकारले प्रचारप्रसार, प्रोत्साहन र आवश्यक सहयोगका लागि काम गरिरहेको छ।”

तर, उडान सुरु हुनुलाई मात्र सफलता मान्न नसकिने उनको भनाइ छ। “उडान सुरु हुनु ठूलो कुरा हो, निरन्तरता दिनु मुख्य चुनौती हो,” मन्त्री रिमाल भन्छिन्, “सेवाबारे सर्वसाधारणसम्म जानकारी पुर्‍याउन र यात्रुलाई पोखराबाटै उड्न प्रोत्साहित गर्न आवश्यक छ।”

पर्यटन व्यवसायीहरू पनि दैनिक उडान टिकाउन प्रचार मात्र पर्याप्त नहुने बताउँछन्। यात्रुले सहज रूपमा टिकट किन्न सक्ने व्यवस्था, प्रतिस्पर्धी प्याकेज, गण्डकी र पश्चिम नेपालबाट विमानस्थलसम्मको पहुँच तथा दुबई हुँदै अन्य देश जाने यात्रुका लागि प्रभावकारी सूचना आवश्यक पर्ने उनीहरू बताउँछन्।

‘शंका नगरौँ’

लामो समयदेखि नियमित अन्तर्राष्ट्रिय सेवा नपाएको पोखरामा नयाँ उडान घोषणापछि पनि यसको निरन्तरताबारे आशंका छ। फ्लाइदुबईका शाही भने उडान सञ्चालन हुने विषयमा शंका गर्नुपर्ने अवस्था नरहेको बताउँछन्।

“उडान हुन्छ कि हुँदैन भन्ने द्विविधा नराखौँ,” उनी भन्छन्, “ठूलो एयरलाइनले अध्ययन र बजार विश्लेषण गरेर मात्र नयाँ गन्तव्यमा उडान घोषणा गर्छ।”

उनका अनुसार कुनै दिन आउने वा जाने यात्रु कम हुन सक्छन्। तर, उडानलाई दीर्घकालीन बनाउन एयरलाइन, ट्राभल व्यवसायी र तीनै तहका सरकारले मिलेर काम गर्नुपर्छ।

“यो गण्डकी प्रदेशको मात्र विषय होइन, देशको पर्यटन र अर्थतन्त्रसँग जोडिएको विषय हो,” शाही भन्छन्, “एयरलाइनसँगै ट्राभल व्यवसायी, स्थानीय सरकार र प्रदेश सरकारले पनि यसको प्रचार गर्नुपर्छ।”