काठमाडौँ। नेकपा माओवादी केन्द्रको विशेष महाधिवेशन मंसिर अन्तिम साता हुने भएको छ। शुक्रबार सम्पन्न दुईदिने केन्द्रीय समिति बैठकले पुष्पकमल दाहाल संयोजक रहेको महाधिवेशन आयोजक समिति गठन गरेको छ।
“केन्द्रीय समितिमा रहेका सबै आयोजक समिति हुनुहुनेछ। दैनिक कार्य सञ्चालन गर्नका लागि हालको पदाधिकारीहरूको सचिवालय गठन गरिने छ”, पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले भने।
जेन-जी विद्रोहपछि उत्पन्न परिस्थितिमा पार्टी र नेतृत्व पुनर्गठन गर्न आवश्य भएको भन्दै विशेष महाधिवेशन गर्ने निर्णय गरेको हो। प्रज्ञा भवन कमलादीमा भएको बैठकमा प्रस्तुत राजनीतिक प्रतिवेदनमाथि छलफल गर्न १० वटा समूह गठन गरिएको थियो। बैठकले निर्धारित समयमा निर्वाचन गराउनुपर्ने, राष्ट्रिय स्वाधिनता र लोकतन्त्र जोखिममा परेको भन्दै समाजवादी मोर्चामा रहेका दलहरूसँग पार्टी एकता गर्नेसमेत निर्णय गरेको छ। “विचार मिल्नेहरूसँग एकता गर्ने र ध्रुवीकरणका लागि आह्वान गर्ने निर्णय भएको छ”, प्रवक्ता सापकोटाले बताए।
त्यसैगरी नेताहरूको सम्पत्ति छानबिन गर्ने निर्णयसमेत गरेको प्रवक्ता सापकोटाले बताए। सार्वजनिक सम्पत्ति पुनर्निर्माणका लागि माओवादीले स्वयंसेवक पनि परिचालन गर्ने निर्णय गरेको छ।