काठमाडौँ
००:००:००
११ श्रावण २०८३, सोमबार

११ श्रावण २०८३
अ+
अ-

काठमाडौँ। राष्ट्रिय मानवअधिकार आयोगले सुनसरीको देवानगन्ज गाउँपालिका ३‚ कप्तानगन्जमा भएको घटनाको शान्तिपूर्ण रूपमा वार्ताका माध्यमबाट विवाद समाधान गर्न आग्रह गरेको छ। आयोगले सामाजिक सद्भाव कायम राख्न पनि सबैमा अपिल गरेको छ।

कप्तानगन्जमा दुई समुदायबीच भएको विवादको विषयलाई लिएर आयोगले वार्ता र संवादकै माध्यमबाट विवाद समाधान गर्न राजनीतिक दल, नागरिक समाज, मानव अधिकारकर्मी एवं सर्वसाधारणलाई अनुरोध गरेको हो।

सुनसरीको देवानगन्जमा दुई समुदायबीच भएको झडप र झडपपछि प्रहरीको गोली लागि ओमप्रकाश मेहताको मृत्यु भएको घटनाका सम्बन्धमा आयोगको कोसी प्रदेश कार्यालय विराटनगरले प्रारम्भिक अनुगमन गरिरहेको पनि जनाएको छ।

साथै आयोगले प्रमुख जिल्ला अधिकारी, सुनसरीका प्रहरी प्रमुख, अस्पताल प्रशासन तथा स्थानीयहरूसँग घटनाबारे जानकारी लिइरहेको जनाएको छ। आयोगले घटनाको मानवअधिकारको दृष्टिबाट सूक्ष्म अनुसन्धान सुरु गरिसकेको पनि जनाएको छ।

आयोगले प्रवक्ता टीकाराम पोखरेलले आज (सोमबार) जारी गरेको विज्ञप्तिमा भनिएको छ, “सुनसरी घटनापश्चात देखापरेको शान्ति सुरक्षाको स्थितिलाई मजबुत बनाउन, घटनाको अनुसन्धान गरी दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याउन, मृतकका परिवारलाई राहत र क्षतिपूर्ति उपलब्ध गराउन तथा घाइतेहरूको निःशुल्क र प्रभावकारी उपचार गर्न आयोग सरकारलाई निर्देशन गर्दछ।”

यो पनि…

कप्तानगन्ज घटनाको निष्पक्ष छानबिन गर्न कांग्रेसको आग्रह