काठमाडौँ
००:००:००
१२ श्रावण २०८३, मंगलवार

१२ श्रावण २०८३
अ+
अ-

काठमाडौँ। सोलुखुम्बुकी जेचुन शेर्पा अमेरिकाको जुनियर राष्ट्रिय कराते टोली (टिम यूएसए) मा छनोट भएकी छन्।

अमेरिकाको वासिंटन राज्यस्थित स्पोकेनमा १६ देखि १९ जुलाईसम्म सम्पन्न २०२६ यूएसए कराते राष्ट्रिय च्याम्पियनसिपअन्तर्गत ४७ किलोको टोली कुमिते विधामा स्वर्ण पदक जित्दै उनी टिम यूएसएमा छनोट भएकी हुन्।

अब शेर्पाले आगामी २४ देखि ३० अगस्तसम्म कोस्टारिकामा हुने २०२६ प्यान अमेरिकन कराते च्याम्पियनसिपमा अमेरिकाको प्रतिनिधित्व गर्नेछिन्। न्युयोर्कमा रहेको कराते प्रशिक्षण केन्द्र डोजोमा प्रशिक्षणरत उनले पछिल्ला केही वर्षदेखि राष्ट्रिय तथा राज्यस्तरीय प्रतियोगितामा निरन्तर उत्कृष्ट प्रदर्शन गर्दै आएकी छन्।

शेर्पाले सन् २०२५ को यूएसए कराते राष्ट्रिय च्याम्पियनसिपमा कास्य पदक, २०२४ को नेसनल गेम्समा दुई रजत पदक, २०२४ को लुइजियानामा सम्पन्न प्रतियोगितामा एक रजत र कास्य पदक तथा २०२३ को यूएसए कराते राष्ट्रिय च्याम्पियनसिपमा दुई रजत पदक जितेकी थिइन्।

उनले एएयू कराते च्याम्पियनसिप र गार्डेन स्टेट कराते च्याम्पियनसिपमा र न्युयोर्क स्टेट च्याम्पियनसिपमा एक स्वर्ण र एक रजत जितेको नेपाल अमेरिका पत्रकार समाजका अध्यक्ष सुरज भण्डारीले बताए।

जेचुन सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका ३‚ लोदिङका ल्हाक्पा शेर्पा र छेतेन शेर्पाकी छोरी हुन्। लामो समयदेखि शेर्पा परिवार अमेरिकामा बस्दै आएको छ। खेलसँगै उनी अध्ययन र पौडी प्रतियोगितामा समेत सक्रिय रहेको बुबा ल्हाक्पा शेर्पाले बताए।

उनले भने, “अन्तर्राष्ट्रिय उपाधि हामो परिवार, प्रशिक्षक र छोरीको वर्षौंको मिहिनेत, अनुशासन र समर्पणको प्रतिफल हो। यसलाई हामी मात्रै हैन मेरो देश नेपालको शिरसमेत उच्च बनाएको महसुस भएको छ।” शेर्पा परिवारले प्रशिक्षक तथा कराते प्रशिक्षण केन्द्र डोजोप्रति कृतज्ञता व्यक्त गर्दै अन्तर्राष्ट्रिय प्रतियोगितामा पनि उत्कृष्ट प्रदर्शन गर्ने विश्वास व्यक्त गरेका छन्।