घोराही। घोराही उपमहानगरपालिका–१४ झिङ्गौराका लोकेन्द्र रोकामगरको बारीमा आजभोलि सयपत्रीका फूल ढकमक्क फुलेका छन् । उनले बाह्रै महिना यसैगरी फूलको व्यावसायिक खेती गर्दै आएका छन्। बेसिजन अर्थात् बेमौसमी याममा पनि उनी फूल, माला बिक्री गर्दै आएको बताए।
चाडपर्वमा मात्र नभई मगरको बारीमा अघिपछि पनि फूल फुलिरहेको हुन्छ । व्यावसायिक रूपमा फूलखेती गरेका उनी यही व्यवसायमा सन्तुष्ट छन्। आम्दानीको पाटो पनि राम्रो भएको छ फूलखेतीबाट । फूलखेती गर्नुभन्दा अघि उनले वैदेशिक रोजगारमा थिए।
“विगत लामो समयदेखि विदेशमा रोजगार गरेर फेर्केपछि फूलखेती थालेको हुँ”, उनले भने, “बाहिरी देशमा कमाएको भन्दा फूलखेतीबाटै आम्दानी हुने गरेको छ।”
रोजगारीका सिलसिलामा सात वर्ष कतारमा बिताउनुभएका रोकामगरले जिल्लामा दसैँ, तिहारलगायत पर्व एवं अन्य शुभकार्यका लागि फूलको माग देखेपछि फूलखेती गर्न थालेका हुन्। अहिले उनले फूललाई प्रतिकेजी चार सय रुपैयाँका दरले र माला एक थानलाई रु एक सयमा बिक्री गर्दै आएका छन्।
उमेरले ४० वर्ष पुगेका मगरले विगत १३ वर्षदेखि फूलखेती गर्दै आएका छन्। यस वर्ष पनि तीन बिघा जग्गा भाडामा लिएर फूलखेती गरेको बताएका छन्। जलजला पुष्प फार्मबाट व्यावसायिक रूपमा फूलखेती गर्दै आएका मगरले स्थानीय केही नागरिकलाई रोजगारीसमेत दिएका छन्।
अहिले दाङसहित चितवन, बुटवलमा पनि फूल, माला पठाउँदै आएको उनी बताउँछन्। उनले वार्षिक रूपमा ३५ लाखभन्दा बढीको फूल, माला बिक्रीको कारोबार गर्ने गरेका छन्। यसबाट १०–१५ लाख वार्षिक रूपमा बचत हुने उनको भनाइ छ । असोज महिनामा विभिन्न सभा, सम्मेलन, कार्यक्रम र विवाह, पूजालगयत कार्यमा फूलमाला बिक्री भइरहेको उनी बताउँछन्।