बेइजिङ । चीनले कृत्रिम बौद्धिकता (एआई)मा आधारित ‘साथी बोट’ (कम्प्यानियन बोट) प्रति बढ्दो भावनात्मक निर्भरता र सम्भावित जोखिमलाई सम्बोधन गर्न नयाँ नियमन व्यवस्था सार्वजनिक गरेको छ।
तीव्र गतिमा विस्तार भइरहेको एआई साथी सेवाको प्रयोगलाई व्यवस्थित गर्न चीनले बुधबार नयाँ नियम जारी गरेको हो । यस्ता एआई सेवाले ग्राहक सेवा, मानसिक स्वास्थ्य सहयोग, बालबालिका तथा वृद्धवृद्धाको हेरचाहलगायत क्षेत्रमा मानवीय व्यक्तित्व र संवादको अनुकरण गर्दै लोकप्रियता हासिल गरेका छन्।
नयाँ नियमअनुसार एआई साथी सेवा प्रदायक कम्पनीले प्रयोगकर्ताको भावनात्मक अवस्था पहिचान गर्ने, सङ्कटपूर्ण अवस्थामा आवश्यक हस्तक्षेप गर्ने, अत्यधिक प्रयोग नियन्त्रण गर्ने तथा प्रयोगकर्तालाई व्यक्तिगत तथ्याङ्कमाथि पूर्ण नियन्त्रण सुनिश्चित गर्नुपर्नेछ। साथै, प्रयोगकर्ताको व्यक्तिगत जानकारी दुरुपयोग हुन नदिन आवश्यक सुरक्षा व्यवस्था गर्नुपर्ने प्रावधान राखिएको छ।
नियमले एआई साथी सेवालाई पाठ, तस्बिर, अडियो वा भिडियो माध्यमबाट निरन्तर भावनात्मक अन्तरक्रिया प्रदान गर्ने प्रविधिका रूपमा परिभाषित गरेको छ। तर ग्राहक सेवा, शिक्षा तथा वैज्ञानिक अनुसन्धानजस्ता उद्देश्यमा प्रयोग हुने एआई अनुप्रयोगलाई यसको दायराभन्दा बाहिर राखिएको छ।
विभिन्न क्षेत्रमा एआई प्रविधिको प्रयोग बढेसँगै चीनको एआई बजार पनि तीव्र रूपमा विस्तार भइरहेको छ। पछिल्लो अनुसन्धानअनुसार सन् २०२५ मा चीनको एआई बजार एक दशमलव दुई ट्रिलियन युआन (करिब १७७ अर्ब अमेरिकी डलर)भन्दा बढी पुग्ने र सन् २०२८ सम्ममा एक दशमलव आठ ट्रिलियन युआन नाघ्ने अनुमान गरिएको छ।