थपियो पीडा
कार्यक्रमकै बीच वर्षा हुँदा थपियो पीडा‚ बस्ने स्थान नहुँदा भिज्न बाध्य पीडित
काठमाडौँ। काठमाडौँमा आइतबारको वर्षाले आन्दोलनकारी थप समस्यामा परेका छन्। बस्ने स्थानअभावले उनीहरू भिजेरै बस्न बाध्य भए।
केही प्रदर्शनकारी गाडीको ओत, रूखको छहारी तथा उपलब्ध सानो आश्रयमा बसेर रात बिताउने तयारीमा छन्।
लघुवित्त तथा वित्तीय शोषणविरुद्ध किसान मजदुर आन्दोलन नेपालको आयोजनामा भएको मार्चमा करिब नौ सयजना सहभागी भएको आयोजकले दाबी गरेको छ।
आयोजकका अनुसार गृह प्रशासनसँग समन्वय हुन नसकेको र जिल्ला प्रशासन कार्यालय काठमाडौँले बसोबासको जिम्मेवारी लिन नसक्ने बताएपछि आन्दोलनकारीहरूले रत्नपार्कमै बस्ने निर्णय गरेका छन्।
प्रदर्शनकारीहरूले लघुवित्त, बैंक तथा वित्तीय संस्थाबाट ऋणीमाथि भइरहेको वित्तीय शोषण‚ चर्को तथा चक्रवर्ती ब्याज, विभिन्न शीर्षकमा असुल गरिने हर्जना र विविध शुल्क खारेज गर्न माग गरेका छन्। साथै जग्गा धितो लिलामी, कालोसूचीमा राख्ने कार्य तथा अन्यायपूर्ण ऋण असुलीको न्यायिक निरुपण गर्न सरकारसँग माग गर्दै आन्दोलन जारी राख्ने चेतावनी दिएका छन्।
सिंहदरबारसम्म पुग्ने उद्देश्यका साथ बल्खुबाट सुरु गरिएको लघुवित्त पीडितहरूको ‘राजधानी मार्च’ आइतबार शान्ति वाटिकामा आएर रोकिएको छ। सुरक्षा निकायले अगाडि बढ्न नदिएपछि प्रदर्शनकारीहरू शान्ति वाटिकामै रोकिएका हुन्। उनीहरूले आफ्ना माग सम्बोधन नभएसम्म आन्दोलन नरोकिने बताएका छन्।

