काठमाडौँ
००:००:००
११ श्रावण २०८३, सोमबार

समाज

घाइतेका बुवा भन्छन्– प्रहरीले संयम अपनाएन।

११ श्रावण २०८३
गोलीकाण्डका घाइतेको अवस्था बुझ्न विराटनगरस्थित न्युरो अस्पताल पुगेको मानवअधिकारकर्मीको टोली। सबै तस्बिर : अनिल श्रेष्ठ
अ+
अ-

विराटनगर। १० साउन (आइतबार) साँझ करिब ७ बजे देवानगन्ज-३ का २२ वर्षीय अमलेश मेहताले परिवारसँगै खाना खाएका थिए। खाना खाएर सुत्ने तयारी गरिरहेका बेला बस्तीमा एकाएक होहल्ला मच्चियो।

गाउँको शिव मन्दिर आसपास केही भइरहेको अनुमान गर्दै उनी घरबाहिर निस्किए। तर, घरबाट निस्किएको पाँच मिनेट नबित्दै उनलाई गोली लाग्यो।

विराटनगरस्थित न्युरो अस्पतालको जनरल सर्जरी वार्डको बेड नम्बर २ मा उपचाररत अमलेशको ढाड र गर्दनमा गोलीको चोट छ। “खाना खाएर सुत्न लागेको थिएँ। त्यहीबेला बत्ती गयो। बाहिर मानिसहरू कराएको आवाज सुनेपछि के भएको रहेछ भनेर हेर्न मन्दिरतिर गएँ,” अमलेश अस्पतालको बेडबाट रातको घटना सम्झन्छन्, “मन्दिर पुग्दा प्रहरीले गोली चलाइरहेको रहेछ। म तर्सिएर भाग्न खोज्दै थिएँ। घरबाट निस्किएको पाँच मिनेट पनि भएको थिएन, अचानक गोली लाग्यो र म त्यहीँ ढलेँ।”

गोली लागेर घाइते भई विराटनगरस्थित न्युरो अस्पतालमा उपचाररत देवानगन्ज-३ का २२ वर्षीय अमलेश मेहता।

कक्षा १२ उत्तीर्ण गरेका अमलेश जनकलाल र शान्तिदेवीका कान्छा छोरा हुन्। साउने सोमबारका लागि जल लिन जाने तयारीमा रहेको बस्तीमा यस्तो हिंसात्मक घटना होला भन्ने उनले कल्पनासमेत गरेका थिएनन्।

सोही वार्डको बेड नम्बर ६ मा देवानगन्ज-३ कै हरेराम यादव उपचाररत छन्। उनको देब्रे तिघ्रामा गोलीको चोट छ। साउने सोमबार सप्तकोशीबाट जल ल्याएर चढाउने उनको धार्मिक संकल्प अस्पतालको बेडमै रोकिएको छ। “राति १० बजेतिर हामी जल लिन जाने तयारीमा थियौँ। त्यहीबेला मन्दिरमा झन्डा राख्ने विषयमा विवाद भएको थाहा पाएँ,” हरेराम भन्छन्, “म त्यहाँ पुग्दा टायर बलिरहेको थियो। प्रहरीले पहिले दुई पटक हवाई फायर गर्‍यो, त्यसपछि सिधै गोली चलायो।”

गोली लागेर घाइते भई न्युरो अस्पतालमा उपचाररत देवानगन्ज-३ का हरेराम यादव।

कप्तानगन्ज बजारको मन्दिरमा साउने सोमबारका लागि झन्डा राख्ने विषयमा दुई समूहबीच सुरु भएको विवादले आइतबार राति उग्र रूप लिएको थियो। स्थिति नियन्त्रणमा लिन पुगेका सुरक्षाकर्मीले चलाएको गोली देवानगन्जकै कक्षा १० मा अध्ययनरत मिथलेश मेहतालाई पनि लागेको छ।

छोराको उपचारका लागि अस्पतालमा कुरुवा बसेका मिथलेशका बुवा दिलीप मेहता प्रहरीको कार्यशैलीप्रति आक्रोशित छन्।

गोली लागेर घाइते भएका छोराको अवस्थाबारे जानकारी दिँदै दिलीप मेहता।

“झन्डा राख्ने सामान्य विषयमा विवाद भएको थियो। प्रहरीले सुरुमै गोली चलाउनुपर्ने अवस्था थिएन,” दिलीप भन्छन्, “न लाठीचार्ज गरियो, न पर्याप्त संयम अपनाइयो। सिधै गोली चलाउँदा मेरो छोरालाई लाग्यो। यो प्रहरीको ठूलो कमजोरी हो।”

एक जनाको मृत्यु, २२ जना घाइते

आइतबार रातिको झडपले कप्तानगन्ज बजार तनावग्रस्त बन्यो। सुरक्षाकर्मीले चलाएको गोली लागेर २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भयो। गम्भीर घाइते उनलाई राति ११:२५ बजे अस्पताल पुर्‍याइएलगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए।

प्रहरीको तथ्यांकअनुसार झडपमा नौ सर्वसाधारण र १३ सुरक्षाकर्मीसहित २२ जना घाइते भएका छन्। घाइते नौ सर्वसाधारणको शरीरका विभिन्न भागमा गोलीको चोट छ।

आक्रोशित भिडले गरेको प्रदर्शन।

विराटनगरको न्युरो अस्पतालमा उपचाररत जयप्रकाश मेहताको पेटमा लागेको गोली शल्यक्रिया गरी निकालिएको छ। सोही अस्पतालमा उपचाररत मिथलेश मेहताको पेटको बायाँ भागमा, हरेराम यादवको देब्रे तिघ्रामा तथा अमलेश मेहताको ढाड र गर्दनमा गोलीको चोट छ।

न्युरो अस्पतालका सर्जन डा. सुदीप खनिया एक घाइतेको शल्यक्रिया गरी शरीरबाट गोली निकालिएको बताउँछन्। “यहाँ उपचाररत अन्य घाइतेको चोट हेर्दा पनि गोलीकै जस्तो देखिन्छ,” डा. खनिया भन्छन्, “विस्तृत परीक्षण प्रतिवेदन आएपछि थप स्पष्ट हुन्छ।”

विराटनगरस्थित न्युरो अस्पताल।

विराट नर्सिङ होममा उपचाररत रवीन्द्र मेहताको देब्रे तिघ्रामा गोली लागेकाले उनलाई सघन उपचार कक्षमा राखिएको छ। सोही अस्पतालमा उपचाररत अमितकुमार यादवको कम्मरमुनि, सुनिलकुमार मेहताको बायाँ पाखुरामा र सुनिल मेहताको देब्रे पिँडुलामा गोलीको चोट छ।

अर्का घाइते अमित यादवको पेट र देब्रे हातमा गोली लागेकाले नोबेल अस्पतालको सघन उपचार कक्षमा उपचार भइरहेको छ।

डीजे बजाएको विषयबाट विवाद

साउने सोमबारका लागि बोलबम यात्रामा निस्कन लागेको एउटा समूहले डीजे बजाएको विषयमा आइतबार राति करिब ९ बजे दुई पक्षबीच विवाद सुरु भएको थियो।

सामान्य भनाभनबाट सुरु भएको विवाद छोटो समयमै उग्र बन्यो। दुवै पक्षबाट लाठी, ढुंगा र भाला प्रहार भएको प्रहरीले जनाएको छ। भिडले स्थानीयका घर, मेडिकल पसल र सवारीसाधनमा तोडफोड गर्नुका साथै आगजनीको प्रयास गरेपछि कप्तानगन्ज बजार क्षेत्र तनावग्रस्त बनेको थियो।

सुनसरीको देवानगन्ज-३ स्थित कप्तानगन्जमा कर्फ्यु उल्लंघन भएपछि परिचालित नेपाली सेना।

स्थिति नियन्त्रणमा लिन प्रहरीले सुरुमा अश्रुग्यास प्रहार गर्नुका साथै हवाई फायर गरेको थियो। भिड सुरक्षाकर्मीविरुद्ध नै जाइलागेपछि सशस्त्र प्रहरीले गोली चलाएको प्रहरीको भनाइ छ।

सुनसरी प्रहरीका प्रवक्ता डीएसपी चन्द्र खड्का नेपाल प्रहरीले तीन राउन्ड र सशस्त्र प्रहरीले २२ राउन्ड हवाई फायर गरेको बताउँछन्।

झडपमा इलाका प्रहरी कार्यालय देवानगन्जका इन्स्पेक्टर राकेश राईको टाउकामा गम्भीर चोट लागेको छ।

सामाजिक सद्‌भाव जोगाउन सर्वपक्षीय आग्रह

घटनापछि उत्पन्न परिस्थितिबारे सोमबार इनरुवामा बसेको सर्वपक्षीय बैठकले सबै पक्षलाई संयम अपनाउँदै शान्ति-सुरक्षा र सामाजिक सद्‌भाव कायम राख्न आग्रह गरेको छ।

जिल्ला प्रशासन कार्यालय सुनसरीको पहलमा प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेको अध्यक्षतामा बसेको बैठकमा परिस्थिति थप जटिल बन्न नदिन सबै पक्ष जिम्मेवार र संयमित रूपमा प्रस्तुत हुने सहमति भएको हो।

घटनाको निष्पक्ष छानबिनका लागि गृह मन्त्रालयले गठन गरेको पाँचसदस्यीय समितिलाई आवश्यक सहयोग गर्ने निर्णयसमेत भएको बैठकमा सहभागी नेपाली कांग्रेस सुनसरीका सचिव वीरेन्द्र मेहता बताउँछन्। “घटनाको वास्तविकता सार्वजनिक गर्न अनुसन्धान प्रक्रियामा सबै पक्षले सहयोग गर्ने र स्थानीय तहमा शान्ति तथा सामाजिक सद्‌भाव कायम राख्न साझा प्रयास गर्ने सहमति भएको छ,” मेहता भन्छन्।

जिल्लाको अवस्था सामान्य बनाउन आयोजित बैठकमा सुरक्षा निकायका प्रमुख, जनप्रतिनिधि, राजनीतिक दल तथा विभिन्न सरोकारवाला निकायका प्रतिनिधि सहभागी थिए। गृह मन्त्रालयले देवानगन्ज घटनाको सत्यतथ्य छानबिन गर्न सोमबार पाँचसदस्यीय समिति गठन गरेको छ।